नेपालको नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक पारितभएसँगै भारतीय मिडियाले लेखे यस्तो

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : ५१


काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित भएसँगै भारतीय मिडियाले यस विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

भारतीय मिडियाले नेपालले भारतका ३ क्षेत्रलाई आफ्नो देखाएको भन्दै समाचार प्रकाशन गरेका छन्। भारतीय मिडिया आजतकले लेखेको छ, नेपालको संसद्ले विवादित नक्सालाई दियो मन्जुरी, भारतको ३ क्षेत्रलाई आफ्नो देखायो।

२७५ सदस्य रहेको नेपाली संसद्मा विवादित नक्साको पक्षमा २५८ भोट परेको पनि समाचारमा उल्लेख गरिएको छ। त्यस्तै भारतीय अर्को मिडिया नवभारत टाइम्सले पनि विवादित नक्सालाई नेपाली संसद्ले पारित गरेको उल्लेख गरेको छ।

भारतीय मिडिया अमर उजालाले भने नेपालले विवादित नक्सालाई मन्जुरी दिएको उल्लेख गर्दै त्यसमा भारतले कडा जवाफ दिएको पनि उल्लेख गरेको छ। नयाँ नक्सा पारित भएपछि भारतीय विदेश मन्त्रालयले यस्तो प्रकारको कृतिम विस्तार ऐतिहासिक तथ्यमा आधारित नभएको उल्लेख गरेको समाचारमा जनाइएको छ।

प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो।

प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको थियो।

संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ। सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए।

यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्था अनुसार सोही नियम १३७ को १० बमोजिम मत विभाजन गराईएको थियो।

प्रतिनिधिसभाको नियमावलियको नियम १ सय ३७ को उपनियम ९ मा “संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको वहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ।”

त्यसैगरी उपनियमा १० “संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव माथि सभाको निर्णय सदस्यको दस्तखत सहितको मत विभाजन द्धारा हुनेछ।”

मतविभाजनमा जानु अघि ५ मिनेट सम्म घण्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराईएको थियो । यसअघि शनिबार नै विधेयकमाथि दफाबार छलफल गरिएको थियो।

सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद सचिवालयमा नेपालको संविधानको दोश्रो संशोधन विधेयक २०७७ दर्ता गराईएको थियो।


प्रतिक्रिया दिनुहोस्