नेपालमा संविधान संशोधनबारे भारतको प्रतिक्रिया : ‘वार्ता गर्ने समझदारीको उल्लंघन’

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ८ : २९


काठमाडौ। भारतीय विदेश मन्त्रालयले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालपानी सहितका भूगोल आफ्नो नक्सामा पारि संविधान संशोधन गरेको प्रकियालाई ‘नोट’मा राखेको जनाएको छ।

संविधान संशोधन विकेयक नेपालको प्रतिनिधिसभाबाट पास भएपछि भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडिया ब्रिफिंगमा नेपालको नयाँ नक्सा भारतलाई मान्य नहुने स्पष्ट पारेका छन्।

साथै नेपालले सीमा विवादलाई वार्ताबाट हल गर्ने दुई देशको समझदारीको उल्लघंन गरेको आरोप समेत लगाएका छन्।

‘हामीले नेपालको प्रतिनिधिसभाबाट भारतीय भूमि राखेर बनाइएको नयाँ नक्शा परिवर्तन सम्बन्धी संविधान संशोधन विधेयक पारित भएको कुरालाई नोटमा राखेका छौं। यस विषयमा हामीले पहिले नै धारणा प्रष्ट पारिसकेका छौं’, प्रवक्ता श्रीवास्तवले दिएको प्रतिक्रियामा भनिएको छ, ‘यस्तो बनावटी विस्तारको कुनै ऐतिहासिक तथ्य र आधारहरू छैनन्, न त यस्तो हुने सम्भावना नै छ। साथै यसले हाम्रो सीमा विवाद सम्बन्धी तत्काल वार्ता गर्नका लागि बनेको समझदारीको पनि उल्लंघन गरेको छ।’

यसअघि पनि भारतले ‘नेपालले नक्सामार्फत् आफ्नो भूभाग अतिक्रमण गरेको’ प्रतिक्रिया दिएको थियो।

भारतले नेपालको दाबीको पछाडि ‘ऐतिहासिक तथ्य वा प्रमाण नभएको र नयाँ नक्सालाई कृतिम भूमीको विस्तार’ भन्दै आएको छ।

नेपाल र भारतबीचको पछिल्लो तनाव गत नोभेम्बरमा भारतले ती विवादित भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि सुरु भएको हो।


प्रतिक्रिया दिनुहोस्