गढवाको क्वारेन्टाइन अस्तब्यस्त, भित्रका सबै असुरक्षित

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ६ : ५१


संक्रमित घर फर्के, सँगै बसेकाको रिपोर्ट आएन

गढवा, दाङ । दाङको गढवा स्थित जनता माध्यमिक बिद्यालयमा रहेको क्वारेन्टाइनमा ब्यस्थापन भद्रगोल भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु आक्रोसित भएका छन् ।
क्वारेन्टाइनमा हुनुपर्ने आधारभूत आवश्यकताको समेत ख्याल नगरेर व्यवस्थापन पक्षले नहेरेको क्वारेन्टाइनमा बसेकाहरुले दैनिक अनलाईनसँग गुनासो गरेका छन ।

आफूसँगै क्वारेन्टाइनमा बस्न आएकाको कोरोना रिपोर्ट पोजेटिभ आएर उपचार पश्चात् घर फर्केका र आफूहरुको रिपोर्ट नआउँदा २५ दिनदेखि कुकुरले नपाउने दुख पाएर बस्नु परेको पञ्जावबाट आउनुभएका शिव पौलेलले गुनासो गर्नुभयो ।
उहाँले दैनिक अनलाईनसँग कुरा गर्दै भन्नुभयो ‘खेतीपातीको समय छ । यहाँ दिनहुँ मान्छे थपिँदैछन । हाम्रो रिपोर्ट नआएर २५ दिन देखि यहीँ छौं ।’

स्वास्थ्यकर्मी क्वारेन्टाइन जानै छाडे
गढवाको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्यकर्मी क्वारेन्टाइनमा आउनै छाडेको बादल थापाले गुनासो गर्नुभयो । ‘डाक्टरलाई पोजेटीभ देखिएपछि हामीलाई हेर्न पनि छाडे’ उहाँले भन्नुभयो ‘पहिले दिनमा ३ पटक सामान्य चेक जाँच हुन्थ्यो अहिले त्यो पनि हुन छाडेको छ ।

झोला बोकेर घर जाने धम्की
क्वारेन्टाइनको व्यबस्थापन अस्तव्यस्त भएपछि आजित बन्नुभएका अर्का राम थापाले अब यस्तो पाराले क्वारेन्टाइनमा बस्न नसक्ने बताउँदै आफ्नो झोला बोकेर घर जाने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पहिले बसेका र नयाँ आएकालाई एउटै कोठामा भेँडा बाख्रा होलेझैं राखेका छन । हामी यहाँ झन असुरक्षित छौं ।’

अन्य रोग फैलने डर, गर्भवती समस्यामा
क्वारेन्टाइनमा सौचालय पनि व्यवस्थित नभएको गुनासो त्यहाँ बसेकाहरुले गर्नुभएको छ । विद्यालयमा रहेको क्वारेन्टाइनका सबै सौचालय प्रयोग नगरिँदा र सरसफाइ नगर्दा झन रोग फैलने डर भएको बताइएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुले आफै सफा गर्छौ भन्दा पनि ‘हर्पीक’, साबुन, सरफ नपाइएको गुनासो क्वारेन्टाइनमा बसेकाहरुको छ । क्वारेन्टाइनमा गर्भवती महिलाको स्वास्थ्य ख्याल समेत नगरिएको गुनासो क्वारेन्टाइनमा बसेकाहरुले गरेका छन । हालसम्म माक्स र स्यानिटाईजर उपलब्ध नभएको उनिहरुको गुनासो छ ।

प्लास्टिकको चामल
केहि दिन अघि प्लास्टीकको चामल खान दिएको भन्दै क्वारेन्टाइनबाट भिडियो बाहिरिको थियो । लगत्तै क्वारेन्टाइनको खाना नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ । अहिले भने खानामा समस्या नभएको उनिहरुको भनाई छ ।

‘आउलान नी फेरी भोट माग्न ?’
क्वारेन्टाइनमा बसेकाहरुले जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो गरेका छन । गाउँपालिकाका अध्यक्ष सहजराम यादव देखि वडा अध्यक्षहरुसमेतले बेवास्ता गरेको उनिहरुको गुनासो छ । वडा नम्बर ६ का वडा अध्यक्ष बालचन्द्र हमालले अहिले सम्म नाक मुख नदेखाएको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन । स्वास्थ्यकर्मी समेत संक्रमित भएपछि सबैले बेवास्ता ागर्न थालेको उनिहरुको गुनासो छ ।

के भन्छ ब्यबस्थापन ?
क्वारेन्टाइन ब्यबस्थापन उपसमितिको जिम्मा लिएका राहुल चौधरीले दिनहुँ मानिस आउने संख्या बढेकाले ब्यबस्थापनमा केही असहज भएको बताउनुभएको छ । उहाँले गुनासो गरेको जस्तो क्वारेन्टाइन अस्त ब्यबस्त नभएको दैनिक अनलाईनलाई जानकारी दिनुभयो । उहाँले उपसमितिमा रहेका सदस्यहरुपनि स्वास्थ्यकर्मी संक्रमित भएपछि त्रसीत भएर क्वारेन्टाइन स्थलमा पहिले जस्तै रेखदेख गर्न आउन छाडेको बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्