कुखुराको खोरबाट १३ जना जुवाडे पक्राउ

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ४ : १३


शिवु खनाल
दाङ । दाङमा ८९ हजार ९ सय ८० रुपैयाँसहित कुखुराको खोरबाट १३ जना जुवाडेहरुलाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । गएराति १ बजे राजपुर गाउँपालिका निवासी सुरेन्द्र चौधरीको घरमा रहेको कुखुराको खोरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ५ का दीपक यादव, सोही ठाउँका भीमबहादुर भण्डारी, हरिगोविन्द यादव, भुनेश्वर चौधरी, कुलदीप शर्मा, अनिराग भण्डारी, रोशन भण्डारी, ७ नम्बर वडा निवासी प्रेम ओली, सनोजकुमार चौधरी, लमही नगरपालिका वडा नम्बर ८ का भूपबहादुर थापा, लमही नगरपालिका वडा नम्बर ७ का सारोज चौधरी, सोही ठाउँका विकास थापा, वडा नं. ८ का रञ्जित चौधरी रहेका छन् । उनीलाई गएराति कुखुराको खोरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिनुभयो ।

उनीहरुमध्य एक जना राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीका कान्छा भाइ रहेका छन् । पक्राउ गरेका १३ जनालाई इलाका प्रहरी कार्यालय गढवामा राखिएको छ । उनीहरुलाई आइतवार जुवा ऐनअन्र्तगत मुद्दा चलाउने र सोहीबमोजिम काबाही गरिने निरीक्षक राठोले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्