भारतीय सेना प्रमुखले बोली फेरे, भन्छन्, नेपालसँग प्रगाढ सम्बन्ध छ

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १ : ५६


काठमाडौं । नयाँ नक्सा जारी गरेपछि ‘नेपाल कसैको इशारामा नाचेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेले पछिल्लो पटक आफ्नो बयान फेरेका छन्।

उक्त अभिव्यक्तिलाई लिएर भारतभित्रै उनको व्यापक आलोचना भएको थियो।

शनिबार देहरादूनमा इन्डियन मिलिट्री (आईएमए)को पासिङ आउट परेडमा भाग लिन पुगेका नरवणेले नेपाल र भारतबीचको सम्बन्ध बलियो र प्रगाढ रहेको बताएका हुन।

‘नेपालसँग हाम्रो प्रगाढ सम्बन्ध छ। हाम्रो भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको छ। नेपाल र भारतका जनताबचि पनि आपसमा गहिरो सम्बन्ध छ। विगतदेखिनै हामी आपसमा जोडिएका छौं र आगामी दिनमा पनि यो सम्बन्ध प्रगाढ नै रहन्छ।’,नरभानेले भने

संयोगवस उनले नेपालबारे सम्बन्ध प्रगाढ रहेको अभिव्यक्ति दिइरहँदा दायाँ गोर्खा ब्रिगेडका अशोक थापा नामका सैनिक उभिएका छन्।

उनले चीन र भारतको सीमामा अहिले स्थिति पूर्णतः नियन्त्रणमा रहेको पनि बताएका छन्।


प्रतिक्रिया दिनुहोस्