राष्ट्रियताको विपक्षमा देखिएकी ‘खलपात्र’ सरिता गिरी

प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार


काठमाडौँ । चाहे पार्टी फरक होस् वा वैचारिक मुद्दा। नेपालको राष्ट्रियता र स्वभिमानताका विषयमा अहिले सबै दल एक ठाउँमा उभिएका छन्। नेपालको राजनीतिक इतिहासमा विभिन्न दलहरुले यत्तिको एकता देखाएको सम्भवतः यो पहिलो अवसर होला। संसदमा सबै दलहरुबीच एकताको एउटै स्वर गुन्जिरहेका बेला खनलायक पात्र बनेर प्रस्तुत भएकी छिन् सरिता गिरी । गिरी जनता समाजवादी पार्टीकी नेतृ हुन्। जसपा पनि राष्ट्रियताको पक्षमा उभिएका बेला त्यही पार्टीकी नेतृ गिरी भने विपक्षमा प्रस्तुत भएकी छिन् ।

आज प्रतिनिधिसभाले ऐतिहासिक निर्णय गर्दैछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सार्वजनिक गरेको नेपालको परिमार्जित राजनीतिक तथा प्रशासनिक नक्साले संवैधानिक मान्यता पाउने छ। परिमार्जित नक्सा पारितका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलले त्यसको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । जसपाले पनि यसको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

तर, जसपाकै सांसद् सरिता गिरीले प्रतिनिधिसभाबाट जेठ २७ गते सर्वसम्मत स्वीकृत भइसकेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी छिन्। त्यत्तिमात्र हैन उनले सार्वजनिक रुपमै लिम्पियाधुरा नेपालको होइन भनेर अभिव्यक्ति पनि दिएकी छन् । त्यसको चौतर्फी विरोध हुँदै आएको छ।

सामाजिक सञ्जालदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि उनले दिएको अभिव्यक्तिप्रति विरोध जनाउँदै आएका छन्। उनकै पार्टीले पनि उनको अभिव्यक्ति तथा संसदमा दर्ता गरेको प्रस्तावको विरोध गर्दै आएको छ। त्यतिमात्रै हैन् राष्ट्रियताको विपक्षमा उभिए उनलाई कारबाही गर्ने सम्मको चेतावनी पनि पार्टीले दिएको छ । उक्त चेतावनीपछि पनि गिरी टसमस भएकी छैनन्।

को हुन् सरिता गिरी ?
नेपाली काँग्रेसबाट राजनीति सुरु गरेकी गिरी एक समय सद्भावना पार्टी (आनन्दीदेवी)की अध्यक्ष थिइन्। आधिकारिता विवादमा मुद्दामामिला हुन थालेपछि पार्टी क्षतविक्षत भयो र उनी स्वतः राजनीतिबाट टाढिइन्।

समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम)सँग एकता गरेपछि भने गिरीको राजनीतिकले नयाँ जीवन पायो । उनी अहिले प्रतिनिधिसभा सदस्य छिन्। उनी पहिलैदेखि विवादमा आइरहने पात्र हुन्। भारतीय छोरी नेपाली बुहारी रहेकी गिरीले नेपालमा बसेर राजनीति गरेपनि सधँै भारतको पक्ष लिने गर्छिन्।

केही समयअघि सत्तारुढ दल नेकपाकी सांसद् गंगा चौधरीले भारतीय चेलीको सांसद्मा दादागिरी भन्ने अभिव्यक्ति दिएपछि गिरी चौधरीमाथिनै खनिएकी थिइन्। उक्त समय उनले आफू भारतीय चेली नभएको पनि भन्न भ्याएकी थिइन्।

गिरीको हिन्दी भाषा मोह
प्रतिनिधिसभा सदस्य रहेकी गिरी सधैँ संसद्मा हिन्दी भाषामा बोल्छिन् । उनलाई शुद्ध हिन्दी भाषा बोल्न पनि आउँदैन्। उनी हिन्दीमा बोल्दा बोल्दै अप्ठ्यारा शब्द र छिटो–छिटो बाल्नुपर्दा सधैँ नेपाली घुसाएर बोल्छिन् । यो भनेको उनलाई नेपाली बोल्न धेरै आउने र हिन्दी भाषा त्यो भन्दा कम आउने हो ।

नेपाली भाषा राम्रोसँग बोल्न सक्ने गिरीले संसद्मा सधैँ हिन्दीमा आफ्ना भनाइ राख्छिन्। नेपालीमा बोल्न जान्दाजान्दै बोल्न नजान्ने भाषालाई प्रयोग गरेर हिन्दीमा अभिव्यक्ति दिँदा प्रष्ट हुन्छ की उनी नेपाल र नेपालको सार्वभौमप्रति कति बफादार छिन् ?

संसद्मा नेपाली भाषा बोल्न नसक्ने सांसद्हरुका लागि मातृभाषामा पनि आफ्ना भनाइ राख्न सक्ने व्यवस्था कानुनमा छ। तर मातृभाषा भन्दा नेपाली भाषानै राम्रो बोल्न सक्ने सांसद्ले पनि कानुनको खिल्ली उठाउँदै आधा हिन्दी र आधा नेपाली भाषामा अभिव्यक्ति दिँदा त्यसलाई अधिकार भन्ने वा कानुनको दुरुपयोग ? यो वहसको विषय बनेको छ ।

नेपाली सांसद् भारतीय पक्षको वकालत
भारतीय छोरी भएपनि उनी नेपाली बुहारी हुन्। नेपाली बुहारी भएकै नाताले उनले नेपाली राजनीतिमा स्थान पाएकी छिन्। तर नेपाली सांसद भएर भारतको पक्षमा खुलेआम बोल्ने कुरामा उनले गर्व गर्दै आएकी छिन्। आफ्नै देशविरुद्ध अभिव्यक्ति दिन सक्ने आँटलाई हेरेर त्यस बारे एकपटक सोच्नुपर्ने बेला आएको छ। त्यसभन्दा पनि बढी उनी पूर्वमन्त्री पनि हुन्। देशको राष्ट्रिय सुरक्षाका महत्वपूर्ण विषयहरुमा व्रिफिङ लिइसकेकी नेपालकी मन्त्री।

उनलाई पछिल्लोपल्ट समानुपातिकबाट मन्त्री बनाएका हुन् तत्कालीन समाजवादी पार्टीका नेता उपेन्द्र यादवले। गिरीले देशविरुद्ध बोल्दा उनलाई समग्र जनताको मतको दुरुपयोग गरेर निर्वाचित गर्ने यादवले पनि जिम्मेवारी लिनुपर्ने प्रश्न उठेको छ।

कारवाही गर्न पार्टीमा तिब्र दवाव
आफ्नै देशविरुद्ध अभिव्यक्ति दिँदै आएकी गिरीलाई कारवाही गर्न पार्टीमा तिब्र तवाव परेको छ ।संविधान संसोधनको विपक्षमा उभिएकी गिरीलाई पार्टीले कारबाही गर्नुपर्ने भन्दै जसपामाथि ठूलो दवाद पनि छ।

संविधान संसोधन पारित गर्ने अन्तिम दिनसम्म पनि गिरीले आफ्नो संसोधन प्रस्ताव फिर्ता नलिएपछि पार्टीको संसदीय दलको बैठक बस्दै छ। यसै विषयमा निर्णय गर्न भर्खरै मर्ज भएर बनेको जनता समाजवादी पार्टीको आजै संसदीय दलको बैठक बस्दै छ ।


प्रतिक्रिया दिनुहोस्