पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि अभद्र व्यवहार गर्ने भण्डारी फरार

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ५६


शिवु खनाल
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनमाथि हातपात तथा अभद्र व्यवहार गर्ने साजन भण्डारी फरार भएका छन् । फरार रहेका भण्डारी घोराही उपमहानगरपालिका १५ न्युरोड निवासी रहेको बताइएको छ ।

सोनापुर सिमेन्ट उद्योगका टिप्पर सञ्चालनमा रोक लगाउँदै आन्दोलनमा उत्रिएका स्थानीयहरुको भीडमा लुकेर आन्दोलनलाई नै तुहाउने गरी साजन भण्डारीले पत्रकार महासंघका अध्यक्ष प्रियासनलाई बिहीबार दिउँसो अभद्र व्यवहार र हातपात समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले फरार भण्डारीको खोजबिन भइरहेको बताउनु भयो । उनीमाथि कारबाहीका लागि अध्यक्ष प्रियासनले निवेदन दर्ता गराएको बताउनुभयो ।

फरार भण्डारीको खोजबिन भइरहेको र अनुसन्धानपछि कारवाहीका लागि प्रक्रिया अगाडि बढाइने प्रहरी प्रमुख चन्दले बताउनुभयो । यता, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पनि फरार भण्डारीलाई पक्राउ गर्न आदेश दिइसकेको र छिट्टै पक्राउ गरी कारबाहीको लागि प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

अध्यक्ष प्रियासनमाथि अभद्र व्यवहार गर्ने भण्डारी लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको बताइएको छ । केही समय पहिले व्यवसायी विश्वमान कशजुमाथि पनि उनैले सांघातिक आक्रमण गरेको बताइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ दाङ शाखाले प्रेस विज्ञप्ति प्रकाशित गरी संस्थागत जिम्मेवारीअनुसार काममा खटिनुभएका अध्यक्ष सविन प्रियासनमाथि केही अराजक युवाहरुको तर्फबाट भएको यस किसमको दुव्र्यवहारप्रति गम्भीर आपति प्रकट गरेको छ । सचिव भूपेन्द्र वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीलाई कानुनी कारवाहीको माग गरिएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ
मिति २०७७/०२/२९ गते घोराही– १४ शहीद लखनपार्कनजिक नेपाल पत्रकार महासंघ, दाङ शाखाका अध्यक्ष सबिन प्रियासनमाथि भएको दुव्र्यवहारप्रति घोर भत्र्सना प्रकट गर्दछौं । सर्वप्रथम स्थानीयले टिप्पर रोकेको सन्दर्भमा पत्रकार सम्मेलन भएकाले आइदिन आग्रह गरेपछि अध्यक्ष प्रियासन आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै सो स्थानमा पुग्नुभएको थियो । अध्यक्ष प्रियासनले सहमति कायम गर्ने प्रयास गर्दा घोराही– १५ न्युरोड निवासी साजन भण्डारी लगायत दुईतीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार गरेका हुन् । यसरी दुव्र्यवहार गर्दा पनि जिम्मेवारीबोध गरेर आफ्नो काममा फर्किनुभएका अध्यक्षलाई त्यसपछि पुनः घोराही उपमहानगरपालिका– १५ का अध्यक्ष रमेश पाण्डेले स्थानीय र टिप्पर सञ्चालकबीच सहमति कायम गराउनका लागि आएर समन्वय गरिदिन आग्रह गरेपछि उहाँ फेरि सो स्थानमा पुग्नुभएको थियो । सो क्रममा स्थानीयसँग सौहार्दतापूर्वक छलफल चलिरहेको सन्दर्भमा पुनः निज साजन भण्डारी लगायतका युवाले अध्यक्षको मोटरसाइकलको चाबी खोसेर हातपात समेत गरेका छन् । यति हुँदासम्म पनि संयमता अपनाउनुभएका अध्यक्ष तथा सम्पूर्ण सञ्चारजगतको चरित्रहत्या गर्ने उद्देश्यले हिजो राति निज साजन भण्डारी लगायतका युवाले सामाजिक सञ्जालमा विभिन्न भिडियो राखेर सम्पूर्ण सञ्चारकर्मीको नै चरित्रहत्या गर्ने प्रयास गरेका छन् ।

आफनो संस्थागत जिम्मेवारीअनुसार काममा खटिनुभएका अध्यक्षमाथि केही अराजक युवाहरुको तर्फबाट भएको यस किसमको दुव्र्यवहारप्रति गम्भीर आपत्ति प्रकट गर्दै दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गर्दछौं । अध्यक्षमाथि भएको यो दुव्र्यवहारलाई कोभिड महामारी जस्तो यस जटिल समयमा दिनरात नभनी अग्रपंक्तिमा खटिएका दाङ जिल्लामा कार्यरत सम्पूर्ण सञ्चारकर्मीमाथि गरिएको प्रहारका रुपमा हामीले महसुस गरेका छौं । अतः चाँडोभन्दा चाँडो दोषीलाई कानुनको कठघरामा ल्याउन माग गर्दै आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता अराजक गतिविधि नगर्न सचेत गराउँदछौं ।

यसैबीच नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश समितिले पनि विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरिएको छ । प्रदेश समितिका महासचिव भेषराज बस्नेतद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा पनि यस्ता घटना दोहरिन नदिन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्