आर्थिक मन्दी भनेको के हो, यसको असर के हुन्छ ?

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ७ : ३६


काठमाडाैं । कोरोनाभाइरस महामारीले संसारभरि पुर्याउने आर्थिक असर भनेको आर्थिक मन्दी हुने र यस पटक दशकौँमा नदेखिएको सबैभन्दा खराब प्रकृतिको मन्दी हुने अनुमान गरिँदैछ।

त्यसको अर्थ के हो त?

रिसेसन अर्थात आर्थिक मन्दी भनेको के हो?
सामान्य अवस्थामा कुनै पनि देशको अर्थतन्त्रमा वृद्धि भैरहेको नै हुन्छ। एक देशले उत्पादन गर्ने वस्तु तथा सेवाहरूको मूल्य अर्थात कुल गार्हस्थ उत्पादन बढ्दा औसतमा त्यहाँका नागरिकहरू पनि अलिकति धनी बन्न पुग्छन्।

तर कुनै बेला त्यस्ता वस्तु तथा सेवाको मूल्य खस्कन पुग्छ। त्यसरी कुनै देशको कुल गार्हस्थ उत्पादन अर्थात त्यसले उत्पादन गर्ने वस्तु वा सेवाको मूल्य लगातार दुईवटा त्रैमासिक अवधिमा खस्कन पुग्यो भने त्यस्तो अवस्थालाई आर्थिक मन्दी भन्ने गरिन्छ।

आर्थिक मन्दी हुँदा के फरक पर्छ?
धेरै मानिसका लागि आर्थिक वृद्धि हुनु राम्रो कुरा हो। जसको अर्थ सामान्यतया रोजगारीहरू बढी मात्रामा उपलब्ध हुन्छन्। कम्पनीहरू सामान्यतया बढी नाफामा हुन्छन् र तिनीहरूले आफ्ना कर्मचारी तथा शेअरधनीलाई राम्रो तलब वा आर्थिक प्रतिफल दिन सक्छन्।

फस्टाउँदो अर्थतन्त्र हुँदा सरकारले पनि करका रूपमा बढी राजस्व प्राप्त गर्न सक्छ। त्यसो भयो भने सरकारले कर कटौती गर्न सक्ने अवस्था पनि देखिन सक्छ, वा उसले जनतालाई उपलब्ध गराउने सेवा, सार्वजनिक सुविधाका सेवाहरू र सरकारी कर्मचरीको तलबमा पनि बढी खर्च गर्न सक्छ। तर यदि अर्थतन्त्र खुम्चियो भने यी सबै कुरा विपरित दिशामा घुम्न पुग्छन्।

हामी आर्थिक मन्दीको अवस्थामा पुगिसक्यौँ त?
धेरैजसो विकसित देशहरूले सन् २०२० को ज्यानुअरीदेखि मार्च महिनाको बीचमा देशको अर्थतन्त्रमा ऋणात्मक वृद्धिको अर्थात कुल गार्हस्थ उत्पादन घटेको अवस्थाको सामना गर्नु परेको छ। कोरोनाभाइरसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सुरु गरेपछि त्यस्तो अवस्था उत्पन्न हुन पुगेको हो।

एप्रिलदेखि जुन महिनासम्मको आधिकारिक तथ्याङ्क सार्वजनिक भइसकेको छैन तर त्यसले पहिलेभन्दा पनि ठूलो अनुपातमा अर्थतन्त्र खस्केको देखाउन सक्छ। यस्को अर्थ लगातार दोस्रो त्रैमासिक अवधिमा पनि अर्थतन्त्रको बृद्धिदर ऋणात्मक हुन पुग्छ। र लगभग सारा विश्व नै आर्थिक मन्दीको अवस्थामा पुगेको पुष्टि हुने छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा संसारभरि नै कुल गार्हस्थ उत्पादन वा जिडिपि ठूलो मात्रामा खस्कने अनुमान गरेको छ। अमेरिकाको हकमा ५.९ प्रतिशत र युकेको हकमा ६.५ प्रतिशतले अर्थतन्त्रमा सङ्कुचन आउने अनुमान छ जुन अभूतपूर्व हो।

समग्र विश्वको अर्थतन्त्र नै यो वर्ष तीन प्रतिशतले खस्कने प्रक्षेपण गरेको छ, जुन सन् १९३० को दशकको ग्रेट डिप्रेशन भनेर परिचित गम्भीर आर्थिक मन्दी र सङ्कटको अवस्थादेखि यताको सबैभन्दा खराब स्थिति हो।

आर्थिक मन्दीको सर्वासाधारणलाई के असर पर्न सक्छ?
केही मानिसहरूले आफ्नो जागिर गुमाउन सक्छन् अथवा नयाँ अवसरहरू नपाउनुका साथै पदोन्नति नहुन सक्छ। नयाँ जागिरको खोजीमा रहेका विश्वविद्यालयको पढाइ पुरा गरेका स्नातकहरू र पढाइ छोडेकाहरूका लागि रोजगारीका थोरै मात्र अवसर उपलब्ध हुन सक्छन्।

जागिरमा रहेकाहरूको पनि तलब वृद्धि नहुने, सामान्यभन्दा बढी समय काम गर्नुपर्ने वा तलब कटौतीलाई स्वीकार्नु पर्ने हुन सक्छ। यूकेको सरकारी खर्च निगरानी निकाय ओबिआरको अनुमानमा त्यहाँ यो गृष्म याममा बेरोजगारी दर दोबर बढेर दश प्रतिशतसम्म पुग्न सक्छ। तर आर्थिक मन्दीको प्रभाव समाजका सबैलाई बराबरी नपर्न सक्छ जसले गर्दा सामाजिक असन्तुलन बढ्न जानेछ।

आर्थिक मन्दीको अन्त्य कहिले हुन्छ?
अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण अनुसार अर्को वर्ष मात्रै आर्थिक मन्दी अन्त्य हुनेछ र विश्व अर्थतन्त्र फेरि पुरानै अवस्थामा फर्कन थाल्नेछ। तर हामी सबै पहिले कहिल्यै नभोगिएको अन्योलपूर्ण अवस्थामा छौँ। त्यही भएर आर्थिक पुनरूत्थान कति बलियो होला भनेर कसैलाई थाहा छैन।

लकडाउनका बेला बन्द भएका सबै व्यापार व्यवसाय छिटोभन्दा छिटो सञ्चालनमा आउन सकेमा आर्थिक मन्दीबाट पर्ने नकारात्मक प्रभावको असर केही कम हुन सक्छ। तर कोरोनाभाइरस फेरि फैलिन सुरु हुन सक्ने डर माझ मानिसहरूले सरकारहरूले सबै सुरक्षित छ भने पनि निर्धक्क यात्रा गर्न वा बाहिरी गतिविधि गर्न हिच्चिकिचाउने छन्। समुद्री क्रुज यात्रा, हवाईयात्रा र व्यापारिक सम्मेलनहरू पूर्ववत् अवस्थामा फर्कन त अझै केही वर्ष लाग्न सक्छ।

-बीबीसी


प्रतिक्रिया दिनुहोस्