राप्ती नदीमा चरमरूपमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : ०९


शिवु खनाल
दाङ । जिल्ला समन्वय समिति दाङले देउखुरीको राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अनुगमन गरेको छ । समितिले चालु आर्थिक वर्षमा टेन्डर आव्हानमार्फत ठेक्का खोलिएका राप्ती नदी घाटहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ठेक्का परेको स्थानमा चार किल्ला प्रमाणित नभएको र नदीजन्य पदार्थ निकाल्दा मापदण्डभन्दा अत्यधिक गहिराई रहेको पाइएको छ ।

आर्थिक वर्ष सकिनै लाग्दा समग्र दाङ जिल्लाभरि ढुङ्गाजन्य पदार्थ उत्खनन भरहेको छ । सबैभन्दा देउखुरी क्षेत्रमा र दोस्रोमा दाङको ग्वारखोलामा उत्खनन भएको जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपालीले बताउनुभयो ।

जिल्ला समन्वय समितिले दाङ देउखुरीका क्रसर उद्योगहरुको नियमित अनुगमन भइरहेको तर अवैध उत्खनन हुन भने नरोकिएको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख नेपालीका अनुसार अनुगमनपश्चात संघीय सरकार, प्रदेश सरकार, अख्तियार र सम्बन्धित पालिकालाई जानकारी गराउने तर कारबाही गर्ने काम उनीहरुकै हो ।

देउखुरी क्षेत्रमा बिहीवार अनुगमनपछि कुनै पनि घाटमा मेसिन प्रयोग गर्न नपाइने भएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली, उपप्रमुख श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापा, सदस्यहरु जक्तबहादुर बस्नेत, देबीलाल थारु र पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्