कोरोना कहर र सार्वजनिक यातायातको व्यवस्थापन

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ३७


कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेकोले त्यसको सामना गर्न हामीमध्ये धेरैले आआफ्नो तर्फबाट सक्दो कोसिस गरेका छौं । राज्यले बनाएका नियमहरु मान्दै बिना काम घरबाहिर जाने गरेका छैनौं । घरबन्दीको रुपमा ८० दिन बिते । हामीमध्ये धेरैजसोले घरबाहिर जाँदा मास्क लगाई भौतिक दूरी राखेर हिँडेका छौं । बैशाख र जेठ महिनाहरु विवाह, ब्रतबन्ध र धार्मिक कार्यक्रमहरुको लागि महत्वपूर्ण मानिए पनि कोरोना भाइरसको डर र लकडाउनका कारण नगन्य रुपमा भए । परम्परामा केही परिवर्तन भए । गर्नैपर्ने संस्कार छोटो र छरितो गर्न परिस्थितिले बाध्य बनायो । लकडाउन जति नै लम्ब्याए पनि खुलेपछि भाइरस संक्रमणको सम्भावना रहिरहने चीन, दक्षिण कोरिया र भारत लगायतका देशहरूको अनुभवले देखाइसकेको छ । यसैले अहिलेबाटै संक्रमण नियन्त्रणको विस्तृत योजना बनाउन जरुरी देखिन्छ ।

राज्यको ध्यान स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातको व्यवस्थापनमा जति गहनरुपमा पुग्नुपर्ने हो, अपेक्षाको तुलनामा निकै नै कम छ । अझ स्पस्टरुपमा भन्नुपर्दा तीनवटा क्षेत्रमा राजनीतिकरुपमा संरक्षित बिचौलियाहरुको सिन्डिकेट नै छ । राज्यले कोरोनाको कहरबाट सिक्नुपर्ने विभिन्न पाठमध्ये स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातको सुधार महत्वपूर्ण हुन् । आशा गर्न सकिन्छ तर अहिलेसम्मको काम गर्ने तरिकाले विश्वास गरिहाल्नु पर्ने स्थिति छैन । कोरोना विज्ञहरु भीडबाट सुरक्षित दूरीमा रहनु उत्तम तरिका भएकोले सम्भव भएसम्म मानिसहरूले कुनै पनि सार्वजनिक यातायातको प्रयोगबाट अलग रहनु पर्छ भन्दैछन् । तर तीतो यथार्थ के हो भने कोरोनाबाट बच्न सधै घरभित्र बस्न सकिदैन । हाम्रा दैनिकीहरु चल्नुपर्छ र मानिसहरुले आआफ्ना काम गर्ने वातावरण बनाउनुको विकल्प छैन । त्यसैले लकडाउन खुलेसँगै हाम्रा व्यक्तिगत उत्तरदायित्वहरु झन बढ्नेछन् । सावधानी र सुरक्षाकवच अपनाएर कोरोना संक्रमणबाट जोगिएर र अरुलाई पनि जोगाएर दैनिकी चलाउनु पर्नेछ । सुधारसहितको सार्वजनिक यातायात प्रयोग गर्नुको विकल्प छैन ।

सार्वजनिक यातायातको व्यवस्थापन
हामीमध्ये धेरैको आफ्नै कार वा मोटरसाइकल छैन र हिडेर आफ्नो कार्यक्षेत्रमा पुग्न पनि नसकिने हुँदा आगामी दिनमा आफ्नो दैनिकी कसरी चलाउने भन्ने चिन्ता छ । सार्वजनिक यातायातको प्रयोग गर्नेलाई चिन्तित मात्र बनाएको छैन फरक ढंगले सोच्न बाध्य तुल्याएको छ । आफ्नै कार वा मोटरसाइकलको मात्र प्रयोग गर्नु उत्तम विकल्प हो भन्ने ज्ञान धेरै मानिसहरुलाई छ तर सबैलाई व्यक्तिगत कारको सुविधाको लागि आर्थिक, सामाजिक, सीपगत क्षमता र उमेरले साथ दिँदैन ।

देशमा रोजगारी सिर्जना गर्ने प्रमुखमध्ये सार्वजनिक यातायातको शहरी क्षेत्रमा अधिक महत्व छ । कोरोना कहरले थला परेको मुख्य क्षेत्र सार्वजनिक यातायात हो । हाम्रो दैनिक अवस्था सामान्य बन्न लामो समय लाग्नसक्ने आँकलन भएकाले लामो समयसम्म यात्रुवाहक सवारी साधन परम्परागत रुपले निर्धक्क चल्ने अवस्था छैन । सरकारले लकडाउन हटाएपनि हरेक नागरिकले आफूले आफैलाई लकडाउनमा राख्नुपर्ने हुन्छ । कहाँ जाने, कहाँ नजाने, के गर्ने, के नगर्ने बारे हामीले आआफ्नै लकडाउन संहिता बनाएर अघि बढ्नुबाहेक अन्य विकल्प छैन । सुरक्षाकर्मी वा ट्राफिक प्रहरी देख्दा सार्वजनिक यातायातको नियम मानिदिने तर आँखा छलेर नियम मिच्ने गलत कार्यले अन्तमा हानी नोक्सानी हुने हामीलाई नै हो ।

कडाउनलाई खुकुलो पार्दै सार्वजनिक यातायात खुला गर्दै जानुको विकल्प पनि छैन । संक्रमण बढेसँगै सन्त्रास पनि बढिरहेका बेला सार्वजनिक यातायात व्यवसायीहरु धान्नै नसक्ने गरी आर्थिक संकट बेहोर्नुपर्ने स्थितिमा आइपुगेका छन् । लकडाउन हटेपछि पनि सार्वजनिक यातायात क्षेत्रमा ठूलो संकटको स्थिति देखा पर्ने अवस्था छ र लामो समयसम्म नोक्सानीमा जाने स्थिति बनेको छ । यो पनि सत्य हो कि तीन महिना पहिलेको सार्वजनिक यातायातको अवस्थाअनुसार सञ्चालन गर्दा हामी धेरै असुरक्षित हुने छौं । सार्वजनिक यातायातका साधनहरुलाई सुरक्षित र सुनिश्चित गर्न मापदण्ड तथा निर्देशिका जारी गरी सञ्चालनको बृहत खाका तत्काल तयार पार्नुपर्दछ ।

जनमानसमा संक्रमणको त्रास कायमै रहने कारणले गर्दा अत्यावश्यक बाहेक मानिसहरुले यात्रा गर्ने छैनन् । धेरै मानिसहरु संक्रमणको जोखिमका कारण सार्वजनिक यातायातको प्रयोगप्रति अरुची बढ्न जानेछ भने निजी यातायातका साधनको प्रयोग गर्ने क्रम बढ्ने छ । आफ्नो हैसियतअनुसारको साधन किनेर चढ्नेको संख्या बढ्नेछ । सवारी साधनको संख्या वृद्धि भई वातावरण प्रदूषणमा बढोत्तरी हुनेछ भने धेरै मानिसहरु निजी सवारीसाधनतिर स्थानान्तरण हुँदा सार्वजनिक यातायात क्षेत्र समस्यामा पर्नेछ भने यसले देशको अर्थतन्त्रमा दूरगामी असर पार्नेछ । यसो हुन नदिन समयमै सचेत हुनु आवश्यक छ ।

जोखिममुक्त बनाउने उपाय
नेपालमा सार्वजनिक यातायात नै आम मानिसहरुको आवागमनको एकमात्र साधन भएको हुनाले ती साधनहरुमा धेरैजनाबीच सम्पर्क हुन्छ । एकजना मात्रै संक्रमित छ भने अन्य धेरैमा सर्ने सम्भावना अधिक रहन्छ । तसर्थ सार्वजनिक यातायात क्षेत्रले अन्य क्षेत्रको भन्दा धेरै पूर्वतयारी र सावधानी अपनाउनुपर्ने हुन्छ । सुरक्षितरूपमा सञ्चालन गर्न भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गर्नुपर्छ ।

दिनदिनै ठूलो जनसंख्याले प्रयोग गर्ने हुँदा सार्वजनिक यातायातका साधनहरु बस, माइक्रोबस, टेम्पो तथा ट्याक्सी पर्याप्त मात्रामा सरसफाई गरिएका हुँदैनन् र प्रकोपको समयमा सुरक्षित छैनन् । अस्पतालले सञ्चालन गरेका बस, जीप तथा एम्बुलेन्स पनि सुरक्षित छन् कि छैनन् यसै भन्न सकिने अवस्था छैन । यातायातका साधनहरुले सरसफाई, यससँग सम्बन्धित कर्मचारीलाई तालिम, यात्रुले गर्नुपर्ने र चालक तथा सहचालकले पालन गर्नुपर्ने निर्देशिका सार्वजनिक गरी छलफल गर्न ढिला भइसकेको छ । यातायात सेवामा संलग्न कर्मचारीलाई कोरोना भाइरसबाट सुरक्षित राखी यात्रुहरुलाई यात्राको समयमा भौतिक दूरीसहितको सुरक्षित यात्राको प्रत्याभूति गराउनुपर्ने हुन्छ । यस्तो निर्देशिकामा हवाई यातायातको लागि पनि हुन आवश्यक छ । बस, माइक्रोबस, टेम्पो तथा ट्याक्सीमा यात्रा गरेबापत यात्रुले तिर्नुपर्ने भाडा इलेक्ट्रिोनिक भुक्तानी गर्ने व्यवस्था गर्दा बढी सुरक्षित हुन सकिन्छ ।

सुरक्षित दूरी कायम गर्नु महत्वपूर्ण छ । यस्तो अवस्थामा सबैले सावधानी अपनाउनु पर्ने हुन्छ । हाम्रा वरिपरिका अन्य व्यक्तिको कारणले हामीहरु जोखिममा पर्न सक्छौं । हामी बिरामी व्यक्तिहरूको सम्पर्कमा आउन सक्छौं, जसले हामीलाई संक्रमित गर्न सक्दछ । हाम्रो कारणले हाम्रो परिवारका व्यक्तिहरु जोखिममा पर्नु हुन्छ ।

यात्रुबाहक सार्वजनिक सवारीमा यात्रु राख्दा हालको बसहरुमा भएको सिट व्यवस्थाले सुरक्षित हुन सकिदैन । ३५ देखि ४० जनासम्म यात्रु सिट भएको बसमा २०÷२२ जनामात्र बस्न मिल्ने सिटको व्यवस्था गर्नुपर्ने हुन्छ । यात्रु घटाएर सवारी सञ्चालन गर्दा व्यवसायीलाई लागतमै नोक्सान हुने भएकाले राज्यले सहयोग गर्नुपर्छ । यस बिषयमा सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल हुनु पर्छ ।

मास्कको प्रयोगले सामाजिक दूरीको आवश्यकतालाई प्रतिस्थापन गर्दैन । आफ्नो अनुहारलाई आफ्नो हातले छुनबाट जोगिन र कीटाणुहरूबाट बच्न सार्वजनिक सवारीमा मास्कको प्रयोग अनिवार्य हुने व्यवस्था गर्नुपर्छ । यात्रुलाई सवारीसाधनमा चढ्ने बेला लाइनमा राख्ने र ढोकाछेउँमा स्यानिटाइजर लिन सकिने गरी व्यवस्था मिलाउनु पर्छ ।

प्रत्येक दिन, यात्रुहरूको एक ठूलो संख्याले झ्याल, ह्यान्डलहरू, ढोका र अन्य स्थानहरू छुन्छन् । जब हामी यी सतहहरुलाई छुन्छौं, भाइरसको वाहक बन्न सक्छौं र यस रोगबाट ग्रस्त हुन सक्छौं । संक्रमण नियन्त्रणको लागि हरेक यातायातका साधन नियमितरूपमा सरसफाइ गर्ने, धुने, यात्रुको सम्पर्कमा आउनसक्ने सतहमा नियमित संक्रमणरहित बनाउने कार्यलाई अनिवार्य गरिनुपर्छ । त्यसका लागि आवश्यक पर्ने केमिकल तथा प्रविधिको लागि सरकारले सहयोग गर्नुपर्छ । हवाई यातायातमा समेत यस बिषयलाई महत्वका साथ लागु गर्नुपर्छ ।

अन्तमा,
हामी कोरोना भाइरसको उपस्थितिलाई अस्वीकार गर्न सक्दैनौँ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन । भौतिक दूरी कायम गर्दै दैनिक तथा अत्यावश्यक कार्यहरु सहज ढङ्गले गर्ने वातावरण बनाउनु पर्नेछ । आमनागरिकले आवतजावतको लागि अत्यधिक प्रयोग गर्ने साधन सार्वजनिक यातायातका साधन नै हो । आवतजावतको क्रममा मानिसहरुसँग भौतिक सम्पर्क बढी हुँदा भाइरस संक्रमणको जोखिम बढी सार्वजनिक यातायात क्षेत्रमा हुन्छ । संक्रमणको जोखिम बढी हुने भए पनि मानव जीवनलाई चलायमान बनाउनको लागि यातायात क्षेत्र सञ्चालन गर्नैपर्ने हुन्छ । तसर्थ सार्वजनिक यातायात क्षेत्रलाई महत्वपूर्ण रूपमा हेरिनु अत्यन्त जरुरी छ । सुरक्षित र भरपर्दो सार्वजनिक यातायातको लागि अहिलेको अवस्थामा सेवा प्रदायकहरुले मात्र गर्नसक्ने अवस्था छैन । राज्यसत्तामा बस्नेहरुले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । कोरोनाको कहर त्यति सजिलो हुँदो हो त शक्तिशाली राष्ट्रहरुलाई लाश गनेर बस्ने अवस्था आउने थिएन ।


प्रतिक्रिया दिनुहोस्