सम्बोधन नानु अनु शर्मालाई ! समीक्षा ‘सागर भेटन जाँदैछ नदी’ गीतको

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १ : ३२


नानु अनु ! तिमीले सुमधुर स्वरमा गाएको ‘सागर भेट्न जाँदैछ नदी’ गीत सुनें÷हेरें । जनगायक जीवन शर्माको युट्युब च्यानलबाट २०७७ जेठ २२ मा आएको उक्त गीत हेरिसकेपछि तिमीलाई नै सम्बोधन गरेर यी पंक्ति कोर्न मन लाग्यो । सम्भवतः एकल स्वरमा यसरी युट्युब च्यानलबाट आएको तिम्रो यो नै पहिलो गीत होला ।

सुरुमै यो गीत छानेर तिमीले देश, जनता र सम्पूर्ण मानव हितमा लेखिएका प्रगतिशील गीतहरु बोकेर अघि बढ्न नयाँ पुस्ता तम्तयार छ भन्ने एउटा गतिलो सन्देश प्रवाह गरेकी छ्यौ । तिम्रो यो गीतको छनौटबाट नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक महत्व बोकेको गीत पुस्तान्तरण भएको छ र यसबाट तिम्रा बुवा जनगायक जीवन शर्मालाई जस्तै हामीलाई पनि असीम खुशी मिलेको छ । आशा छ, हाम्रो यो खुशीलाई तिमीले आगामी दिनमा पनि निरन्तरता दिनेछौ ।

अनु, तिमीले गाएको यो गीतले सम्पूर्ण मानव जीवनलाई अप्ठ्याराहरुसङ्ग पौंठेजोरी खेल्दै अघि बढ्न अभिप्रेरित गर्दछ । कुनै पनि व्यक्तिको पारिवारिक, सामाजिक र राजनीतिक जीवन विभिन्न बाधा अप्ठ्याराहरुले घेरिएको हुन्छ । यो गीतले ती अप्ठ्याराहरुसङ्ग जुध्न उर्जा र हिम्मत प्रदान गरेको छ ।

सागर भेट्न जाँदैछ नदी सङ्गै सङ्गै जाऊ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाऊ
पहराले छेके पनि पहिरोले रोके पनि
सागर भेट्न जाँदैछ नदी सङ्गै सङ्गै जाऊ…

यहाँ मानव जीवनलाई पानीमा खेल्ने माछीसङ्ग तुलना गरिएको छ । माछीहरु पानीमा बयली खेल्दै अघि बढ्छन् । उनीहरु खेल्ने ती नदी कहिले पहरामा गएर ठोकिन्छ त कहिले पहिरोहरु आएर नदीलाई रोक्ने प्रयास गर्छन् । तर जसले जसरी रोक्न र छेक्न खोजे पनि नदीलाई लामो समयसम्म रोकेर राख्न कसैले सक्दैन । विभिन्न बाधा व्यवधानहरुलाई पन्छाउँदै नदी आफ्नै गतिमा अघि बढ्छ र अन्ततः सागरमा पुगेरै छाड्छ । मानिसको जीवन पनि त्यस्तै हो अनु । मानव जीवनमा पनि अनेकौं पहरा र पहिरोहरु आउन सक्छन् । तिनलाई देखेर मानिस आत्तिनु हुँदैन बरु त्यसलाइ पन्छाउने प्रयास गर्दै जानुपर्छ । जसरी नदीभित्र बयली खेल्दै माछी अघि बढेको हुन्छ, त्यसैगरी विभिन्न अप्ठ्याराहरुसङ्ग पौंठेजोरी खेल्दै मानिस पनि अघि बढ्नु पर्दछ । बुझेकी छ्यौ नि हैन ? यो गीतका ती पङ्तिहरुले त्यही भाव बोकेका छन् ।
जाल थापी हिड्ने जलहारीको
पासोमा कतै नफस्नु है
दुष्टले तिमीलाई झुक्काइदेला
बल्छीमा कतै नफस्नु है
पानीमा खेल्ने माछी तिमी
पौडी खेल्दै जाऊ

पहरा र पहिरोले त नदीको गतिलाई रोक्ने, छेक्ने प्रयास गरेका हुन्छन् तर माछीलाई नै निशाना बनाएर जाल बुन्ने जलहारीहरु विभिन्न नदीहरुमा सधैं डुलिरहेका हुन्छन् अनु । ती जलहारीहरुले ठाउँठाउँमा माछीलाई आफ्नो आहारा बनाउन जाल थापिरहेका हुन्छन् । अनु, समयक्रमसङ्गै तिमीले पनि बुझ्दै जानेछौ– तिमीहामी बसेको यो समाजमा पनि अनेक प्रकारका ‘जलहारी’हरु छिपेर बसेका हुन्छन् । मानिस मानिसबीचको सम्बन्धलाई सुमधुर बन्न नदिन उनीहरुले हरदम प्रयत्न गरिरहेका हुन्छन् । यो समाज र देशलाई प्रगति र उन्नतिको मार्गमा हिड्न नदिनका लागि, समतामूलक समाज बन्न नदिनका लागि ती दुष्टहरुले समाजमा अनेक प्रकारका जालहरु बिछ्याइरहेका हुन्छन् । मानिसकै जमातभित्र मानिसकै रुपमा अमानवीय गुण बोकेर बसिरहेका ती जलहारी दुष्टहरुलाई चिन्ने काम बडो गाह्रो हुन्छ अनु । तर हामीले चिन्न सक्नुपर्दछ । यदि हामीले तिनीहरुलाई चिन्न सकिएन भने उनीहरुको जालमा वास्तविक मानिसहरु पर्दै जानेछन् । जलहारीको जालभित्र माछी परेजस्तै । तिमी हामी बसेको यो समाजमा पनि कैयौं मानिसहरु त्यसरी जलहारी दुष्टको जालमा परिरहेका छन् । नानु अनु, तिमीले गाएको उक्त गीतले उन्नति, प्रगति र विकासको सुखी जीवनमार्गमा हिड्न चाहने हरेक मानवहरुलाई समाजमा छिपेर बसेका जलहारीहरुलाई बेलैमा चिन्न र उनीहरुबाट सचेत रहन आव्हान गरेको छ ।

फुटेझै हुन्छ नदी कतै बगरहरुमा सुक्नलाई
टुटेझैं हुन्छ नदी कतै ढाडहरुमा लुक्नलाई
पानीमा खेल्ने माछी तिमी चाल्दैचाल्दै जाऊ

समय समयमा तिमी हामी बसेको यो समाज र समूहमा अनेक प्रकारका बिग्रहहरु आउन सक्छन् । त्यस्तो बेला हामी आत्तिनु हुँदैन । धैर्यतापूर्वक संयमित हुँदै अघि बढ्नुपर्छ हामी । अगाडि आएका अवरोधहरुलाइ तर्काउने क्रममा नदीले कुनै बेला आफ्नो सिधा बाटो मोड्नुपर्ने, कहिलेकाहीँ दुईतिर फाट्नुपर्ने स्थिति पनि आउने गर्छ । त्यसरी बाटो मोड्दा पानी बगरमै सुकेजस्तो, नदी फुटेर दुई चिरा परेजस्तो पनि देखिने गर्छ । तर, वास्तविकतामा त्यो नदी सुकेको हुँदैन, फुटेको हुँदैन । बगरको भित्री तहबाट उसले आफ्नो गतिलाई जारी राखेको हुन्छ । फेरि तल कतै गएर जुट्नकै लागि नदी त्यहाँ फुटेजस्तो गरेको हुन्छ । समाज र सङ्गठनमा पनि त्यस्तो अवस्था आउने गर्छ । कहिले खुल्ला त कहिले भित्रभित्रैबाट भूमिगतरुपमा काम गर्नुपर्ने अवस्था हुन्छ । सत्य, समानता र न्यायको लडाइँ सजिलो कहाँ हुन्छ र अनु ? पाइला पाइलामा अप्ठ्याराहरु हुन्छन् । अनेक प्रकारका चुनौतीका पहाडहरु आउँछन् । हामी तिनलाई पन्छाउँदै अगाडि बढ्नु पर्दछ । अन्धविश्वास र कुरीतिहरुले जेलिएको समाजलाई समता र समानतामूलक समाजमा रुपान्तरण गर्ने काम निकै गाह्रो र जटिल हुन्छ । तर, त्यही जटिल मार्गबाट नहिडेर हामीले सुखको सागर भेट्न सक्दैनौं । तिमीले गाएको यो गीतले त्यही सन्देश छरेको छ अनु ।
ज्वारभाटा सङ्ग जुध्नु छ भोलि भुमरीसङ्ग खेल्दै जाऊ
सुखको सागर आउने छ एकदिन यो दुःखी जीवन झेल्दै जाऊ
पानीमा खेल्ने माछीतिमी पौडी खेल्दै जाऊ
सागर भेट्न जाँदैछ नदी सङ्गैसङ्गै जाऊ
बीचमा कतै नहराऊ…

पटकपटक कठिन र जटिल समस्याहरुसङ्ग जुधेपछि मात्र मानिसले बल्ल सुखको सागर भेट्न सक्छ अनु । नदीहरुमा रहेका माछीहरु भुमरीसङ्ग जुधिरहेका छन् । सागरमा रहेका माछीहरु ज्वारभाटासङ्ग जुधिरहेका छन् । जीवनलाई बचाउन र अगाडि बढाउन हरेक प्राणीले संघर्ष गरिरहेको हुन्छ । मान्छे त अझ प्राणीहरुमध्य पनि सर्वश्रेष्ठ प्राणी मानिन्छ । आफ्नो जीवनलाई सुखमय बनाउने चाहना हरेक मानवले बोकेको हुन्छ । जसले हरेक दुःखहरुसङ्ग सम्झौता होइन संघर्ष गरेर अगाडि बढ्छ, उसले मात्र जीवनमा सुखको सागर भेट्नसक्छ । त्यसैले हामी अहिले दुःख पर्यो भनेर आत्तिनु हुँदैन । हामीले परिवर्तनप्रतिको विश्वासलाई आफ्नो मनमा अटल राख्नु पर्दछ । हरेक रातपछि सुनौलो बिहान आएजस्तै यो दुःखी जीवन झेल्दै गएपछि हामीले पनि जीवनमा सुखको सागर अवश्य भेट्ने छौं । पार्टी, सङ्गठन र देशका सन्दर्भमा पनि यही कुरा सत्य हो अनु । दुःखी, गरिब, किसान, मजदुर सबै रमाउनसक्ने ब्यवस्था देशमा अझै आइसकेको छैन । अझ धेरै भुमरीहरुसङ्ग खेल्दै भोलि ज्वारभाटासङ्ग जुधेपछि मात्र सबै सबै दुःखी गरिब पनि रमाउन सक्ने सुखी व्यवस्था देशमा आउन सक्नेछ । त्यो सुखको सागर भेट्नका लागि दुःखको अझ लामो यात्रा पार गर्न बाँकी छ जनताले । दुःखदेखि आत्तिएर समस्यासङ्ग सम्झौता गर्ने, बीचमा कतै हराउने गल्ती हामीले कदापि गर्नु हुँदैन । समस्याहरुसङ्ग संघर्ष, संघर्ष र निरन्तर संघर्ष गरेपछि मात्र हामीले सुखको सागर भेट्न सक्नेछौ । तिमीले कति बुझेकी छ्यौ कुन्नि ? तर तिमीले गाएको यो गीतभित्र त्यही गम्भीर भाव अन्तरनिहित छ अनु ।

तिमीलाइ थाहा छ अनु, तिम्रो बाबाले यो गीत तिमी जन्मिनुभन्दा १५ बर्ष अगाडि अर्थात २०४३ सालमा लेख्नु भएको रे । यो गीत कुन सन्दर्भमा कहिले लेख्नु भयो भनेर मैले सोध्दा उहाँले भन्नुभयो, ‘त्यस्तै २०४३ सालतिरको घटना हो । काम विशेषले म चितवनको नारायणगढ गएको थिएँ । नारायणी पुल किनारबाट नदीमा एकटकले हेरिरहेको थिएँ । एक हुल माछा नदीमा बयली खेल्दै आए । त्यो देख्दा मलाई लाग्यो मान्छेको जीवन पनि त आखिर यही माछीको जस्तै त हो नि । यस्तै भावना मनमा खेलाउँदै जाँदा आखिर गीत नै पो बनिसकेछ ।’ त्यसपछि यस गीतलाई उहाँले देशविदेशका धेरै कार्यक्रमहरुमा प्रस्तुत गर्दै आउनुभएको छ । जनगायक जीवन शर्माकै शब्द, सङ्गीत र स्वरमा रक्तिम परिवारको जनगीति यात्रा भाग ५ मा यो गीत समेटिएको छ । यो म्युजिक नेपालबाट २०५० सालमा सार्वजनिक भएको थियो ।

श्रमजीवी जनताका बीचमा यो गीत अहिले पनि उत्तिकै प्रिय बनिरहेको छ । यो गीतको सान्दर्भिकता अहिले पनि उत्तिनै रहेको छ । त्यस्तो महत्वपूर्ण गम्भीर भाव बोकेको गीत छनौट गरी गाएकोमा तिमीलाई धेरै धेरै धन्यवाद । तिम्रो यो गायनले कालान्तरमा प्रगतिशील साँस्कृतिक आन्दोलनको रथ हाँक्न नयाँ पुस्ता पनि तम्तयार छ भन्ने प्रस्ट सङ्केत गरेको छ । ‘नयाँ पुस्ताले देश र जनताको गीत गाउँदै हिड्ने जमर्को गर्नु राम्रो कुरा हो’, तिम्रो बाबा जनगायक जीवन शर्मा भन्नुहुन्छ, ‘आज म सारै खुशी छु । एउटा गीत पुस्तान्तरण हुँदैछ । समग्र मानव जातिलाई आफ्नो लक्ष्यमा ढृढतापुर्वक अगाडि बढ्न प्रेरणा दिने यो गीत छोरी अनु शर्माले गाउँदैछिन् ।’ अहिले लकडाउनका बेला सामान्य मोबाइल क्यामराबाट आफ्नै कोठा अगाडि दृश्याङ्कन गरिएको यो गीत तिमीले गाइरहँदा बाबा जीवन शर्माले हार्मोनियम, आमा निलिमा पुनले मादल र दाजी विनय थापाले गितार बजाएर साथ दिनुभएको छ । अनु, जनगीति यात्रामा यसरी नै निरन्तर पाइला चालिराख । तिमीलाई हजारौंहजार आमाबाबा, दिदीबहिनी र दाजुभाइहरुको साथ सहयोग मिल्नेछ । तिम्रो जनसङ्गीत यात्राको उज्ज्वल भविष्यको कामना ।

अब सुनौं र हेरौं समग्र मानव जातिलाई आफ्नो लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्न प्रेरणा दिने त्यही गीत ‘सागर भेट्न जाँदैछ नदी सङ्गै सङ्गै जाऊ ।’ नानु अनु शर्माको स्वरमा ।
भिडियो


प्रतिक्रिया दिनुहोस्