जोर्ज फ्लोइडका भाइले भने, ‘पीडा दिने काम बन्द गर’

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : १६


प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी-अमेरिकी पुरुष जोर्ज फ्लोइडका भाइले प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउन र “पीडा दिने कार्य बन्द गराउन” अमेरिकी सांसदहरूलाई आग्रह गरेका छन्।

हाउस अफ रेप्रेजेन्टेटिभ्सको न्यायिक समितिको सुनुवाइमा बोल्दै फिलिनिस फ्लोइडले आफ्ना दाइ जोर्ज “सूचीमा थपिने अर्को नाम हुन नसक्ने” बताए।

उनले भने, “ती नेता हुनू जुन नेता यो देशलाई, संसारलाई चाहिएको छ।” उनले कानुन कार्यान्वयन गर्ने तौरतरिकामा अर्थपूर्ण परिवर्तन ल्याउन सांसदहरूलाई आग्रह समेत गरे।

मिनिअपलिसमा नियन्त्रणमा लिएर एक श्वेत प्रहरी अधिकारीले करिब नौ मिनेटसम्म गर्दनमा घुँडाले थिचिरहँदा जोर्ज फ्लोइडको गत मे महिनामा ज्यान गएको थियो।

आरोप
घटनाका अन्तिम क्षणहरू मोबाइलमा कैद गरिएका थिए। घटनामा संलग्न चारजना प्रहरीलाई बर्खास्त गरिएको छ र उनीहरूमाथि हत्या गरेको आरोप लगाइएको छ।

ह्युस्टनमा ४६ वर्षीय जोर्ज फ्लोइडको अन्तिम संस्कार गरिएको एक दिनपछि संसद्‌को तल्लो सदनको न्यायिक समितिमा सुनुवाइ गरिएको हो।

जसमा सांसदहरूले नागरिक अधिकारकर्मी तथा कानुन कार्यान्वयन गराउने अधिकारीहरूको धारणा सुनिरहेका छन्।प्रहरी हिंसा र जातीय अन्यायविरुद्ध लड्ने विषय बारेको प्रस्तावित विधेयकलाई समितिले जुलाई ४ तारिखसम्म तल्लो सदनमा पठाउन चाहेको छ।

प्रहरीका व्यवहार र जातीय असमानताविरुद्ध देशव्यापी र कतिपय सन्दर्भमा अन्तर्राष्ट्रिय रूपमा पनि आवाज उठेपछि सांसदहरूले विधेयक अघि सारेका हुन्। समितिमा बोल्दै ४२ वर्षीय फिलिनिस फ्लोइडले भने, “पीडा दिने काम बन्द गराउनुहोस् भन्नलाई म यहाँ आएको हुँ।”

भेदभाव
“मेरा दाइले सहयोगको याचना गरिरहँदा बेवास्ता गरियो। मैले, हाम्रो परिवारले र संसारका सडकबाट भइरहेका आह्वानलाई कृपया सुन्नुहोस्। सडकहरूमा प्रदर्शन गरिरहेका मानिसहरूले अब अति भयो भनिरहेका छन्।”

गहभरि आँसु पार्दै उनले थपे, “मेरा दाइका बच्चाहरूले त्यो भिडिओ हेर्नु परेको थियो। बडो पीडा भयो कृपया एउटा मानवलाई त्यस्तो नगरियोस्। उहाँको जीवनको अर्थ थियो। हामी सबैको जीवनको अर्थ छ। अश्वेतहरूको जीवनको अर्थ छ।”

समितिका अध्यक्ष जेरोल्ड नाड्लरले भने, “हामीले यो कुरा सम्झनुपर्छ कि जोर्ज फ्लोइड सडकहरूमा लिनुपर्ने एउटा नाम मात्रै थिएनन्। उनी एउटा मान्छे थिए।”

“उनको एउटा परिवार थियो। हामीले त्यो क्षतिप्रति शोक मनाउनुपर्छ।” विधेयकमा घाँटी अठ्याउने कार्य गैरकानुनी हुने प्रस्ताव गरिएको छ भने जातीय भेदभावविरुद्ध प्रशिक्षण लागु गराउन भनिएको छ।

छुट्टै सन्दर्भमा राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले प्रदर्शनको विषयलाई सम्बोधन गर्ने र प्रहरीले गरेको “दमनका घटना” लाई आउँदा दिनमा सार्वजनिक गर्ने सङ्केत गरेको छ।


प्रतिक्रिया दिनुहोस्