अन्नपूर्णपोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले किन दिए राजीनामा ?

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ४७


काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिनुभएको छ । मिडिया हाउसले पत्रकार तथा कर्मचारीलाई तलब दिन नसकेपछि नैतिकताको जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनुभएको हो ।

विश्वव्यापी महामारीका कारण चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ । लकडाउनका कारण अन्य क्षेत्रजस्तै मिडियाहाउसहरु पनि धराशायी बन्दै गएका छन् । देशका ठूला ठूला मिडिया हाउसहरुमा पत्रकार तथा कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्थाको सिर्जना भएको छ ।

प्रधानसम्पादक थापाले अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार कर्मचारीमध्ये आधा मान्छे घटाउने र बाँकी रहेका पत्रकार कर्मचारीहरुलाई आधा तलब दिनुपर्ने भनिएपछि आफूले राजीनामा दिएको बताउनु भयो । उहाँले दैनिक अनलाइनसँग भन्नुभयो, ‘यो महासंकटको समयमा साथीभाइहरुको जागिर खाइदिँदा जिन्दगीभरका लागि कलङ्कित हुने अवस्था सिर्जना भयो । मबाट जिन्दगीभर कलङ्कित हुने यस्तो काम हुनसक्दैन भनेर राजीनामा दिएँ ।’ उहाँले थप्नुभयो, ‘बरु दालभात मात्रै खाएर भए पनि यो संकट पार गरौंला तर मेरो सिफारिसमा आधा पत्रकार कर्मचारीलाई हटाउने र बचेका आधालाई पनि आधा तलब दिने काम मबाट हुनसक्दैनथ्यो ।’


प्रतिक्रिया दिनुहोस्