कोरोना जितेर दाङबाट सातजना घर फर्किए, भन्छन्, कोरोना लागेजस्तै लागेन (भिडियोसहित)

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ०९


शिवुु खनाल
दाङ । जिल्लाका थप ७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइरहेका लमही नगरपालिका र घोराही उपमहानगरपालिकाका ७ जना कोरोना संक्रमितहरु निको भएका हुन । निको हुनेमा ६ जना पुरुष र १ जना महिला रहेका छन् ।

जेठ १४ गते संक्रमण पुष्टि भएका उनीहरु मंगलवार डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बसेका उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक हेस्थ असिष्टेण्ट दोर्णबहादुर वलीले जानकारी दिनुभयो ।

यस्तै कोरोना जितेर घर फर्किनेहरुमा लमही नगरपालिका वडा नम्बर १ र ४ का २६ वर्षका दुई पुरुष, वडा नम्बर ५ का २० वर्षीया महिला र वडा नम्बर ६ का १८ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २४ र २५ वर्षका दुई पुरुष, वडा नम्बर १० का ४० वर्षीय एक पुरुष रहेका छन् । यससँगै कोरोना विशेष अस्पताल बेझुण्डीमा उपचारत ३२ जना डिस्चार्ज भएका छन् भने अस्पतालमा अहिले ३७ जनाको उपचार भइरहेको छ ।

‘कोरोना लागेको महशुस नै भएन’
अस्पतालबाट डिस्चार्ज भएकाहरुले आफहरुलाई कोरोना लागेको महशुस नै नभएको बताए । लमही नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरुले आफूहरु सामान्य मान्छेसरह नै महशुस गरेको भन्दै कोरोनाको भयबाट मुक्त हुन आवश्यक रहेको बताए । लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुषले आफूलाई क्वारेन्टाइनमा रहँदा स्वास्थ्यकर्मीले फोन गरेर पोजेटिभ देखिएको भने पनि कत्ति डर नलागेको बताउनुभयो । ‘म भारतको हैदरबादबाट आएको हुँ । उतै भीडभाडमा कतै सङ्क्रमित भएको हुनसक्छ तर कत्ति पनि मलाई कोरोना छ भन्ने लाग्दै लागेन’, उहाँले भन्नुभयो ।

यस्तै लमही नगरपालिका वडा नम्बर ५ की २० बर्षीया महिलाले पनि आफ्ना परिवारसँगै भेटर कुरा गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिवारसँगै बसेर कुरा गर्न पाइयो । मलाई केही भएको जस्तो पनि लागेको थिएन’, उहाँले भन्नुभयो । उहाँ भारतको दार्जिलिङबाट आउनुभएको थियो । शुरुमा केही डर लागेको भएपनि स्वास्थ्यकर्मीहरु प्रयासमा कोरोना जित्नका लागि आत्मबल बलियो बनाउन आवश्यक रहेको सुझाव उहाँहरुको छ ।

यसैबीच कोरोना जितेर फर्किएका चारजनालाई लमही नगरपालिकाले स्वागत गरेको छ । स्वागत गर्दै लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले लमही नगरपालिकाका नागरिक पहिलोपटक सङ्क्रमित भएका र पहिलोपटक डिस्चार्ज हुँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँहरुले कोरोना जितेर आउनु भएको छ । स्वास्थ्यकर्मीले भनेजस्तै अनुशासनपूर्वक निर्धारित समयसम्म घरमै बिताउनुहोला ।’

लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले डिस्चार्ज भएर घर फर्किएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँहरुलाई रिपोर्ट पोजेटिभ आएपनि पहिलेदेखि नै लक्षण थिएन । अहिले उहाँहरुको दुईपटक पिसिआर चेक गर्दा नेगेटिभ देखिएको छ । उहाँहरु स्वस्थ हुनुहुन्छ ।’

कोरोना जित्नेहरुको अनुभव र सुझाव (भिडियो)


प्रतिक्रिया दिनुहोस्