दशैं तिहारपछि पनि कोरोना संक्रमण लम्बिन सक्छ : प्रधानमन्त्री

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १२ : ४९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपालमा कोरोना भाइरस संक्रमण साउनको अन्त्यसम्म पिकमा पुग्ने अनुमान रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बजेट छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा पिक हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताएका हुन।

उनले भने, ‘विश्व बैंकको तथ्यांक विश्लेषण हेर्ने हो भने साउनको अन्त्यतिर पिकमा पुग्ने र कम हुँदै गएर कार्तिकमा समाप्त हुने देखिन्छ। तर, त्यस्तो नहुन पनि सक्छ। कार्तिकमा दशैं तिहार जस्तो चाडबाडहरुमा बाहिरबाट मानिसहरु थप आउँछन्। त्यसबाट संक्रमण फेरि आउन सक्छ। संक्रमण आउनसक्छ समय लम्बिन पनि सक्छ।’

प्रधानमन्त्री ओलीले नेपालमा रहेका कोरोना संक्रमणका घटना ८५ प्रतिशत भारतबाट रहेको बताए।
सरकारले सुरुदेखि नै चुस्त तयारी गरेकाले संक्रमण नफैलिएको उनको दावी छ।

उनले अगाडी भने, ‘भारतबाट आएकाहरू रेलमा खाँदिएर, कोचिएर आएकाले बाटैमा संक्रमण फैलिएको हुनसक्छ। यहाँ आएपछि क्वारेन्टिन राम्रो नभएर, लापरबाहीको कारणले होइन। भारतबाट आउनेहरूको व्यवस्था हुन्छ। क्वारेन्टिन मापदण्डअनुकूल भए/नभएको अनुगमन भइरहेको र सुधार पनि गर्दै लगिएको छ।’

यस्तै, प्रधानमन्त्री ओलीले निजी स्वास्थ्य संस्थालाई पनि कोरोना परीक्षण गर्न दिने गरी निर्णय हुने बताएका छन्।

आजै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी पनि हेरफेर गर्ने उनले जानकारी दिए।

कोरोनाको कारणले मात्र १५ जनाको मृत्यु नभएको जिकिर गर्दै उनले अरू देशको तुलनामा संक्रमित मध्ये मृत्यु हुनेको संख्या कम नै रहेको बताए।


प्रतिक्रिया दिनुहोस्