नेपालमा लकडाउनको मोडालिटी फेर्ने तयारी, मन्त्रिपरिषद बैठक बस्दै

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ५७


काठमाडौँ । नेपालमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भइरहेको छ। लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ।

दिउँसो २ बजे बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्ने स्रोतले जनाएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड-१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ। दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन जारी छ। लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि सरकारले लकडाउनलाई क्रमशः खुकुलो बनाउने तयारी गरेको हो।

यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । अन्तिममा दुबै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्