नेपालमा कोरोना संक्रमण, लकडाउन र अनुभव

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : १४


३१ डिसेम्बर २०१९ मा चीनमा कोभिड– १९ को पहिलो संक्रमण देखिएको थियो । १३ जनवारी २०२० मा चीनबाहिर पहिलोपटक थाइल्याण्डमा यो भाइरसको संक्रमण पुष्टि भयो । ११ मार्च २०२० सम्म पुग्दा यसले ११४ वटा मुलुकको भिसा लगाइसकेको र यसबाट करिब ७१ लाख ४२ हजार ४ सय ६२ भन्दा बढी संक्रमित र ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । महामारीको यही गम्भीरता र सम्वेदनशीलतालाई दृष्टिगत गरी विश्व स्वास्थ्य संगठनले विश्व महामारीको घोषणा गर्यो । यही बीचमा हाम्रो सरकार भने देश विदेशमा गएर नेपाल भ्रमण वर्ष प्रचारप्रसारमा नै व्यस्त देखिन्थ्यो । नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले कोरोनाले छुन नसक्ने भन्दै हामी सुरक्षित भएको आभाससम्म दिलाए । केहीले त कोरोनामुक्त देश समेत घोषणा गरेर पर्यटकहरुको आकर्षण बढाए ।

सरकारको महामारीविरुद्ध प्रतिक्रियाको शुरुवात भयो मार्च १८ साँझपख । भोलिबाट अर्थात मार्च १९ देखि शुरु भई अप्रिल ३ मा सकिने एसइइको परीक्षा स्थगन गरियो जहाँ ४,८२,७०७ जना परीक्षार्थी सहभागी हुँदै थिए । अन्तर्राष्ट्रिय र राष्ट्रिय नाकाहरु सिल गरेर, उच्च सतर्कता अपनाएर, अनावश्यक भिडभाड नगरी, एउटा केन्द्रमा बढीमा ३०० परीक्षार्थी, एउटा कक्षामा २०÷३० जना मात्र राखी, ५० जना विद्यार्थी बराबर एक जना नर्स राखी प्रत्येक केन्द्रमा स्वास्थ्य जाँच कक्ष राखी सबैको तापक्रम जाँच गर्ने व्यबस्था गरेर एसइइ परीक्षा सञ्चालन गर्ने पक्षमा माननीय शिक्षामन्त्री हुनुहुन्थ्यो । यो बेलासम्म मुलुकमा संक्रमित भेटिएका थिएनन् । तर, अरु मुलुकले लकडाउन गरिसके, नेपाल के हेरेर बसेको छ ? लाखौँ परीक्षार्थीलाई संक्रमित बनाउने ? विद्यार्थीहरुको स्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै शिक्षामन्त्रीमाथि ‘मानवता’को प्रश्नचिन्ह तेर्साइयो । मुलुकलाई कोरोनामुक्त बनाउने भन्दै एसइइ परीक्षासँगै ११÷१२ र विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरुसहित पठनपाठन नै अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगन गरियो । मुलुकलाई कोरोनामुक्त बनाउने हुटहुटी पनि मार्च २३ मा पहिलो संक्रमित पुष्टि हुनासाथ सकियो र भोलिपल्ट मार्च २४ बिहान ६ बजेबाट मुलुक एक हप्ताका लागि लकडाउनमा जाने भनी घोषणा गरियो जुन आजसम्म नै जारी छ ।
लकडाउन शुरु भएको दुईचार हप्तासम्मै विदेशबाट आएका नागरिकबाहेक अरु समुदायमा संक्रमण देखिएको थिएन र देशैभरिमा संक्रमितको संख्या औंलामा गन्न सकिने थियो । यो आँकडा हेर्दा घोषित समयमै परीक्षा सकेर लकडाउनको समय कपी जाँच र परीक्षाफल तयारी तथा प्रकाशनमा बित्ने थियो । एक हिसाबले फलदायी नै हुने थियो ।

त्यसपछि कसरी संक्रमण फैलियो त ? शुरुको २÷४ हप्ता त भारतबाट भित्रिन पनि सहज थिएन । भारतबाट आएका नागरिकहरुलाई पनि सीमाभित्र सहज आउन दिइएन भनेर फेरि सरकारमाथि नै ‘मानवता’को प्रश्नचिन्ह तेर्साइयो । त्यसबेला भारतमा अहिलेको जस्तो संक्रमण तीब्ररुपमा फैलिएको अवस्था थिएन । तर, अव्यवस्थित क्वारेन्टाइनमा राख्दै नागरिकहरुलाई सीमाभित्र ल्याइयो । समाजमा एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुनु भन्दै सूचना निकाल्ने सरकारले एउटै कोठामा त्योभन्दा बढी मान्छे राखेको खबर आयो । संक्रमण नभएकाहरु पनि सरकारको उपहारस्वरुप क्वारेन्टाइनमा बसेर संक्रमित भए । अब समाजमा भुसको आगोसरी संक्रमण सल्किरहेको छ ।

मुलुक कोरोनाको पहिलो चरणमा हुँदा उच्च सतर्कता अपनाएर परीक्षा गराउँछु भन्दा मानवता खोज्नेहरु मुलुक अहिले संक्रमणको तेस्रो चरणमा पुग्दा समेत विद्यार्थीहरुको भविष्यको बारेमा चिन्तित हुँदै चाँडोभन्दा चाँडो परीक्षा गराउन दवाव दिइरहेका छन् । लकडाउन खोल्न दवाव दिइरहेका छन् ।

तुलनात्मकरुपमा हामीले कुन चरणमा लकडाउन सुरु गर्यौं ? र, अब कुन चरणमा सहजीकरणतर्फ लाग्दैछौं ? सामाजिक संजालमा भेटिएको यो चित्र हेरेर आफै आँकलन गर्न सकिन्छ ।

आर्थिक, प्रशासनिक, शैक्षिक सबै क्रियाकलापहरु प्रायः ठप्प नै छन् । सबैतिर कोलाहल मच्चिएको छ । कोरोनाबाट कसैको मृत्यु हुन नदिने भनेर लागिपर्दा कस्तो तयारी गर्यौ ? के के गर्यौ ? यतिका दिनको लकडाउनले पनि संक्रमित बढ्दै नै छन्, मृतक पनि बढ्दै छन् भने यो लकडाउनको के अर्थ ? भन्ने प्रश्नको उत्तर सरकारले नै दिने हो । हिजो यसो गरेको भए हुने भनेर सुझाव दिनु अब बेकारझैं छ । तर यो अनुभव भोलिको दिनमा आउनसक्ने महामारीसँग लड्नका लागि ज्ञान भएको छ । यस्तो परिस्थितिमा अब के गर्ने हो ? अरु मुलुकको अनुभवबाट सिकौं । यसो गर्दैगर्दा हामीले आफ्नो धरातल पनि नबिर्सौं । टिके विज्ञ हैन, राम्रोसँग PUBLIC HEALTH, SOCIAL SCIENCE, EDUCATION, SOCIAL ENGINEERING, ECONOMICS  बुझेका, अभ्यास गरेका विज्ञहरुको कुरा सुनौं हैं । आगामी निर्णय गर्दा एकोहोरो कुनै एउटा शास्त्र र शास्त्री हावी हुन नदिऔं ।


प्रतिक्रिया दिनुहोस्