नेपालगन्जमा कोरोना संक्रमित गर्भवति महिलाको ठूलो आन्द्राको शल्यक्रिया गरियो

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ७ : १५


बाँके । कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित एक गर्भवति महिलाको ठूलो आन्द्राको शल्यक्रिया सफल भएको छ।

अछामको चौरपाटी गाउँपालिका की २५ वर्षिया ती महिलाको मंगलबार दिउँसो सफल शल्यक्रिया गरिएको हो। उनी १८ हप्ताकी गर्भवति हुन्।

भारतको मुम्बईबाट १० दिनअघि आएकी उनी अछामकै क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । विरामी भएपछि अछामको बयलपाटा अस्पतालमा उपचार गराएकी उनलाई सोमबार हेलिकप्टरमार्फत् कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज अस्पताल ल्याइएको थियो। अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो।

भर्ना गरिएकी बिरामीमा संक्रमण देखिएपछि मंगलबार अस्पतालको ओपिडी र इमरजेन्सीलगायत सबै सेवा बन्द गरी उनको शल्यक्रिया गरिएको थियो। उनको शल्यक्रिया सफल भएसँगै अस्पतालले बुधबारदेखि सबै सेवा सुचारु हुने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्