सम्मानीय प्रधानमन्त्री केपी ओलीज्यू,
नमस्कार !
अराम छु । आरामको कामना गर्दछु । तर दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नु भएको तपाईं अझै पनि सङ्क्रणको उच्च जोखिममा हुनुहुन्छ । कोरोना भाइरस पनि थपिएको छ । बच्नु होला । तपाईंको उच्च आत्म विश्वास र आत्मबल मनोबलको कदर सारा विश्वले गरिरहेका छन् । म पनि गर्छु ।
सारा विश्व समुदाय कोरोना महामारीसँग जुधिरहेको छ । नेपाल पनि कोरोनाबाट अछुतो छैन । तपाईंको मिर्गौला प्रत्यारोपण सकिँदा देशमा कोरोना भाइरस छिर्यो । सीमित स्रोत र साधन भएको नेपाललाई कठिन अवश्य नै छ । कोरोना नियन्त्रणमा गरिएको लकडाउनले अर्थतन्त्र कोमामा छ । अझै के कसो हुने हो अन्यौलग्रस्त छ । विपद व्यवस्थापनमा हाम्रो क्षमता पुनः एकपटक गम्भीर भएर सोच्नुपर्ने देखियो । लामो समयसम्म अव्यवस्थित शासन प्रणालीको परिणाम हो– शुन्य पूर्वतयारी । कुशासनले गुज्रिएको देशको बाघडोर फेरि दोस्रोपटक सम्हाल्नु भएको छ । चुनौतीको पहाड छ । तर धेरै सुधार, परिवर्तन र रुपान्तरण गर्ने अवसर पनि छ । राम्रो गर्नु होला । शुभकामना छ ।
प्रधानमन्त्रीज्यू, म तपाईको हजारौं शुभचिन्तक मध्येको एक हुँ । तपाईको नेतृत्वमा देशमा नयाँ परिवर्तन हुनेमा आशावादी हुनेहरुको जमातमा पर्छु । प्रथमपटक प्रधानमन्त्री हुँदा ज्यादै खुशी थिएँ । म लगायत सबै नेपालीहरुलाई आशा र भरोसा थियो । तर वर्ष दिनमै सरकार ढल्नु पर्यो । राजनीतिक अस्थिरताले सरकार फेरियो । फेरि चुनाव आयो, जनताले तपाईले नेतृत्व गरेको कम्युनिस्ट गठबन्धनलाई झण्डै २ तिहाई मत दिए । अहिले तपाईं नेकपाको अध्यक्ष र देशको प्रधानमन्त्री हुनुहुन्छ ।
तर आमजनता सन्तुष्ट र खुशी छैनन् । सरकारप्रति विश्वास छैन । किनभने पटक पटकको शासन व्यवस्थाले गरीब परिवारहरुको अवस्थामा परिवर्तन भएन । नीति कार्यक्रमहरुले गरीब जनताको दैलो पहिल्याउन सकेनन् । ती निमुखा जनताले राहत र विकासको महशुस गर्न सकेनन् । सहुलियत र फाइदा पुराउन सकेनन् । सरकारी स्रोतलाई अवसरवादी दलाल पूँजीवादीहरुले चुस्ने र आम जनता निरीह हुनुपर्ने अवस्था छ ।
प्रधानमन्त्रीज्यू, देशमा पटकपटक शासन व्यवस्था परिवर्तन भए । हरेक परिवर्तनहरुमा तपाईको देन पनि उल्लेख्य नै छ । सानो तिनो परिवर्तन त भए तर रुपान्तरण भएन । व्यवहारतः गरीब र निमुखामैत्री संवैधानिक या सामाजिक व्यवस्था निर्माण गर्न सकिएन । वर्ग विभाजन रोक्न सकिएन । वर्गीय दुरी झन झन बढ्दै गइरहेको छ । उदाहरणका लागि हाम्रो राजमार्गमा हुने दैनिक गतिविधिलाई हेरौं । सार्वजनिक बसले खाना खाजा खाने होटेल र छाप्रोहरुको कुरा गरौं । सानो कटौरामा आलु, तरकारी र सानो पुरी २ पिसको १५० रुपैयाँ । ४० या ५० रुपैयाँ भन्दा बढी नपर्ने खाजालाई १५० तिर्नुपर्छ । गुणस्तरहीन र महङ्गो हुनुको कारण अर्कै छ । गरीब जनतालाई लुटेर ड्राइभर र बस साहुलाई कमिसन दिने परिपाटीले जरा गाडिसकेको छ । यसरी गरीब जनता दिनहुँ लुटिइरहँदा हीनताबोध महसुस गरिरहेका छन् । राज्यविहीनताको महसुस गरिरहेका छन् । यस्ता सानोतिनो लाग्ने घटनाहरु धेरै छन् । दिनहुँ राजमार्गहरुमा लुटिने जनताका लागि कलङ्कीदेखि कोटेश्वरसम्मको बाटो पिच भएको कुराले कुनै अर्थ राख्दैन । तसर्थ, अधिकांश जनता खुशी र सन्तुष्ट छैनन् ।
अर्को कुरा, असमान अवस्थामा रहेको परिवार तथा वर्गहरुलाई समान व्यवहार गरेर मुक्ति हुँदैन । जसले असमानताको खाडल सिर्जना भइरहेको छ । विशेष व्यवस्था गर्नुपर्ने वर्गहरुलाई समान व्यवहार गरेर पन्छिनु उत्तरदायी भएको मानिँदैन । उदाहरणका लागि करीब ८ लाख भूकम्प प्रभावित घरधुरीहरुलाई दामासाहीरुपमा ३÷३ लाख अनुदान दिने नीतिनियम बन्यो । लखपति प्रभावितलाई पनि ३ लाख, १ टुक्रा जमिन र १ कौडी सम्पत्ति नभएकालाई ३ लाख दिने व्यवस्था भयो । ५ वर्षसम्म घर बनाउन नसक्नुको मुख्य कारण उक्त समान व्यवहार हो । भूकम्प गएको ६ महिनाभित्रमा भूकम्प प्रतिरोधी घर बनाइएको घरधुरीहरु पनि देखियो । अहिलेसम्म टहरामा बस्दै गरेको घरपरिवार खोज्न धेरै टाढा जानु पर्दैन । यो नीतिगत कमजोरी हो, अपरिपक्वता हो । सो प्रकारको कानुन निर्माणको दुर्बलताहरु हटाउनु पर्छ ।
प्रधानमन्त्रीज्यू, देशमा परिवर्तन र विकास भएको छैन भन्ने शब्द मात्र तपाईंको कानमा पर्यो भने तपाईंलाई बहुत झोंक चल्नसक्छ । तर अधिकांश जनता यो परिवर्तनलाई स्वभाविक र नियमित प्रक्रियाका रुपमा लिएका छन् । गरीब जनता जनजीविका र सेवासँग प्रत्यक्ष जोडिएको विषय र कार्यहरुमा रुपान्तरणको अनुभूति खोजी रहेछन् । सरकारको नीतिनियम र कार्यक्रमहरुले ती गरीब जनतालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा महशुस गर्नै सकिरहेका छैनन् । विगतको सरकार र यो सरकारमा फरक छुट्ट्याउन सकिरहेका छैनन् ।
नेपाली जनता सुशासनको पर्खाईमा छन् । वर्षौदेखि गरीवी र उत्पीडनको जालो तोड्न चाहन्छन् । नयाँ कार्यशैली र रुपान्तरणको पर्खाईमा छन । किनकि गरीब, शोसित तथा पिछडिएको वर्गको उन्नति र प्रगति हुनसकेको छैन । टाठाबाठाहरुले राज्यको स्रोत र साधनमाथि अधिकार जमाएको देखिन्छन् । थोरै व्यक्तिहरुलाई मात्र अधिकतम फाइदा पुगेको देखिन्छ । जसको मुख्य कारण वर्षौंदेखि प्राकृतिक स्रोतहरुको असमान वितरण हो । कोही जन्मिदा नै हजारौ हेक्टर जमिन हुने, कोहीको १ टुक्रा पनि जमिन छैन । कृषिजन्य कर्म गर्नेलाई राज्यले अनुदान या सहयोगको योजना र कार्यक्रम छ । तर, त्यो कार्यक्रमले भूमिहीन तथा गरीबहरुलाई कसरी फाइदा पुराउला ? ती भूमिहीन तथा गरीबहरुको उत्थानमा हाम्रो शासन व्यवस्थाले कसरी न्याय गर्ला ? गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
प्रधानमन्त्रीज्यू, राम्रो कुरा भनौं या नराम्रो भनौं, तपाईंको दम्पत्तिबाट सन्तान प्राप्त भएन । यसलाई म सकारात्मक हिसाबले लिन्छु । किनभने सन्तानमोहको कारण दक्षिण एशियाका थुप्रै राजनेताको तहमा पुगेका राजनीतिज्ञहरु पतन हुन पुगेका छन् । देशमा तपाईंका लाखौं छोराछोरी छन् । तपाईं सबैको पिता हुनुहुन्छ । तसर्थ, तपाईले गरीब जनताको भलाई हुने नीतिनियम र संस्कार बसाउन सक्नु भएन भने नेपाली छोराछोरीहरुको ठूलो मौका गुम्ने छ ।
युक्रेनका राष्ट्रपतिले भनेका छन्, ‘कार्यालयमा मेरो होइन आफ्ना बच्चाको तस्वीर राख्नू, निर्णय गर्दा तिनको आँखामा हेर्नू ।’ नेपालमा यसो गर्दा के फरक पर्ला ? सुब्बा खरिदारले करोडौं सम्पत्ति कुम्ल्याउन सक्ने प्रणालीले जरा गाडेको छ । सो भन्दा माथिका कर्मचारीहरुको कुरा छोडौं । भ्रष्टाचार, ढिलासुस्ती, नातावाद, कृपावाद, भ्रष्ट प्रवृत्ति र आचरण कहिले निर्मूल होला ? खराब नियतको मनोबल निर्मूल कहिले होला ? सरकारी कार्यालयमा हुने सोर्सफोर्सको अन्त्य कहिले होला ? साधारण काममा पनि झुलाउने, दुःख दिने, अल्मल्याउने छँदैछ । सुकिलामुकिलाको काम गराई अर्कै तरिकाले हुने गरेको छ । सरकारी अफिसहरुमा गरीब जनतालाई झुलाउँछन् । नमिठो बोली वचन प्रयोग गर्छन् । हेप्छन् । अहम्को भावना राख्दछन् । दलालहरुको अखडा जस्तो लाग्छ । अनि कसरी सर्वसाधारणहरुले राज्यको महशुस गर्लान् ? बलियो सरकार नभई यो जालो तोडिदैन भनेर नै जनताले तपाईं नेतृत्वको गठबन्धनलाई २ तिहाईको जनमत दिएको हो ।
एक भूतपूर्व अमेरिकी राष्ट्रपति हेरी यस ट्रमनले भनेका छन्, ुुत्जभ दगअप कतयउक जभचभू सबै उत्तरदायित्वहरु या निर्णयहरु या जवाफदेहिताहरु मेरो टेबलमा आएर रोकिन्छन् । सबै जसअपजस मेरो टेबलमा नै आउँछ । म सबै नतिजाको अन्तिम जिम्मेवार व्यक्ति हुँ । ट्रमनले भनेजस्तै तपाईं देशको प्रमुख कार्यकारी पदमा हुनुहुन्छ । सबै परिणामहरु सहर्ष स्वीकार गर्नुपर्छ । मैले थाहा पाएन । मलाई सहयोग गरेनन् । मेरो खुट्टा ताने । अवरोध भो । कर्मचारीले सहयोग गरेनन् । मन्त्रीले सहयोग गरेनन् । यी यस्ता कुरा भन्न पाउनु हुन्न । कि कारबाही गर्नुस्, कारबाही गर्न सकिँदैन भने कि पद छोड्नुस् । जनतालाई सबै सत्यतथ्य भन्नु । कारबाही र पुरस्कृत गर्ने परिपाटी विकास गराउनुस् । सहीलाई सही र गलतलाई गलत भन्नसक्ने अवस्थाको विकास गर्नुपर्छ ।
प्रधानमन्त्रीज्यू, मलाई पहिला लाग्थ्यो, गाउँ नै गाउँले भरिएको देशमा गाउँ विकास भए, देश त त्यसै विकास हुन्छ । गाउँलाई विकास गराउनु पर्छ । तर साहु सामन्तीले चुसेर छोडेको गाउँमा हातमुख जोर्न र आङ ढाक्न मुश्किल हुने जनता मात्र छन् । ती जनताले कसरी आफ्नो र गाउँको विकास गर्लान् ? राम्रो उब्जनी जग्गाहरु, वन जङ्गलहरु साहु सामन्तीहरुको नाममा छन् । गाउँका आशालाग्दा युवा युवतीहरु सुन्दर सपनाको खोजीमा विदेशिएका छन् । सकीनसकी दुःख गर्दैछन् । रगत पसिनासँग पैसा साट्दै छन् । कति काठको बाकसमा फर्केका छन् । कतिको आउँदा घर छैन । कति गम्भीर रोग बोकी फर्केका छन् ।
पुर्खौंदेखि शोसित जनताको जीवनचक्र परिवर्तन जटिल छ । तर, तपाईंलाई जनताले दिएको जनमत पुल, बाटो, घर, धारा बनाउन मात्र दिएका होइनन् । न्याय र समृद्धिको आशा र भरोसाले दिएका हुन् ।
प्रधानमन्त्रीज्यू, तपाईंको कार्यकालमा धेरै उतारचढावहरु आए । धेरै विपत्तिहरु आए । अहिले सिङ्गो विश्वसङ्गै नेपाल पनि कोरोनासँग लडिरहेको छ । कोरोनाले विश्व व्यवस्था र अर्थतन्त्रलाई असर पारेको छ । तर सबै देश र वर्गलाई समान असर परेको छैन । केही राष्ट्र स्वास्थ्य सामग्री तथा उपकरण, टेस्टिङ किट्स, पिपिई सेट आदि उत्पादन गरी बेचिरहेका छन् । कोही किनिरहेका छन् । नेपाल जस्तो देश ऋणधन गरी सो प्रकारको उपकरण तथा सामग्री किनिरहेका छन् । नेपाली जनतामा पनि समान प्रभाव परेको छैन । हुनेखाने थोरै छन् । हुँदा खाने धेरै छन् । शहरी क्षेत्रमा असंगठित तवरले ज्याला मजदुरी गर्ने, निर्माण क्षेत्रमा काम गर्ने, घरेलु श्रमिक, साना उद्यमी तथा व्यवसायीहरु चरम मर्कामा छन् । गाउँले परिवेश भएको हिसाबले लकडाउनको उल्लेख्य असर नदेखिएको हो । समस्या मध्यम परिवारमा सुरु भइसकेको छ । साना तथा मध्यम उद्यमी र व्यवसायीहरु सङ्कटमा छन् ।
ती विपत्तिहरु नेपालीको जीवनचक्र खल्बलाउन र तपाईंको परीक्षा लिन आएका हुन् । विपद आफैमा अवसर पनि हो । २ महिना नाघिसकेको लकडाउन अवधिमा विपद पूर्वतयारी आशातीत हुन सकेन । विपदको बहुआयामिक जोखिममा रहेको देशको विपद व्यवस्थापन प्रणालीबारे सबैलाई अवगत छ । तपाई नेतृत्वको सरकारले के फरक गर्नुभयो ? या गर्न सकिएन । किन गर्न सकिएन ? जनताले लेखाजोखा गर्दैछन् । उखानटुक्कामै भन्न थालिसकेका छन, ‘जुन जोगी आए पनि कानै चिरेका ।’
विगतमा राजा तथा शासकहरुलाई तिनका आसेपासेहरुले भ्रममै राखेका थिए । भ्रमणमा रहेका राजालाई खुशी बनाउन सुन्तला नफल्ने ठाउँमा रातारात फलेको सुन्तलाको बोट सारियो । ‘महाराज ! सबै जनता मज्जाले दूधभात खाएर बसेका छन्’ भन्ने आसेपासेहरुको युग थियो । तिनै आसेपासेहरुको गलत रिपोर्टिङले गर्दा नै राज्यसत्ता ढलेको उदाहरण छ । हालको आधुनिक युगमा पनि सो प्रकारको गन्ध देख्छु । गलत र चाकरीवादको अवशेष देख्छु । अधिकांश मान्छेहरु प्रधानमन्त्री अतिवादीहरुको घेरामा रहेको भन्छन् । अतिवादीहरु तपाईं र देशका लागि हानिकारक छन् । ती अवसरवादी अतिवादीहरुले गलत सूचना र व्याख्या गर्ने गर्दछन् । बच्नु होला । स्वविवेक प्रयोग गर्नुहोला ।
प्रधानमन्त्रीज्यू, दलाल पूँजीवादीहरुले राज्यको स्रोत र साधनहरुमाथि कब्जा जमाइसकेका छन् । यो नेपाली समाजका लागि सबैभन्दा खतरनाक र हानिकारक छ । अधिकांश गरीब नेपालीलाई पुनः दास बनाउने खेल हुँदैछ । नव सामन्तवादीहरु जन्मिने खतरा छ । जनताले प्रत्यक्ष सरोकार राख्ने शिक्षा र स्वास्थ्य सेवा निजीकरण भइसकेको छ । तीव्रगतिमा निजीकरण हुँदैछ । फरक फरक शिक्षा दिने र लिने वातावरण किन सिर्जना भयो ? किन मुनाफामुखी मात्र बन्यो ? देशको लागि सक्षम व्यक्ति उत्पादन गर्ने संस्थालाई कसले नियमन गर्ने ?
स्वास्थ्य सेवा त्यस्तै छ । धनीमानी मात्र बाँच्ने अवस्था छ । गरीब मनभरि पीडा बोकी धिक्कार गर्दै मर्नुपर्ने अवस्था छ । कोरोना सङ्कटमा ती प्राइभेट अस्पतालहरुले असली रुप देखाए । तर सरकारले न परिचालन गर्न सक्यो न कारबाही । सबै जनतालाई थाहा छ, यी जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु अहिले आएर बिग्रेको होइन । प्रजातन्त्र या लोकतन्त्र आएपछि निजीकरण भएका हुन् । पटक पटक कम्युनिस्ट सरकारहरुले थप मलजल गरे । अब तपाईंको दोस्रो कार्यकालमा के हुन्छ ? झिनो आशामा जनता छन् ।
देश एक व्यक्तिले मात्र बनाउने होइन । सबै जनता तथा राज्यको अङ्गहरु, निजी क्षेत्रहरु, विदेशी निकायहरुको साथ, सहयोग र सहकार्य चाहिन्छ । अहिले तपाई देशको कार्यकारी पदमा हुनुहुन्छ । जनमत छ । अधिकार छ । सबैलाई समेटेर देश समाज रुपान्तरणको अवसर छ ।
जसरी भारतका महात्मा गान्धीलाई सारा देशवासी र विश्व जगतले उच्च सम्मानका साथ हेर्ने गरिन्छ । भारतका सबै कार्यालयहरुमा गान्धीको तस्वीर झुण्डाउने गरिन्छ । सारा नेपालीहरु त्यस्तो राष्ट्रनायकको फोटो झुण्डाउन आतुर छन् । अन्य प्रधानमन्त्रीहरुको झै सिंहदरबारको एउटा कुनामा झुण्डिने फोटोको कुनै अर्थ छैन । जनताले ठूलो सपना र भरोसाका साथ २ तिहाईको जनमत दिएका हुन् । काम गर्न दिएन या सहयोग गरेन । अवरोध भयो । वाह्य तथा भित्री गलत दबाव भयो भन्ने छुट छैन । समयमै नेपाली जनतालाई प्रष्ट भन्नुपर्छ । गलत नियत राख्नु भो भने, पाप पक्का लाग्नेछ । अद्भुत तवरले २÷२ पटक मिर्गौला प्रत्यारोपण गरी नेतृत्व तहमा पुगेको खासै अर्थ हुने छैन ।
अन्तमा, देशको हरेक क्षेत्रले सुशासन खोजिरहेको छ । मूल नदी धमिलो भएपछि साना नदीनालाहरु सफा भएर केही फरक नपर्ने रहेछ । ‘जो चोर उसको ठूलो स्वर’ हुने रहेछ । खराब प्रवृत्तिको मनोबल उच्च हुने रहेछ । तपाईंले देख्ने सपना र आशाको मुनालाई निमोठिने रहेछ । गरीब जनतामाथि विश्वासघात हुने रहेछ । यदि साँच्चिकै व्यवहारमा सुशासन लागु भएमा, तपाईले देखेको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुनेछ । आम जनता सुशासनको किरणहरुसहितको सुनौलो बिहानीको पर्खाइमा छन् । कोरोना विपद र लिपुलेकले राष्ट्रिय एकता सिर्जना गरेको छ । सारा नेपालीहरुलाई देश निर्माणको महाअभियानमा सामेल गराउनु होला । सबैलाई विश्वासमा ल्याउनु होला । विश्वास दिनुहोला । तर मोडेल बिलकुल परिवर्तन गर्न जरुरी छ । त्यो आँट र साहस भएको नेताको रुपमा नेपाली जनताले केपी शर्मा ओलीलाई मानेका छन् । अझै आशा मारेका छैनन् ।
मिनेश गुरुङ
कास्की