कोभिड– १९ परीक्षणको वैकल्पिक उपाय हुनसक्छ : फोहरपानी जाँच

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ४ : ५४


चीनको हुवे प्रदेशको राजधानी वुहान शहरबाट शुरु भएको भनिएको कोभिड– १९ ले अहिले विश्वव्यापी महामारीको रुप लिएको सबैलाई अवगत नै छ । विश्वभर यस महामारीले ७० लाखभन्दा बढी जनसंख्या संक्रमित भएको छ भने मृत्यु हुनेको संख्या ४ लाख नाघिसकेको छ । नेपालमा मात्रै संक्रमितको संख्या साढे ३ हजार नाघिसकेको छ, जसमा १४ जनाले ज्यान गुमाइसकेका छन् । जनस्वास्थ्य मात्र नभई यस महामारीले विश्वमै ठूलो आर्थिक संकट निम्त्याएको छ । नेपालमा पनि महामारीको रोकथामका लागि बन्दाबन्दी भएको दुई महिना नाघिसकेको छ जसबाट देशले ठूलो आर्थिक भार बेहोर्नु पर्ने निश्चित नै छ ।

यस अवधिमा नेपालमा झण्डै साढे २ लाखको टेस्ट भइसकेको छ । तर कुल जनसंख्याको हिसाबमा यो संख्या निकै थोरै हो । सामान्य आर्थिक अवस्थामा फर्किनको लागि दैनिक हजारौंको संख्यामा परीक्षण गर्न जरुरी छ ।

अबको अर्को चरणमा आर्थिक गतिविधिलाई सामान्य राख्न भए पनि सरकारले बन्दाबन्दीको प्रकृतिमा केही फरक ल्याउन र स्थिति सामान्यतर्फ फर्काउन परीक्षणको संख्यामा उल्लेखनीय बृद्धि गर्नु अत्यावश्यक छ । हामीसित भएको स्रोतसाधन र जनताको अपेक्षाको कारणले पनि अबको दिनमा बन्दाबन्दीको प्रकृतिलाई परिवर्तन गर्नुपर्ने छ । जस्तै संक्रमण धेरै फैलिएको ठाउँमा थप कडाई गर्ने र कम देखिएको ठाउँमा खुकुलो पार्दै अगाडि बढ्ने । यस अवस्थामा राष्ट्रियस्तरबाट नै वैकल्पिक उपायहरुको समेत छानबिन हुन जरुरी छ ।

यस्तै एक वैकल्पिक उपायको रुपमा बेलायत जस्ता ठूला देशले ढलको परीक्षणबाट वस्तीकै कोरोना संक्रमणबारे छानबिन गर्ने रणनीति अपनाइरहेका छन् र सो सम्बन्धी अनुसन्धानलाई द्रूतगतिमा अघि बढाइरहेका छन् । संक्रमित मानिसले थुक्दा, दिसा गर्दा संक्रमित मानवमल ढलमा मिसिन जान्छ । हालसम्मको अध्ययनले देखाएअनुसार ढलबाट सोझै मानिसमा संक्रमण नहुने भएतापनि भाइरसको आरएनए भने ढलको परीक्षणमा देख्न सकिने वैज्ञानिकहरु बताउँछन् । यदि यसरी संक्रमण परीक्षण गर्न सकिए, थोरै परीक्षणबाट नै ठूलो वस्तीमा भाइरसको संक्रमण रहे÷नरहेको ठम्याउन सकिन्छ । यसले उल्लेखनीयरुपमा संक्रमित जनमानसको संख्या थाहा दिने र बस्तीअनुसार जोनिङ्ग ९शयलष्लन० गर्न पनि सहज तुल्याउने छ । कुनै बस्तीको ढलमा संक्रमण नदेखिए सो बस्तीलाई बाहिरी प्रभावबाट बन्देज गराई बस्तीमा भने बन्दाबन्दी निकै हदसम्म खुकुलो गर्न सकिन्छ । यसले पूरै देशलाई नै सामान्य आर्थिक अवस्थामा फर्काउन मार्गदर्शन गर्न सक्दछ । यस्तो अनुसन्धान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानबाट गर्न सकिन्छ ।

बिभिन्न अनुसन्धानले मानवमलमा भाइरसको ट्रेसमात्र भेटिने पुष्टि गरेपछि नेदरल्याण्डको केडव्लुआर वाटर रिसर्च इन्स्टिच्युटले अप्रिलमा पहिलोपल्ट ढलको पानीको परीक्षणबाट ढलमा समेत कोरोना भाइरसको आरएनए रहेको पुष्टि गरेको थियो । अन्तर्राष्ट्रिय पत्रिका ‘नेचर’ले ३ अप्रिल २०२० मा प्रकाशन गरेको एक लेख अनुसार, हाल संसारभर एक दर्जनभन्दा बढी अनुसन्धान समूहहरुले ढलको पानीको परीक्षण गरिरहेको जनाएको छ । सो अनुसन्धानले कुनै पनि वस्तीमा ढलको परीक्षण मात्रले पनि कोरोना संक्रमितको संख्या पत्ता लगाउने उपाय खोज्न अध्ययन भइरहेको जनाएको छ । यसका साथै हालसम्म वैज्ञानिकहरुले नेदरल्याण्ड, अमेरिका र स्वीडेनमा ढलको पानीमा कोरोना भाइरसको आरएनए ट्रेस गरिसकेको पनि सो लेखमा उल्लेख गरिएको छ । यस नतिजाबाट कोरोना भाइरसको परीक्षण र दीर्घायु नियन्त्रणको सन्दर्भमा नयाँ आयाम थपिएको विज्ञहरुको ठम्याई छ ।

यसै सन्दर्भमा काठमाडौँ विश्वबिद्यालय, वातारण इन्जिनियरिङ विभागका प्राध्यापक तथा विश्वविद्यालय अनुदान आयोगका सदस्य डा. विकास अधिकारीका अनुसार हाल संक्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका जनमानसको मात्र टेस्ट गरिएको हुँदा यही पद्धतिमा परीक्षण गरिरहने हो भने सहज आर्थिक र जनस्वास्थ्य स्थितिमा फर्किन अझै निकै समय लाग्नेछ । नेपाल जस्तो सीमित स्रोत भएको देशमा ढलबाट कोरोना संक्रमणको अवस्था एकिन गर्न सकिए ठूलोस्तरमा परीक्षण गर्न सहज हुने देखिन्छ । यस वैकल्पिक परीक्षणलाई सरकारको समन्वयमा विश्वविद्यालयहरुले थप अनुसन्धान गर्न जरुरी छ । यस्तो अनुसन्धानको नेतृत्व नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले लिन सक्दछ, जससँग यो अनुसन्धानमा चाहिने परीक्षण उपकरण र जनशक्ति पनि उपलब्ध छ । साथै, यसको कार्यान्वयनको निम्ति हामीसँगै भएको स्रोतसाधन र जनशक्तिको उचित प्रयोग गर्न सकिन्छ ।

जनसंख्याको हिसाबमा निकै सानो स्तरमा भइरहेको टेस्टिङलाई हेर्ने हो भने हाल सार्वजनिक भइरहेको कोरोना संक्रमितको संख्या यथार्थभन्दा कम रहेको अनुमान गर्न सकिन्छ । ढलको पानीबाट कोरोनाको परीक्षण गर्दा एउटा नमूना परीक्षणबाट नै पूरै समुदायको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिन्छ । यस अनुसन्धान विधिले कस–कसलाई कोरोना लागेको छ भन्ने जानकारी दिन नसक्ने भएतापनि कुन नगरपालिका र कुन वडामा यो भाइरस सर्कुलेट भइरहेको छ भन्ने राम्रो हेक्का दिन सक्दछ । मानिसमा भाइरसको संक्रमणको लक्षण देखिनुअघि नै ढलमा भाइरसको ट्रेस फेला पर्ने र सम्बन्धित निकायले पूर्व जानकारी प्राप्त गर्नेछ ।

नियमित अनुसन्धानले संक्रमित क्षेत्रमा भाइरसको संक्रमण घट्दो या बढ्दो के अवस्थामा छ भन्ने पनि खुलाउन सहयोग गर्नेछ । यसका साथै भाइरसको दोस्रो वेभको तयारीमा समेत यस किसिमको अध्ययनले महत्वपूर्ण भूमिका खेल्नसक्ने देखिन्छ ।

ढलको पानीमा गरिने परीक्षणबारे फोहोर पानीमा भाइरल संक्रमण के छ भनेर जाँच्ने पुराना अभ्यासहरुकै आधारमा अहिलेका अनुसन्धानहरु भइरहेका छन् । बिगतमा पनि यस्तै बिधिहरु पोलियो भाइरस, हेपाटाइटिस भाइरस, नोरो भाइरस जस्ता रोगजनक तत्वहरुको प्रकोप पत्ता लगाउन प्रयोग भएका थुप्रै उदाहरणहरु छन् तर कोरोना भाइरसको हकमा पनि यो विधिलाई मान्यकरण तथा प्रमाणिकरण गर्न जरुरी छ । यही नै यसको चुनौती हो तर यसो गर्न सकेको खण्डमा पूरै जनसंख्यामा कोरोना भाइरसको प्रसारको बारेमा बहुमूल्य अतिरिक्त जानकारी प्रदान गर्नसक्ने उपकरणको रुपमा विकास गर्ने अवसर मिल्नेछ ।

लेखक वातावरण इन्जिनियर हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्