हुलाकी सडक आयोजनाको काममा संलग्न पाँच स्काभेटरमा आगजनी

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ३ : ४१


शिवु खनाल
दाङ । जिल्लाको देउखुरीमा अज्ञात समूहले पाँचवटा स्काभेटरमा आगजनी गरेको छ । दाङको गढवा गाउँपालिका वडा नं. १ जेठानगाउँस्थित राप्ती नदीको किनारमा पार्किङ गरेर राखिएका पाँचवटा स्काभेटरमा आगजनी भएको हो ।

आगजनीबाट चारवटा स्काभेटर पूर्णरुपमा जलेर नष्ट भएको, एउटामा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिनुभयो । घटनास्थल पुग्नुभएका प्रहरी उपरीक्षक चन्दले घटनाको छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

उपरीक्षक चन्दले भन्नुभयो, ‘यो एक्लो व्यक्तिबाट सम्भव छैन् । पाँच÷छ जनाको समूहमा रहेका व्यक्तिले आगजनी गरेको हुन सक्छ ।’ आगजनीमा संलग्नको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ । बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट स्काभेटरमा आगनी गरिएको छ । जसमध्य एउटामा आंशिक क्षति पुगेको छ भने, बाँकी चारवटा पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

कल्याणकोट–कालाकाटे–गढवा–सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न स्क्याभेटरमा आगनी गरिएको हो । ‘राति त्यही १ बजेको थियो’, निर्माण कम्पनीका प्रतिनिधि बलबहादुर चपाईले भन्नुभयो, ‘एक्कासी आगो सल्किएको देखेपछि निभाउने प्रयास गरेपनि सकिएन ।’ उहाँले भन्नुभयो ‘सवारीसाधन जोगाउन सकिएन ।’ । बर्षाका कारण नदीमा भल आएकाले ३ दिनदेखि निर्माण कार्य रोकिएपछि स्काभेटर पार्किङ गरेर राखिएको थियो ।’ घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुको संलग्नता हुनसक्ने आशंका गरिए पनि अहिलेसम्म पहिचान हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्