‘कोरोनाको भयभन्दा समाजको त्रास बढी’

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १ : ३९


कपिलवस्तु । समाचार सङ्कलनकै क्रममा कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेका कपिलवस्तुका दुई सञ्चारकर्मीलाई निको भएपछि आइतबार डिस्चार्ज गरियो।

सत्र दिन जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा बसेका सञ्चारकर्मीलाई बिदाइ हुँदै गर्दा कुनै युद्ध जितेर फर्किन लागेको जस्तो अनुभव भयो । “कोरोनाको भयभन्दा समाजको त्रास बढी हुने रैछ”, कपिलवस्तु ‘दर्पण’ र ‘उज्यालो’ पोष्टमा आबद्ध २९ वर्षीय सञ्चारकर्मीले भन्नुभयो, “वनको बाघले नखाए पनि मनको बाघले खाने रहेछ।”

जेठ ९ गते बिहानको समयमा कोरोनो पोजेटिभ भएको थाहा पाएपछि उहाँ कार्यालयमै क्वारेन्टिन बनाएर बस्नुभएको थियो । “म कार्यालयमै भएँ, घरमा श्रीमती र चार वर्षीया छोरी भाडाको कोठामा कैद भएर बस्नुप¥यो”, उहाँले भन्नुभयो।

कोरोना सङ्क्रमण हुनुअघि फिल्डमा जाने समाचार सङ्कलन गर्ने र घरपरिवारसँगै बसेको बानी लामो समय बाहिर बस्दा कोठामा रहेका आफ्नो परिवारको यादले सताउने गरेको उहाँले सुनाउनुभयो । “कार्यालयमा आउँदा भान्सामा आफैँ चिया पकाएर खाने गर्थे तर अचानक कार्यालयका सबै ठाउँ मेरा लागि प्रतिबन्ध जस्तै भए”, उहाँले भन्नुभयो, “रिपोर्ट पोजेटिभ आएपछि एउटै कार्यालयमा काम गर्नेलेसमेत फरक व्यवहार गरे।”

आफू सङ्क्रमित भएपछि परिवार र आफ्नो सम्पर्कमा रहेकाले व्यहोर्नु परेको तनावले उहाँलाई अझै चिन्तित बनायो । तरपनि आठ दिनमा परिवार तथा सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएको उहाँँको भनाइ छ ।

आइसोलेशनमा बस्दाको समयमा विभिन्न विषयमा सरोकारवालासँग अनलाइन छलफल गरी संवाद गरेको सुनाउँदै उहाँले आइसोलेशनमा रहँदा पनि समाचार सम्प्रेषण गर्दा थप ऊर्जा मिलेको बताउनुभयो । आइसोलेशनमा रहँदा हुनै समस्या नभएपनि संक्रमित पुष्टि भएको सात घण्टासम्म आफनो अवस्था बुझ्न कोही नआउँदाको क्षणले भने उहाँलाई झस्काइरहन्छ । वाणगङ्गा–११ भडिहवाका २४ वर्षीय सञ्चारकर्मीको अनुभव पनि उस्तै छ । कपिलवस्तु सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो÷टेलिभिजन बुद्ध आवाजमा आबद्ध उहाँलाई समाचारका लागि फिल्डमै गएका कारण कोरोना भाइरसबाट सङ्क्रमित भएको हो । जेठ ५ गते पिसिआर परीक्षण गराएकामा चार दिनपछि रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो ।

“एकाएक सबै ठाँउमा हल्ला शुरु भयो फोनको घण्टी लगातार बज्न थाल्यो । सङ्क्रमित भएको नौ घण्टासम्म आफू कहाँ जाने के गर्ने अत्तोपत्तो थिएन्”, उहाँले भन्नुभयो, “करिब रातिको ८ः३० मा एम्बुलेन्समा राखेर माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा पु¥याइयो।”

कोरोना भाइरस सङ्क्रमणबारे समाजमा फैलिएको अनावश्यक त्रासले परिवारमा तनाव भएको उहाँको भनाइ छ । “सङ्क्रमित भएपछि कसैले बर्बाद भयो भनेर डराई दिन्थे त कसैले उच्च मनोबल बनाउनुपर्छ भनेर हौसला दिने गर्थे”, उहाँले भन्नुभयो, “यसो त शरीरमा कुनै प्रकारको लक्षण देखिएको थिएन्।”

कोरानो भाइरसभन्दा समाजमा जबर्जस्ती फैलाएको भय र भ्रम नै डरलाग्दो भाइरस भएको उहाँको भनाइ छ । आइसोलेशनमा बस्दा नियमित खानपिन तथा स्वास्थ्यमा बढी ध्यान दिएको बताउँदै उहाँले अधिकतम मनतातो पानी, उमालेको अदुवा, बेसार र कागती पानी पिउने गर्यौँ, यसरी पिउँदा शरीरको रोगसँग लड्ने क्षमता बढ्ने रहेछ । भिटामिन डीका लागि बिहानीपखको घाममा बस्ने गरेका थियौँ”, उहाँले भन्नुभयो।

शुरुमा आइसोलेशनमा जाँदा डराए पनि बिस्तारै उहाँलाई बानी परेको थियो । आइसोलेशनमा बस्दाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “त्यहाँ बस्दा के होला, कस्तो होला भन्ने मनमा धेरै कुरा खेलेको थियो । दिनभर सामाजिक सञ्जालमा समाचार, भिडियो हेरिरहन्थे, घर परिवारसँग फोनमा कुराकानी गरिरहन्थेँ, उहाँहरुको मनोबल बढाउने र आफूलाई केही नहुने कुरा गर्थे, यसो गर्दागर्दै १७ दिन कसरी बित्यो पत्तै भएन्।”

दोस्रो चरणमा भएको पिसिआर परीक्षणको रिपोर्ट जेठ २५ गते दिउँसो १ बजे आयो। नतिजा नेगेटिभ आएपछि कार्यालयका सबैलाई फेसबुक गुप्रबाटै जानकारी गराएको उहाँले बताउनुभयो। “यता सत्र दिनदेखि प्रतिबन्ध रहेको कार्यालयको भान्सा मेरा लागि खुल्यो भन्ने कुराले खुशी लागेको थियो”, उहाँले भन्नुभयो।


प्रतिक्रिया दिनुहोस्