गाँजा खेतीबारे सोध्दै खतिवडाले गरे गृहमन्त्रीलाई यस्तो छेडछाड (भिडियोसहित)

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ५ : १३


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गाँजा खेतीबारे प्रश्न गर्दै गृहमन्त्री रामबहादुर थापा बादलमाथि छेडछाड गर्नुभएको छ । आफूले बारम्बार गाँजा खेतीबारे प्रश्न गरेको बताउँदै त्यस्तो छेडछाड गर्नुभएको हो ।

‘गृहमा हाम्रो मन्त्रीज्यूलाई गाँजा खेतीको बारेमा धेरैचोटी ध्यानाकर्षण गराएँ । यो कानुन कहिलेसम्म संशोधन गर्दै हुनुहुन्छ ? मन्त्रीज्यूको ध्यानाकर्षण त्यसतर्फ गराउन चाहन्छु ।’ यति भनेर सांसद खतिवडाले थप्नुभयो, ‘हुन त कैयौं मन्त्रीहरु धेरै बोलेर बिग्रिन्छन् । हाम्रा गृहमन्त्रीज्यू बोल्दै नबोलेर समस्या । बीरबल हाँस्यो भने पानी पर्छ भन्थे, हाम्रो मन्त्रीज्यू बोल्यो भने पानी पर्छ । तर, फरकचाहिँ के छ भने बीरबल हाँस्दाखेरी बादल नभए पनि पानी पर्छ । हाम्रा मन्त्रीज्यू हाँस्दा चाहिँ बादलसहितको पानी पर्छ ।’

यसरी छेडछाड गरेपछि सांसद खतिवडाले स्थानीय तहमा कोरोना महामारी, क्वारेन्टाइनको व्यवस्थापन र राहतबारे बोल्नुभएको थियो । उहाँले आफूहरु सबै जेलमा बसेर आएको स्मरण गर्दै जेल सुधारको विषयमा पनि गृहमन्त्री बादलको ध्यानाकर्षण गराउनु भएको थियो ।

सांसद खतिवडाले बोलिरहँदा गृहमन्त्री रामबहादुर थापा बादल भने मुसुक्क मुसुक्क हाँसिरहेका देखिनुहुन्थ्यो ।

(भिडियोसहित)


प्रतिक्रिया दिनुहोस्