कमलरीको कारुणिक व्यथा र साहसिक संघर्षको कथा : चलचित्र लावाजुनी

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


बाबा आमाको आँखाभरि बलिन्द्रधारा आँसु, छोरीको पनि चौधारा आँसु । छोरी आँसु बगाउँदे बिलौना गरिरहेकी छन, ‘बाबा म जान चाहन्न । म तपाईंकै काखमा बस्न चाहन्छु । म स्कुल जान चाहन्छु । म पढ्न चाहन्छु बाबा । कमलरी बन्न चाहन्न । मलाई नपठाउनू बाबा !’ तर विवश छन् बाबाआमा पनि आफ्नो मुटुको टुक्रा छोरीलाई पराई जमिन्दारको हातमा सुम्पिन । आमाका आँखाबाट बगिरहेका आँसुले अर्कै भाव बोलिरहेका छन् तर मुखबाट आमाको वाक्य निस्कन्छ, ‘त्यसो नभन छोरी । तिमी गइनौ भने हाम्रो घर खर्च कसरी चल्छ ? जाऊ छोरी जाऊ …।’

उता मुटु पिरो पारी बाबाले पनि रुखो बचन बोल्छन् ‘तँ गइहाल छिटो…।’ सञ्चारकर्मी मित्र केएल पीडितको लेखन र निर्देशनमा आएको चलचित्र ‘लावाजुनी’ भित्र रहेको एउटा कारुणिक दृश्य थियो यो । कमैया÷कमलरी प्रथाको कुचक्रभित्र रुमल्लिएको नेपालका भूमिपुत्र मानिने थारु समुदायभित्रको यथार्थ कथा समेटेर आएको चलचित्र ‘लावाजुनी’ हेरिसकेपछि केही नलेखी बस्न मनले मानेन । आखिर कस्तो छ त चलचित्र लावाजुनी ? मुलरुपमा कस्तो सन्देश बोकेको छ यसले ? तिनै प्रश्नहरुको सेरोफेरोमा रहेर यहाँ उक्त चलचित्रको सामान्य समीक्षा गर्ने प्रयत्न गरिएको छ ।

कथा सङ्क्षेप
दाङ जिल्लामा रहेको थारु समुदायभित्रको एक गरिब परिवार दुखीरामकी छोरी हुन् रीता चौधरी । गरिबी र ऋणको भारीले थिचिएको त्यो परिवार अञ्जान जमिन्दारको घरमा कमलरी बन्न छोरी रीतालाई पठाउन विवश हुन्छ । उता जमिन्दारको घरमा रीताको नारकीय कमलरी जीवन शुरु हुन्छ । यता आमा बाबाको मनमा छोरीको सम्झनाको आँधीहुरी चलिरहन्छ । रीतामाथि जमिन्दार्नीले अमानवीय व्यवहार गर्न थाल्छिन् । आफूले मिठा मिठा परिकारहरु खान्छन् तर रीतालाई पशुले खाने खाना दिइन्छ । लुगा धुने, भाँडा माझ्ने, घर पोचा गर्ने, मालिककी छोरीलाई स्कुल पुराउने यस्तै काम गर्छिन् रीताले । मालिक्नीले अमानवीय व्यवहार गरे पनि उनकी सानी छोरीले चाहिँ लुकीछिपी सहयोग गरिरहन्छिन् रीतालाई । उता, त्यस्तै कमलरी बसेकी रीताकी दिदी जमिन्दारकै घरमा बलात्कारको शिकार हुन्छिन् । उनी भागेर बाबाआमा भएको ठाउँमा आउँछिन् र आफ्नो ब्यथा बिसाउँदै । उनले अब आफू कमलरी बस्न नजाने बताउँछिन । तर बाबाआमाले उनको ब्यथा बुझ्दैनन् र कमलरी बन्न जान कर गर्छन । नारकीय त्यो कमलरी जीवनमा फर्कन उनको मनले मान्दैन । आखिर बाध्यताको भुमरीमा परेकी उनले आत्महत्या गर्न पुग्छिन् । यता गाउँमा कमलरी प्रथाका बिरुद्धमा अभियन्ताहरुले सचेतनाको अभियान चलाइरहेका हुन्छन् । त्यही अभियानबाट रीताका बुवा दुखीराम पनि सचेत हुन्छन् । उनले जमिन्दारको घरबाट छोरी रीतालाइ फिर्ता लिएर आउँछन् । सामाजिक अभियन्ताहरुले नै रीतालाई स्कुल जाने ब्यवस्था मिलाइदिन्छन् । रीताले पढाइमा प्रगति गर्दै जान्छिन् । यसरी कमलरीको नारकीय जीवनबाट मुक्त हुँदै रीताले नयाँ जीवन पाउँछिन् । कथाको सार सङ्क्षेप यही हो ।

चलचित्रमा रीताको भूमिका वर्षा लम्साल, रीताका बुवा दुखीरामको भूमिका छबिलाल चौधरी ‘कोपिला’, आमाको भूमिका सुशीला चौधरी, जमिन्दारको भूमिका ज्वाला देवकोटा, जमिन्दारकी श्रीमतीको भूमिका अनिता महतरा, आत्महत्या गर्न विवश कमलरी युवतीको भूमिका निश्मा ओली र जमिन्दारकी छोरीको भूमिका बालकलाकार सुप्रिया देवकोटाले निभाएका छन् । नाटक या चलचित्रमा जुन पात्रको भूमिकामा कलाकार उभिन्छ, त्यसको वास्तविक चरित्रलाई आफूमा उतार्न सक्यो भने मात्र उसको अभिनयमा जीवन्तता र वास्तबिकता झल्कन सक्छ । चलचित्र या नाटक हेर्ने दर्शकलाई नाटक गरिएको या अभिनय गरिएको जस्तो होइन वास्तबिक घटनाका वास्तविक पात्रहरु नै आफ्ना अगाडि उपस्थित भएजस्तो अनुभूति दिलाउन सक्नु नै कुनै पनि कलाकारका लागि त्यो सफल अभिनय मान्न सकिन्छ । लावाजुनीभित्रका कलाकारहरुको अनुहार हेर्दा सबै कलाकार चलचित्रमा नयाँ जस्तो लाग्छ तर उनीहरुको अभिनय हेर्दा भने नयाँ र शिकारु जस्तो कोही पनि लाग्दैनन् । प्रायः सबै कलाकारहरुको अभिनयमा खोट लगाउने कतै ठाउँ भेटिदैन । सबैले आआफ्नो भूमिकाप्रति न्याय नै गरेका छन् । चलचित्र लावाजुनीमा कलाकारहरुको अभिनय हेर्दा यस्तो लाग्छ, ती कुनै व्यवसायिक कलाकार होइन दाङ जिल्लाका थारु बस्तीका वास्तविक पात्रहरु नै हुन् । सम्वादहरु प्रायः सबै मर्मस्पर्र्शी खालका छन् । रीतालाई कमलरी बस्न पठाउँदाको दृश्य, मालिक्नीले रीतामाथि गरेको अमानवीय व्यवहार, छोरीको सम्झनामा राति पनि निदाउन नसकेर तड्पिरहेका बाबाआमाको त्यो अवस्था चलचित्रमा हेर्दा कुनै पनि दर्शकले आँसु नझारी बस्न सक्दैन ।

चलचित्र हेर्न थालेपछि दर्शकको मनलाई दृश्यहरुले अन्त्यसम्म नै तानेर लैजान्छन् । थारु सँस्कृति झल्कने प्रशस्त दृश्यहरु चलचित्रमा रहेका छन् । केएल पीडितकै शब्द र सन्तोष श्रेष्ठको सङ्गीतमा चलचित्रभित्र रहेका गीतहरुमा कोमल ओली, कुलानन्द गिरि, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी जीसी र याङ्शु श्रेष्ठले स्वर दिएका छन् । गीतहरु पनि प्रायः सन्देशमूलक नै रहेका छन् । पहल नेपालको ब्यानरमा निर्माण भएको यो चलचित्र हालै ‘उत्सर्ग नेपाल’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

चेतनामूलक चलचित्र :
व्यवसायिक मुनाफाको प्रलोभनले गर्दा समाजमा विकृति र विसङ्गतिलाई प्रोत्साहित गर्ने खालका मसलाहरु बोकेर आउने चलचित्रहरुको बोलबाला रहेको बजारमा ‘लावाजुनी’ एक सामाजिक चेतनामूलक चलचित्रको रुपमा आएको छ । यो सामाजिक यथार्थ घटनामा आधारित चलचित्र हो । आमा, दिदीबहिनीहरुसङ्गै बसेर यो चलचित्र हेर्न सकिन्छ । व्यवसायिक मुनाफाको होइन सामाजिक सुधारको निःस्वार्थ भाव यो चलचित्रले बोकेको देखिन्छ । कुनै काल्पनिक कथा होइन चलचित्रले हाम्रो समाजभित्र रहेको एउटा कुप्रथाको यथार्थ चित्रण गरेको छ ।

सामाजिक कलङ्कको रुपमा रहेको कमैया प्रथा उन्मूलनको घोषणा नेपालमा २०५७ साल साउन २ गते गरिएको थियो । २०५८ सालमा कमैया राख्ने प्रथालाई दण्डनीय अपराध मान्दै ऐन पनि निर्माण भयो । तर, त्यो घोषणा पनि सरकारले निरन्तरको जनदबाबपछि बाध्य भएर मात्र गरेको थियो । कम्लरी पनि कमैया नै हुन् तर कमैया मुक्तिको घोषणापछि पनि थारु जातिका छोरीहरुलाई ऋण चुक्ता गर्न वा अन्य प्रलोभन देखाएर घरमा मालिकहरुले काम कजाउने गरिरहे । त्यसैले समाजमा कम्लरी मुक्त आन्दोलन निरन्तर चल्दै गयो । निरन्तरको जनदवावपछि आखिर २०७० असार १३ गते नेपाल सरकारले कमलरी मुक्तिको घोषणा समेत गर्यो । यी सबै घोषणा जनचेतनामा भएको अभिवृद्धि र दवावमूलक आन्दोलनकै कारण सम्भव भएका थिए । नेपालमा कानुनीरुपमा कमैया÷कम्लरी प्रथाको उन्मूलनको घोषणा गरिए पनि व्यवहारिकरुपमा ती घोषणाहरुले अझै मूर्तरुप लिन सकेका छैनन् । हो, केही मुक्त कमैया र कमलरीहरुले आफू जमिन्दारको पिंजडाबाट मुक्त भइसकेपछि अध्ययन गर्ने र सीपमूलक काम गर्ने अवसर प्राप्त गरे र तिनीहरुको जीवनस्तर सुधारिएको पनि छ । तर सबै मुक्त कमैया कमलरीहरुको अझसम्म पनि उचित व्यवस्थापन हुनसकेको छैन । आफ्नो पसिनाले जमिन्दारको भकारी भरेका कमैयाहरुलाई तिनै जमिन्दारको जमिनबाट छुट्टाएर जमिन दिइनु पथ्र्यो । तर, सरकारले त्यसो गरेन । कमैया कमलरीमाथि ज्यादति गर्ने जमिन्दारहरुलाई सरकारले उचित कारवाही गर्नुपथ्र्यो । त्यो पनि हुन सकेन । ती मुक्त कमैया कमलरीहरुमध्य धेरैले अहिले पनि ‘घर न घाट’को जिन्दगी बिताइरहेका छन् । यसरी हामीले देख्छौं– समाजमा कमैया÷कमलरीहरु पूर्ण मुक्ति अझै भइसकेको छैन । बरु उनीहरु शोषणका नयाँ नयाँ जालहरुमा परिरहेका छन् । ती सबै जालहरुलाई च्यात्नका लागि देशमा अझै पनि सचेतनापूर्ण अभियान र दवावमूलक आन्दोलनको खाँचो रहेको छ । चलचित्र ‘लावाजुनी’ले पनि त्यही खाँचोलाई औंल्याएको छ ।

अन्त्यमा, आगामी दिनमा पनि यस्तै जनपक्षीय चलचित्रहरुले निरन्तरता पाउन् भन्ने अपेक्षाका साथ नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष एवं कुशल लेखक र निर्देशक केएल पीडितलगायत यो चलचित्र निर्माण गर्ने सम्पूर्ण युनिटलाई हार्दिक बधाईका साथ जनचेतनामूलक सामाजिक चलचित्र ‘लावाजुनी’को उच्च सफलताको कामना !

चलचित्र ‘लावाजुनी’ हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्