गोरखामा लोपोन्मुख तामे सालक भेटियो

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


गोरखा । गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो।

फेला परेकोे उक्त सालकलाई वन कार्यालयबाट गएको टोलीले उद्धार गरेको उहाँले बताउनुभयो। “शनिबार फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उहाँले भन्नुभयो। सालकको आहारा कमिला तथा धमिरालगायतका किरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उहाँको भनाइ छ।

यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको बताइन्छ। यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने उहाँले जानकारी दिनुभयो। उद्वार गरिएकोे सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको उहाँले बताउनुभयो।

यसअघि यही जेठ ५ गते पनि जिल्लाको पालुङटार नगरपालिका वडा नं १० मिरकोट रहेको स्थानीय देउराली सामुदायिक वनमा मृतावस्थामा तामे सालक फेला परेको थियो। विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने उहाँको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्