अन्तरजातीय विवाह गरेको क्रान्तिकारी जोडी : १३ औं विवाहोत्सवमा श्रीमतीको यस्तो भावुक पत्र

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : २३


काठमाडौं । अन्तरजातीय प्रेमसम्बन्धकै कारण रुकुम पश्चिममा जघन्य हत्या प्रकरणको चर्चा उत्कर्षमा छ । यहीबीचमा अन्तरजातीय विवाह गर्ने सफल जोडी पनि यही समाजमा छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सविन पोख्रेल र सम्झना विकको ‘अन्तरजातीय र क्रान्तिकारी विवाह’ भएको आज १३औं वर्ष पूरा भएको छ । यही अवसरमा श्रीमती सम्झना विकले आफ्ना भूमिगत श्रीमानलाई एउटा भावुक पत्र लेखेकी छन् ।

प्रिय जीवनसाथी सबिन,

हाम्रो सहयात्राले १३औं बर्ष पार गर्यो । समाज परिवर्तनको महान यात्रामा जनयुद्धले जुराइदिएको हाम्रो सम्बन्ध जनयुद्धकै सपनाको अटुट साक्षी बनेर बसिरहँदा छाती गर्वले फराकिलो हुन्छ । चुनौतीका अनेकौं पहाडहरु पार गर्दै सामाजिक रुपान्तरणको अभियानमा हेलिइरहने कुरा सजिलो नभए पनि असम्भव पक्कै छैन ।

हामीले समाजमा व्याप्त शोषण, विभेद, अन्धविश्वास, रुढिग्रस्त परम्परा र मूल्यमान्यतालाई निषेध गर्दै प्रगतिशील जनवादी अन्तरजातीय विवाह गरेका थियौं । हाम्रो विवाहले सामाजिक न्याय, समानता, उत्पीडित जाति र वर्गमुक्तिका लागि एउटा आदर्शको शिक्षा सञ्चार गरेको थियो । १३ वर्षको यो अवधिमा धेरै बदलाब आइसकेको छ । जनयुद्धको वैचारिक, राजनैतिक र साँस्कृतिक अभियानकर्मीहरु समेत उही पुरानो रुढीग्रस्त सँस्कृतिका पर्याय बन्न पुग्ने कुराले समाज उल्टो दिशातिर हिडिरहने खतरा दिनप्रतिदिन बढिरहेको छ । जनयुद्धको आधार क्षेत्र रुकुम सोतीमा प्रेमको लागि नवराज र उनका साथीहरुले बलिदान गरिरहँदा आज हामी सबै स्तव्ध छौं । प्रेमलाई विवाहमा बदल्न खोज्दा जातकै कारणले नवराजहरुलाई दानवहरुले भेरी नदीमा मिसाइदिएपछि एउटा अन्तरजातीय प्रेम विवाहको हत्यासँगै मानवताकै हत्या भएको छ । नवराजहरु प्रेमपथका शहीद बनिरहँदा नेपाली समाजको अनुहारमा इतिहासमा अर्कोपटक कालो पोतिएको छ । आज प्रगतिशील युवापुस्तासँगै स्तव्ध र आक्रोशित छौं । त्यसैले आज हाम्रो विवाह बर्षगाँठको खुशीयाली मनाउने दिनमा अन्तरजातीय प्रेमपथका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै जातीय विभेद लगायत सबै अन्याय र असमानता हटाएर समानता, स्वतन्त्रता र मानवताको यो ऐतिहासिक यात्रालाई गन्तव्यमा पुराउन दृढ सङ्कल्पित हुनै पर्दछ ।

प्रिय जीवनसाथी सबिन,
अझै पनि न्याय, समानता र स्वतन्त्रताको लागि प्रगतिशील युवापुस्तासँगै हातेमालो गर्दै अगाडि नबढी नेपाली समाजमा ब्याप्त गहिरो जातीय अन्धताबाट छुटकारा पाउन सकिन्न । प्रेमवर्जित गणतान्त्रिक व्यवस्थाका नागरिक हामी सबैले न्याय, समानता र स्वतन्त्रता प्राप्त गरेपछि कुनै दिन साइत जुरेछ भने वैवाहिक दिवस मनाऔंला । हो, साथी तपाईंले भन्ने गरेको ‘हामीले समाज बदल्न आफू बदलिएर देखाउनुपर्छ’ भन्ने तपाईंको आत्मविश्वासले भरिपूर्ण अभिव्यक्ति मेरो एउटा आदर्श बनेको छ । हर समय म प्रयासरत छु, कति सफल हुन्छु ? त्यो समयले देखाउला । हामीलाई समाज रुपान्तरणको उपदेश दिने आदरणीय बडा कमरेडहरुको आजका दिनचर्या हेर्दा वैचारिकि र व्यवहारमा लागिसकेका धमिरा र साँस्कृतिक विचलनको कुरा गरिसाध्य नै छैन । यसबारे तपाईं आफै जानकार हुनुहुन्छ । जुन कुरा हाम्रै आँखा अगाडि झलझल्ती देखिरहेकै छौं । साँस्कृतिक प्रतिक्रान्तिका बाछिटाहरुले कतिका विवाह सम्बन्धविच्छेद भए ? कतिले आफ्नो जीवन गुमाए ? कति विस्थापित भए ? ती खोज्दै जाँदा नेपाली समाजको जातीय विभेदका असंख्य पीडा सजिलै पढ्न पाइन्छ ।

प्रिय जीवनसाथी,
हामीले जनतालाई साक्षी राखेर जनवादी विवाह गर्दा जनाएका प्रतिवद्धता पूरा गर्न त सकौंला नसकौंला तर परिवर्तनको बाटोमा निरन्तर लागिपर्ने नै छौं । हाम्रो निजी जीवन पनि समाजसङ्ग जोडिएको छ । समाजका गतिविधिहरुले हामीलाई तन्काउन प्रयत्न गर्छ नै । त्यस्तो बेलामा सही र गलत छुट्याउँदै सही कुरालाई लागू गर्न र गलत कुरा त्याग्न तयार भइरहनु पर्छ । रुप र भावनामा बग्ने समाजलाई उच नैतिक आदर्शमा राख्न निरन्तर प्रयास गर्ने नै छौं । आजसम्म जसरी चलेका छौं ठिक छ । विलासी जीवनयापन गर्ने रहर पनि छैन गर्नु पनि छैन । हो, हामीले हाम्रा घरपरिवार, आफन्तहरुलाई निजी जीवनको जति खुशी दिनुपर्ने हो, त्यो दिनसकेका छैनौं । सामाजिक रुपान्तरणको अभियानमा निरन्तर लागिरहँदा पारिवारिक र आफन्तजनसँगको सहकार्य छुट्दो रहेछ तर पनि हाम्रो यात्रामा निरन्तर साथ र सहयोग आफन्तहरुबाट पाएका छौं ।

जनयुद्धको विश्रामपछि समाजमा विभिन्न तरङ्ग देखिँदै जाँदा सोतीमा देखिएको नरसंहारले हामी सबैलाई अनेकौं प्रश्न सोधिरहेको छ । सामाजिक रुपान्तरणको अभियानमा क्रान्ति गर्दैगर्दा जीवनमरणको लडाइँमा सहभागी बडेबडेमानका नेताहरुमा पनि जातीय साँस्कृतिक वर्चस्वको चिन्तन हावी भएपछि जतिसुकै क्रान्तिकारी कुरा गरे पनि व्यवहारमा उत्रिनुपर्दा खुट्टा लगलगी काँप्दा रहेछन्, जुन कुरा सबैले देखिरहेकै छन् । अरुलाई मात्र दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने कुराले सामाजिक रुपान्तरण कसरी सम्भव होला ? गम्भीरतापूर्वक सोच्नै पर्दछ । १३औं गणतन्त्र दिवसको पाँच दिन पहिले नेपालको इतिहासकै विभत्स घटनाले जात व्यबस्थाको असली रुप देखाइदिएको छ । रुपन्देही देवदहकी अंगिरा पासी र सोती हत्याकाण्डमा कम्युनिस्ट जनप्रतिनिधि भनिएका मान्छेहरुकै नाम जोडिएपछि त झन जात व्यवस्थाको कुरुप अनुहार छरपस्ट भएको छ । जनयुद्धमा दिलबहादुरहरुले बगाएको रगत र सोतीमा नवराज विक, गोविन्द शाहीहरुले बगाएको रगतका छिटाहरुले कम्युनिस्ट सरकारको समाजवादी सँस्कृति भेरी नदीमा देखिएको छ । जनयुद्धको जगबाट स्थापित गणतन्त्रलाई कुरीकुरी गरिरहेको छ । तत्कालीन घटनाक्रमले देश तातिदै गर्दा कम्युनिस्ट नेताहरूको असली मुकुण्डो छर्लङ्ग भएको छ । अझ अपराधी बचाउन भइरहेका गतिविधिले सबैलाई विक्षिप्त बनाएको छ ।

हो साथी हामीले हाम्रो सपनाको रक्षा गर्नैपर्छ । हाम्रो भागमा जस्तोसुकै सजाय किन नपरोस् ? परिवर्तनको यात्रामा कतै अलमल नपरेर आफ्नो बाटो हिड्नैपर्छ । बलिदानको जगमा स्थापित गणतन्त्र र प्रगतिशील सँस्कृति अपहरण भएको छ । गणतन्त्र लडेको छ, खोसाखोस चलेको छ । भजाएर खान हारालुछ चलिरहेको छ । नैतिकता र आदर्श सबै ओझेलमा परिरहेको छ । नैतिकता र आदर्शको मूल्य बचाउन हामी आफै अविचलित लागिरहनु पर्दछ ।

राजनीतिक रङ्गमञ्चमा देखिएका कोरोनाको कहर, भ्रष्टाचार, राष्ट्रियता, स्वाभिमान, एमसिसिको कुरा पनि गर्नै पर्नेछ । प्रिय साथी, आज हाम्रो विवाह बर्षगाँठकै कुरा गरौं ।

२०६४ जेष्ठ २४ मा जोडिएको हाम्रो सहयात्राले १३औं वसन्त पार गरेको छ । आजसम्म जसरी आइपुगेका छौं, यसरी नै अगाडि बढने छौं । हाम्रो अगाडि आइपर्ने अप्ठ्याराहरु एक भएर पार लगाउने छौं । सामाजिक रुपान्तरणको महाअभियान हाम्रो जीवनको अविच्छिन्न अंग बनिरहने छ । यही शुभकामनासहित बिदा हुन्छु ।

तपाईकी जीवनसाथी
सम्झना बिक
२४ जेष्ठ २०७७


प्रतिक्रिया दिनुहोस्