रुकुम पश्चिमका डेढ सय विपन्नले नयाँ घर पाउँदै

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : २९


काठमाडौं । (रुकुम –पश्चिम)का झण्डै डेढ सय विपन्न परिवारले नयाँ घर पाउने भएका छन् । कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत जिल्लाका १२९ घर परिवारका लागि नयाँ घर बन्न लागेका हुन्।

चालु आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तभित्र जिल्लाका ६ स्थानीय तहमा घर नहुँदा आफन्तका शरणमा बसिरहेका, छाप्रो बनाएर बसिरहेका र घर जीर्ण भई जोखिममा रहेका तथा घर निर्माण गर्ने क्षमता नभएका विपन्न, दलित तथा सीमान्तकृत समुदायका परिवारले नयाँ घर पाउँदै छन् ।

जनता आवास कार्यक्रम समन्वय समितिले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका तीन घरपरिवारलाई नयाँ घरका लागि छनोट गरेको हो।

घर नभएका तथा निकै जोखिमपूर्ण अवस्थामा रहेका र आफँैले घर बनाउन नसक्ने परिवार नयाँ घरका लागि छनोट भएको निर्वाचन क्षेत्र नं २ का जनता आवास कार्यक्रम समन्वय समितिका संयोजक तथा प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार छनोटमा परेका प्रत्येक परिवारका लागि दुई कोठा र बरण्डासहितका घर निर्माण हुने छन्।

त्यस्तै शौचालय भने स्वयं परिवारले श्रमदानस्वरुप अनिवार्य रुपमा निर्माण गर्नुपर्ने छ। प्रतिघर निर्माणका लागि तीन लाख पाँच हजार प्राप्त हुने प्रदेशसभा सदस्य शर्माले बताउनुभयो।

दुई भन्दा बढी कोठा भएको घरसमेत निर्माण गर्न सकिने उहाँको भनाइ छ । त्यसका लागि बाँकी खर्च भने स्वयं परिवारले व्यहोर्नुपर्ने छ । निर्वाचन क्षेत्र नं १ का आठबीसकोट नगरपालिकामा २८, बाँफिकोट गाउँपालिकामा १८ र मुसीकोट नगरपालिकामा १८ गरी ६४ घर निर्माण हुने छन्।

चौरजहारी नगरपालिकामा २८, सानीभेरी गाउँपालिकामा १९ र त्रिवेणी गाउँपालिकामा १८ गरी निर्वाचन क्षेत्र नं २ मा ६५ घर बन्ने जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो। घर निर्माणको प्रक्रिया शुरु भइसकेको जनाइएको छ। घर निर्माणको सम्झौताको जिम्मा स्थानीय तहलाई दिइएको र हुने क्रम शुरु भइसकेको उहाँले जानकारी दिनुभयो।

लकडाउनका कारण छनाट र सम्झौतालगायत प्रक्रिया पूरा गर्न ढिलाइ भए पनि तोकिएकै समयमा घर निर्माण गर्ने गरी काम शुरु भइसकेको बताइएको छ।

घर निर्माणका लागि निर्माण समिति रहने र घर निर्माण सकिएपछि समितिले घर बनाउने परिवारको खातामा पैसा सीधै राखिदिने प्रदेशसभा शर्माले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्