जब दुबईमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइयो (तस्वीरसहित)

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो ।

संयुक्त अरब इमिरेट्स (युएइ)बाट एयर अरेबियाको जी ९ः१७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो। दुबईबाट फर्किएकामध्ये प्रदेश नं १ का ४१ इम्पिरियरमा र प्रदेश नं २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरु झर्दैै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पीडा देखिन्थ्यो।

एकाध व्यक्तिको हातमा मात्रै सुटकेश थिए, आउनेमध्ये अधिकांशको हातमा एउटा सानो झोलाबाहेक केही थिएन । रित्तै हात आउने कतिपयको खुट्टामा चप्पल, आङमा पुरानो टिसर्ट र हाफ पाइन्टमात्रै थियो । लाग्थ्यो उनीहरु विदेशबाट होइन, कतै कारखानामा मजदुरी गरेर फर्किरहेका छन्।

दुबईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन् । विदेश जाँदा लिएको ऋण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना दुबईमै सेलाएर उहाँ रित्तै हात फर्किनुभयो । कारोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन । एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता ग-यो।

नेपाल फर्कने टिकटसम्म लिने पैसा बल्ल जोहो गर्न सक्नुभयोे, लिएर आउनुभयो त केवल सिङ्गो शरीर। सहनी भन्नुहुन्छ, “धेरै सपना बोकेर गएको थिएँ, ऋण तिरौँला, आमा, श्रीमती र सन्तानलाई नयाँ लुगा ल्यादिउँला, तर फर्किंदा रित्तो ज्यान लिएर आएको छु, आफ्नै देशमा फर्किन पाएँ, यसैमा आफूलाई भाग्यमानी ठानेको छु।”


प्रतिक्रिया दिनुहोस्