‘मलाई प्रश्न उठाउनेको ओठतालु नसुकोस, हात नकापोस’

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । सत्तारुढ दल नेकपाका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हालै भारतीय राजदुतसँग भेटघाट गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेता बाँस्कोटाले ‘भूमिगत शैली’मा प्रधानमन्त्रीको ‘विशेष दूत’ भएर लैनचौरस्थित भारतीय दूतावासमा गएर राजदूतसँग भेटेको खबर सार्वजनिक भएको छ।

उक्त भेटघाटमा के कुरा भयो भन्नेबारे खुल्न नसकेपनि ‘पश्चिमको लिम्पियाधुरा क्षेत्र बरू लिजमा दिएर भए पनि विवाद हल गर्नुपर्ने कुरा भारतीय राजदूतलाई नेता बाँस्कोटाले सुनाएको’ आरोप लागेको छ।

देशव्यापी रूपमा राष्ट्रिय स्वाधीनताको आवाज तीव्र बनिरहेको बेला बाँस्कोटाको अस्वाभाविक भेटघाटलाई केहिले राष्ट्रघाती भनेर टिप्पणी गरेका छन्।

यसलाई प्रधानमन्त्री ओलीको दोहोरो चरित्र भनेर समेत टिप्पणी भइरहेको छ।

यसैबीच, नेता बाँस्कोटाले राष्ट्रघाती भनेर टिप्पणी भएपछि सामाजिक सञ्जाल मार्फत जवाफ दिएका छन्।

बाँस्कोटाले लेखेका छन्, ‘को राष्ट्रवादी को राष्ट्रघाती देखिएकैछ।र,पुनःपरिक्षण निकट भविष्यमै हुँदैछ। मलाई हेर्नु यो छ-जतिबेला सदनमा नक्शा संसोधनमाथि मतदान हुन्छ,त्योक्षण मेरो राष्ट्रवादमाथि प्रश्न खडा गराउनेहरुको ओठतालु नसुकोस,हात नकापोस र स्वर नलरबराओस। समाधानको विधि के ? म स्पष्ट छु-वार्ता।’


प्रतिक्रिया दिनुहोस्