अन्तरजातीय विवाह र कथित उच्च जातिको भ्रम

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ९ : ३३


विवाह भनेको समाजका अगाडि मानव सृष्टि सञ्चालन र निरन्तरताका लागि बिपरीतलिङ्गीहरुको बीचमा लोग्ने–श्रीमतीको सम्बन्ध राख्ने औपचारिक घोषणा हो । तेस्रो सहस्राब्दीको सुरुवातसङ्गै नेदरल्यान्डसबाट समलिङ्गी बिबाहलाई कानुनी मान्यता दिन सुरु भएको थियो र अहिले केही देशले त्यसलाई कानुनीरुपमा अपनाएका छन् । तर, विवाहको मुख्य उद्देश्य सन्तान उत्पादन समलिङ्गी विवाहबाट पूरा हुन नसक्ने भएकाले त्यसलाई विवाहको परिभाषाभित्र राख्न मिल्छ वा मिल्दैन ? यो छलफलकै बिषय बन्न सक्छ ।

अन्तरजातीय विवाहको स्थापित परिभाषा छैन । तैपनि फरकफरक नश्ल, जात, धर्म, समूहसित आवद्ध स्त्री–पुरुषबीचको विवाहलाई अन्तरजातीय विवाह भनिन्छ । जस्तै हिन्दू र मुस्लिमबीचको फरक जातीयभन्दा पनि मुख्यरुपले धार्मिक भिन्नता हो । तर बोलचालको भाषामा त्यसलाई अन्तरजातीय विवाह नै भन्ने गरिन्छ । मगर र गुरुङ वा क्षेत्री र ब्राह्मणको नश्ल एउटै हो तर बर्षौदेखि समाजले बेग्लाबेग्लै जातिको रुपमा अथ्र्याउँदै आएकाले तीबीच हुने विवाहलाई पनि अन्तरजातीय विवाह नै भन्ने गरिन्छ । दक्षिण एशियाको समाजमा कुनै पनि फरक जात वा जातिबीचको विवाहलाई सहजरुपमा नलिने परम्परा छ । अझ कथित छूत र अछूतबीचको विवाहलाई अत्यन्त घृणा गरिन्छ ।

अन्तरजातीय विवाहलाई बिरोध र सजातीय विवाहमा जोड दिनुको पछाडिको उद्देश्य रक्त शूद्धताका लागि भन्ने गरिन्छ । त्यो सरासर गलत कुरा हो । हिन्दू आर्यहरु कैयौं अन्य नश्लसङ्ग रक्त मिश्रण हुँदै आएका छन् । दक्षिण एशियामा आर्यहरु कहिले आएका थिए भन्ने बारेमा विवाद छ । कतिले यहींका आदिवासी हुन पनि भन्छन् । तर, पहिलेदेखि र धेरैजसो अनुसन्धानकर्ताहरुले आर्यहरु युरोप र एशियाको सिमाना ककेसस पर्बतबाट फैलिएका ककेसियन जातिकै एक शाखाको रुपमा लिने गर्दछन् । आर्यहरुले सिन्धुघाँटीको सभ्यताको स्थापना गर्नुभन्दा पहिले त्यस ठाउँमा मोहनजोद्डो र हडप्पा सभ्यता थियो भन्ने कुरा करिब सर्वस्वीकार्य छ । सिन्धुघाँटी अहिले पाकिस्तानमा पर्दछ । सन १९२१ देखि १९७२ सम्म सिन्धुक्षेत्रमा गरिएको उत्खनन र पुरातात्विक अवशेषहरुलाई रेडियो कार्बन परीक्षण विधिबाट जाँच गर्दा मोहनजोदडो र हडप्पा सभ्यता इ. पू. २३०० देखि इ.पू. १७५० सम्मको ठहर गरिएको छ । यदि यो कुरालाई आधार मान्ने हो भने करिब चार हजार बर्ष पहिले वरपर आर्यहरु दक्षिण एशियामा आई सिन्धु सभ्यताको विकास गरेका थिए । त्यसरी पुरानो सभ्यताको ध्वंस गरी नयाँ सभ्यताको विकास गर्दा आर्य जातिको कैयौं आदिवासी जातिहरु द्रविड, किरात लगायतसित रक्तमिश्रण भएको निश्चित छ । त्यसप्रकारको रक्त मिश्रणको सामाजिक पृष्ठभूमिबाट विकास भएको समुदायभित्र रक्त शुद्धताका लागि अन्तरजातीय विवाह वर्जित गर्न खोज्नु आफ्नै विगतलाई गिज्याउनु हो ।

हिन्दू धर्मशास्त्रमा वेदलाई सबैभन्दा पुरानो शास्त्र मानिन्छ । यदि वेदकालीन धर्मशास्त्र हेर्ने हो भने ब्राह्मणदेखि चण्डालसम्मका जातिहरुको रक्तमिश्रण भएको पाउने छौं । रामायण वेदकालीन हिन्दूहरुको प्रसिद्ध धर्मग्रन्थ हो । हिन्दू धर्मशास्त्रमा महर्षी बशिष्ठको विशेष स्थान छ । क्षेत्रीय राजा रामचन्द्रका उनी परमपूज्य कुलगुरु थिए । वशिष्ठ ऋषि वेश्यापुत्र थिए । उनले अक्षमाला नामक बेग्लै जातिकी स्त्रीलाई अर्धाङ्गिनी बनाएका थिए । वेश्यापुत्र भएर पनि आफ्नो कर्म र मेहनतले उनी ब्राह्मणत्व प्राप्त गरेका थिए । अक्षमालाको कोखबाट पुत्र शक्ति जन्मिएका थिए । ऋषि शक्तिले कुनै चण्डालीको गर्भबाट महर्षी परासरलाई जन्म दिएका थिए । परासर ऋषिले धीवर कन्या सत्यवतीसित महर्षी ब्यासलाई जन्म दिएका थिए । ऋषि ब्यासले कुनै पनि स्त्रीलाई शास्त्रअनुसार अर्थात रीतिअनुसार विवाह गरेका थिएनन् । उनले शूकी नाम गरेकी अनार्य जातिकी स्त्रीबाट शुकदेव नामक पुत्र जन्माएर पुत्र अभाव पूरा गरेका थिए । वशिष्ठ ऋषिको केही पुस्ताको जानकारी दिएपछि लेखक रजनिकान्त शास्त्रीले रक्त शुद्धताको कुरा गर्नेहरुलाई प्रश्न गर्दछन् ‘वशिष्ठ वंशमा कुन कुन रगतको मिश्रण भयो ?

क्षेत्रीय जातिमा प्रशस्त रक्त मिश्रण पाइन्छ । रामचन्द्रका पिता दशरथका तीनवटी श्रीमती थिए (कौशिल्या, कैकेयी र सुमित्रा) । सुमित्रा क्षेत्रीय वर्णकी थिइनन् । उनी राजा दशरथकी विवाहित पत्नी नभएर दुई श्रीमतीका परिचारिका जस्तो मात्र थिइन् । रामचन्द्रका भाइ लक्ष्मण बेग्लै वर्णकी सुमित्राबाट जन्मिएका थिए तर लक्ष्मणले विवाह गर्दा मिथिलाबाट क्षेत्रीयकै छोरी विवाह गरेका थिए । महाभारतलाई उत्तरवैदिककालको मुख्य धर्मग्रन्थ मानिन्छ । सनातनी हिन्दूहरुको परमात्मा बताइएका श्रीकृष्णले वैश्य र शूद्रलाई पापयोनीबट जन्मिएको भनेर अपमान गरेका छन् । पापयोनीबाट जन्मिएको भन्नाले अवैध विवाह, रीतिभन्दा विपरीत विवाह र जबरजस्ती करणीबाट जन्मिएको सन्तान बुझिन्छ । तर आश्चर्यको कुरा के छ भने श्रीकृष्णले ज्ञान, बुद्धि र सल्लाह दिएका अर्जुनलाई आमा कुन्तीले आफ्ना पति पाण्डुबाट नभएर परपुरुष (इन्द्र)सित सहबास गरेर जन्माएकी थिइन र विवाह हुनुभन्दा पहिल्यै कुमारी अवस्थामा कर्णलाई जन्माएकी थिइन् । तर यी सबैलाई कृष्णले पापयोनीबाट जन्मिएको देख्दैनन् ।

पहिले अन्तरजातीय अर्थात अन्तर्वर्णीय विवाह आमरुपमा प्रचलनमा थियो । पछि धर्मसूत्रकालमा समाज र जीवन सञ्चालनका लागि अनेकौं नियमहरु बने र अन्तरजातीय विवाहमाथि प्रतिबन्धको नियम बन्यो । अन्तरवर्णीय विवाहलाई राम्रो मानिदैनथ्यो तर विवाह गरेमा सम्पूर्णरुपले अस्वीकार पनि गरिँदैनथ्यो । धर्मसूत्र कालमा पनि ब्राह्मण र कथित उपल्ला वर्णका ब्यक्तिले शूद्रलाई विवाह गर्नै नमिल्ने भन्ने थिएन । पुत्र प्राप्त भएन भने ब्राह्मणले शूद्र स्त्रीबाट जन्मिएको सन्तानलाई भए पनि पुत्र स्वीकार गर्ने भनिएको छ । धर्मसूत्रकालपछि मौर्यकाल आयो । मौर्यकालको मुख्य शास्त्र कौटिल्यको अर्थशास्त्र मानिन्छ । यो शास्त्र सामाजिक संस्कारको शास्त्र भन्दा पनि बढी राज्य सञ्चालनको शास्त्र हो । 

मौर्यकालको अन्त्यपछि मनु स्मृतिकाल आयो । मौर्य साम्राज्यको विघटनपछि समाजमा सिर्जना भएको भाँडभैलोलाई सम्हाल्नका लागि कठोर नियमहरु बनाइयो । मनुस्मृतिमा अन्तरजातीय विवाह गरेमा लोग्ने वा श्रीमतीमध्य जुन तल्लो जात हो, सोही तल्लो जातमा झर्ने व्यवस्था गरियो । मनु स्मृतिकालपछि गुप्तकाल आयो । गुप्तकालमा जातीय विभेद कमजोर हुँदै गएको थियो । प्राचीन युगभरि नै कथित उपल्लो जातले कथित तल्लो जातसित यौनसम्बन्धी अनैतिक काम गरेमा, लसपस भएमा, सङ्गै सुतेमा उसलाई केही बर्ष भिक्षा मागी जीविकोपार्जन गर्ने, बेद उच्चारण गर्ने यस्तै खालका नियमहरु बनाएर चोख्याउने चलनहरु बनेका थिए । गुप्तकालपछि प्राचीन युगको समाप्त भयो र मध्ययुग शुरु भयो । विगत प्राचीन कालको धर्मसूत्रहरु र मनुस्मृतिको आधारमा छुवाछूतसम्बन्धी निकै कठोर नियम बनाइयो ।

प्राचीन कालको किरातकालमा नेपालको काठमाडौं खाल्डो र पहाडी भेगमा जातीय छुवाछूत भन्ने जानकारी पनि थिएन । त्यसपछिको लिच्छवीकालमा काठमाडौं खाल्डोमा बिस्तारै जातीय विभेद प्रवेश गरेको देखिन्छ र मध्ययुगको मल्लकालमा कठोर जातीय विभेदका नियमहरु बनाइयो । नेपालमा राणाकालमा वि.स. १९१० को मुलुकी ऐनमा जातिअनुसारको न्याय अत्यन्त विभेदपूर्ण व्यवस्था बनाइयो । अन्तरजातीय विवाह गरेमा जातिच्यूत त गरिन्थ्यो नै, त्यस्को साथसाथै जेल पनि जानु पर्दथ्यो । सबै जातिलाई समान न्याय भन्ने व्यवस्था वि.सं. २०२० को मुलुकी ऐनमा मात्र गरियो । २०६८ मा छुवाछूत अपराध सम्बन्धी नयाँ ऐनले छुवाछूतबिरुद्ध विभिन्न सजायको व्यवस्था गरेको छ । नेपालले जातीय विभेदसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर पनि गरेको छ । 

दक्षिण एशियामा वर्गीय शोषणको बेग्लै विशिस्टताका रुपमा जातीय विभेद र छुवाछूत प्रथा जन्मिएको थियो । आजको एक्काइसौं शताब्दीको गणतान्त्रिक शासनकालमा पनि अन्तरजातीय विवाह गर्नेलाई कुटिनु पर्ने र मारिनुसम्म पर्ने । यो साह्रै लज्जास्पद कुरा हो । अन्तरजातीय विवाहका लागि मुख्य बाधक प्रथा जातीय छुवाछूत प्रथा हो । जुन मात्रामा जातीय छुवाछूत प्रथा न्यूनीकरण हुँदै जान्छ, त्यही मात्रामा अन्तरजातीय विवाह पनि समाजमा सहज र ग्राह्य बन्दै जानेछ । जातीय छुवाछूत  र विभेदको अन्त्य गर्न कानुनी व्यवस्था आवश्यक छ तर त्योभन्दा महत्वपूर्ण कुरा समाजमा जातीय समानता र मानवतासम्बन्धी चेतनाको विकासको आवश्यकता छ । छुवाछूत अपराध र कसुर सजायसम्बन्धी ऐन (२०६८ निर्माण भएयता १७ जना दलितहरुको हत्या भएको छ । जसमा ७ जना अन्तरजातीय प्रेम र विवाहसम्बधी घटना भएका छन् । जेठ १० गते पश्चिम रुकुममा अन्तरजातीय विवाहको बिषयमा भएको सामूहिक हत्याले मध्ययुगीन बर्बरताको झझल्को दिन्छ ।

मानिसहरु सबै समान हुन् भन्ने भावना र चेतनाको विकासले अन्तरजातीय विवाहलाई सजिलो बनाउने छ । त्यसका निम्ति सबैले प्रयत्न गर्नु पर्दछ । अन्तरजातीय विवाहीहरुलाई सामाजिक मर्यादा दिलाउने कार्यक्रम राख्न सकिन्छ । उनीहरुलाई छुवाछूतको व्यवहार गरेका ठाउँहरुमा सहभोजको सार्वजनिक कार्यक्रम राख्न सकिन्छ । गाउँगाउँमा अन्तरजातीय विवाहका विरोधीहरुलाई समेत राखेर छलफल, गोष्ठी, अन्तरक्रिया राख्न सकिन्छ । अन्तरजातीय विवाहीहरुको सामाजिक संगठन निर्माण गरेर एकीकृत ढङ्गले साझा समस्याका बिरुद्धमा जुध्न सकिन्छ । विद्यालयमा विद्यार्थीहरुलाई जातीय छुवाछूत सामाजिक कलङ्क हो भन्ने शिक्षा दिइनु पर्दछ । अन्तरजातीय विवाहका सम्बन्धमा संयुक्त राष्ट्रसंघको घोषणापत्र, अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यताहरु, नेपालको संबिधान र कानून, राजनीतिक दलका विचारहरुलाई समाजमा प्रचार गरिनु पर्दछ । अन्तरजातीय विवाहीहरुमाथि दमन, बन्देज र विभेद गरिएमा कानूनमा उल्लिखित सजाय गरिनु पर्दछ । छुवाछूत बिरुद्ध र मानव समानताको पक्षपोषण गर्नेखालका साहित्यहरु सिर्जना गरिनु पर्दछ । लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा भोटे र क्षेत्रीको समानता देखाउन खोजेको, बालकृष्ण समले चिसो चुल्होमा सन्ते दमाईलाई अगाडि सारेर प्रेमको कहानी रचेको, भीमनिधि तिवारीले बिसे नगर्चीलाई नायक बनाएर साहित्य सिर्जना गरेको, खगेन्द्र सङ्ग्रौलाले जुनकीरीको सङ्गीत उपन्यासमा र शरद पौडेलले लिखे उपन्यासमा दलित पात्रलाई अगाडि सारेको, जीवन शर्माको ठूली गीतिनाटकमा गुरुङ र कामीबीच अन्तरजातीय विवाहको कहानी, आहुतिको दलन टेलिचलचित्र जस्ता साहित्य सिर्जनालाई प्रचारप्रसार गरिनु पर्दछ । त्यसखालका साहित्य सिर्जनालाई प्रोत्साहन गर्नु पर्दछ । अन्तरजातीय विवाहको पक्षमा सिर्जना गरिएका गीत सङ्गीतलाई प्रोत्साहन गरिनु पर्दछ । सञ्चारमाध्यम र सामाजिक सन्जालले जातीय विभेदलाई कमजोर बनाउन उल्लेखनीय योगदान पुराइरहेका छन् । त्यसका नकारात्मक पाटाहरुलाई हटाउने र बढीभन्दा बढी सकारात्मकरुपले प्रभावकारी बनाउन कोशिस गर्नु पर्दछ । समाजमा उच्च जातीय अहड्ढारवादको नकारात्मक प्रभावको बारेमा प्रशिक्षण हुनु पर्दछ । अन्तरजातीय विवाहीहरुले समाजमा गरिने घृणा र  उपेक्षाबाट आत्मग्लानी गर्नु हुँदैन बरु त्यसलाई सामना गर्ने हिम्मत गर्नु पर्दछ । हरेक गाउँपालिका र नगरपालिकामा कतिजना अन्तरजातीय विवाहीहरु छन् भन्ने कुराको लगत  लिन  सकिन्छ । त्यसरी तथ्यांक  लिएपछि उनीहरुको जीवनस्तर उठाउन, जीवन निर्वाहको ब्यबस्था गर्न, उनीहरुलाई सीपमूलक तालिमको ब्यबस्था, सस्तो कर्जा, अनुदान आदिको व्यवस्था, तिनका छोराछोरीहरुलाई निःशुल्क शिक्षा आदिको व्यवस्था गर्नु पर्दछ । सरकारी तहबाट अन्तरजातीय विवाहीहरुको जीवनस्तर उठाउनका लागि विशेष कार्यक्रमको व्यवस्था गर्न सकिन्छ । पिछडिएका जातिहरुलाई राजनीति र प्रशासनमा पहुँच तथा आर्थिकरुपमा सक्षम बन्ने स्थिति सिर्जना गरेर नै जातीय विभेदको अन्त्य गर्दै समाजमा समानता स्थापना गर्न सम्भव हुनेछ ।
(यो लेख लेखकको प्रकाशोन्मुख पुस्तक ‘अन्तरजातीय विवाह’का आधारमा तयार गरिएको हो ।)
 


प्रतिक्रिया दिनुहोस्