भेदभावको पर्खाल

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार


निलिमा पुन
 

विभेदकारी सामाजिक पर्खालभित्र
सम्बन्धहरु निमोठिन्छन् कति
प्रेममै विधवा बन्छन् कति
प्रेमका डाली भाँचिन्छन् कति
पखेटा काटिएको चरी जस्तै
घाइते हुन्छन् कति
मुर्छित हुन्छन् भावनाहरु
रक्ताम्य भएर ढल्छन् सपनाहरु
निरीह बन्छन् चाहनाहरु
चकनाचुर हुन्छन् आशाहरु
एकोहोरो बन्छन् नजरहरु
खरानी बन्छन् खुशीहरु
कुसंस्कार र कुरीतिभित्र
घाँटी थिचिएर निःशब्द बन्दछन्
आवाजहरु !

यी निर्मम भेदभावहरुले
कहिलेसम्म रजाइँ गर्ने
कहिलेसम्म दमन गरिरहने
उच्च भनिएका जातीय चिन्तनका
संवेदनाहीन यातना कहिलेसम्म भोगिरहने
नीच जाति भनिएका सिर्जनशील हातहरुले
रचना गरेका साधनहरु भरिपूर्ण छन्
उच्च जातिका घरभण्डारहरुमा
जब सुसज्जित बन्छन् उनीहरु
प्रहार गर्छन् निचहरुकै शीरमाथि
अशुभ शब्दहरुको बर्षा हुन्छ
हृदयभित्र तिरस्कृत व्यवहारको तीर रोपिन्छ ।
अन्याय गर्नेहरु भन्दा कैयौं गुणा
शक्तिशाली हुन्छन् अन्यायमा पर्नेहरू
ती सिर्जनाका बाहकहरुमा
कमी छैन बुद्धि, विवेक, ज्ञान र सीपको
अझै पनि संयमित छन् यिनीहरुले बनाएका औजारहरू
बन्चरो, हँसिया, तरवार, खुकुरी र भालाहरु
पहरा फोडेर बाटो बनाउने घनहरु
सुरक्षाका साधन विविध हतियारहरु
मान्छे भन्दा सम्मानित छन्
यिनैले बनाएका सामग्रीहरु
यिनै सामग्रीका भरमा घुमेको छ जीवनचक्र

यिनैले सिलाएका कपडाले शरीर छोपिन्छ
यिनैले बनाएका जुत्ता लगाएर पाइलाहरू अघि बढ्छन्
यिनैले बनाएका गहनाले डोलीमाथि सिंगारिएर बस्छन्
पूजा कोठामा राखिन्छ तामाका लोहोटाहरु
पवित्र मानिन्छ मन्दिर जाँदा फूल राख्ने थालहरु
दुनियाँ नाच्छन् यिनैले बनाएका नौमती बाजाहरुमा
मनै रुवाउँछ सारंगीका धुनहरुले
यिनकै साथले पुग्छन् सत्तासीन कुर्चीमा
अनि बिर्सिन्छन् सबै गुनहरु
तुच्छ पार्छन् अछुत जाति भनेर
आखिर जन्म, मृत्यु, रगत र पसिना समान छन्
तर !
मान्छे भएर मान्छेको जस्तै सोच बदलिएन किन ?
मान्छेलाई मान्छेको व्यवहार गरिदैन किन ?
कानुन भएर कानुन लाग्दैन किन ?
न्यायालय भएर न्याय पाइँदैन किन ?
मान्छे मान्छेबीच यो भेदभाव किन ?


प्रतिक्रिया दिनुहोस्