कोरोनाबाट मृत्यु हुनेको अन्तिम संस्कार परम्परागत हुन नसक्नु गम्भीर कमजोरी

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार


कोभिड-१९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानवीय र बर्बर बन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गम्भीर नहुने हो भने यसले कोभिड १९ महामारी विरुद्धको संर्घर्षलाई नै कमजोर बनाउने छ। 

वास्तवमा भाइरस प्रत्यक्ष सम्पर्कवाट सर्ने हो नजिकको ठाउँमा क्वारेन्टाइन र आइसोलेसन राखेर होइन भन्ने कुरा पनि अझैसम्म स्थापित गर्न सकिएको छैन। यतिसम्मको चिकित्सक र स्वास्थकर्मीमा समेत यस विषयमा पर्याप्त भ्रम देखिन्छ।

कोरोनाको उपचारका सन्दर्भमा सुरुमा डरमान्ने र पछि सहजहुने अवस्था आम रुपमा देखिएको छ। कोरोनाको उपचारका लागि तयार गरिएका अस्पतालमा बिरामी लगेर नराख्दासम्म डर रहिरहने देखिन्छ। त्यसका लागि सरकारले उपचार हुने सबै अस्पतालमा निश्चित संख्यामा बिरामी पठाएर मानसिक रुपमा तयार गर्नु राम्रो हुन्छ। बिरामीको उपचार गर्न सुरु गरेपछि चिकित्सक र स्वास्थकर्मीमा डर हटेको र मनोवल बढेको देखिन्छ। यतिसम्मकी पछिल्लो समय संक्रमितहरु ठुलो संख्यामा भेटिएका र उपचार पछि निको भएका ठाउँमा आम मानिसमा भय र त्रास कम हुँदै गएको र त्यहाँको परिस्थिति सामान्य वन्दै गएको देखिन्छ।

क्वारेन्टाइन वा आइसोलेसनका कारणले बस्तीमा सर्छ भनेर रोक्न खोज्ने कुरा अत्यन्त बेठिक र भ्रमपूर्ण कुरा हो। सबैभन्दा पहिले कोभिड १९ को उपचार गर्ने काठमाडौंको सरुवा रोग उपचार अस्पताल रहेको टेकु र पाटन स्वास्थविज्ञान प्रतिष्ठान रहेको लगनखेलमा किन संक्रमण फैलिएन। किन विराटनगर र धरान भन्दा उदरपुर र झापामा बढी संक्रमण देखियो । किन कोरोना विशेष अस्पताल रहेको वुटवल र भैरहवामा भन्दा बढी कपिलवस्तुमा देखियो। किन खजुरामा भन्दा आढी नरैनापुरमा देखियो ? किन रोग पत्ता लागेपछि समुदायमा पुगेको कोरोना भाइरस उदयपुर, नेपालगन्ज र वीरगन्जका बस्तीमा समेत नियन्त्रणमा आयो। कुरा स्पष्ट छ संक्रमण फैलिनुमा संक्रमित पहिचान नभएर नै हो। संक्रमितलाई पहिचान गरेर आइसोलेसनमा राख्ने हो भने संक्रमण फैलनवाट रोकिन्छ। रोकिँदै आएको हाम्रो आफ्नै अनुभव पनि छ।

यतिबेला क्वारेन्टाइन भित्र संक्रमण बढी देखिनुको कारण वबहिरनै संक्रमित भएर आएका र क्वारेन्टाइनमा बस्नेहरुले एक आपसमा सामाजिक दुरी कायम नगरेका कारणले हो। क्वारेन्टाइनमा ठूलो संख्यामा संक्रमित देखिए पनि त्यो त्यति जोखिपूर्ण छैन। किनकी उनीहरुको ठुलो हिस्सा युवाहरुको छ र उनीहरु समाजमा मिसिएको अवस्था छैन। पहिचानगरी समयमा उपचारको प्रकृयामा लाने हो भने उनीहरुलाई सहजै निको बनाउन सक्ने देखिन्छ। तर संक्रमितहरु पहिचान नभइ समाजमा पुगेर दीर्घ रोगी र वृद्धवृद्धामा संक्रमण फैलियो भने स्थिति जटिल बन्छ । यस्तो कुरामा सबैको ध्यान जानु पर्दछ । सचेत पंक्तिले भन्नु पर्दछ क्वारेन्टाइन राखेका कारणले सम्पर्कमा नपुगेका मान्छेमा भाइरस सरेको छैन र सर्दैन ।

यतिबेला आफ्नो बस्ती र ठाउँमा क्वारेन्टाइन राख्न नदिने नाममा अवान्छित क्रियाकलाप भइरहेका छन् । क्वारेन्टाइमा संक्रमित बढी देखिएका नाममा सिधै घर पठाउनु उपयुक्त हुने तर्क पनि सुनिन थालेका छन्। 
स्वास्थकर्मी र जनप्रतिनिधिको निगरानी रहेका क्वारेन्टाइमा समेत सामाजिक दुरी कायम गर्न समस्या देखिएको छ । तीनै व्यक्तिहरुलाई सिधै आफ्नो घर र बस्तीमा पठाउँदा के होला रु सहज अनुमान गर्न सकिन्छ । निश्चित छ सिधै बस्तीमा पठाउँदा पहिचानमा नै समस्या हुन्छ । अनि आवश्यक सतर्कता कायम गर्न सकिँदैन र संक्रमणको जोखिम बढ्न जान्छ । यस्ता विषयमा संचारमाध्यमले विज्ञहरु मार्फत भ्रम चिर्न सहयोग गर्नु पर्दछ । अन्यथा हाम्रो समाजमा कोभिड १९ संग जोडिएर सिर्जना भएको भय र त्रासले नै हामीलाई महामारीसँग जुध्न कठिन बनाइदिने छ ।

यद्यपी यतिबेला जनसचेतना जगाउन खोज्न व्यक्ति वा समूहलाई पनि अस्वीकार गर्ने वा उनीहरुलाई हतोत्साहित गर्ने प्रवृत्ति बढेको छ । सचेतनता फैलाउनु पर्नेहरु आफै भ्रमको शिकार भएको पनि देखिएको छ । क्वारेन्टाइन राख्न नदिनका लागि शिक्षकको नेतृत्वमा नै विद्यालय भवन भत्काउने काम भएका समाचार सम्प्रेषण भइरहेका छन् । 

जनप्रतिनिधिको नेतृत्वमा क्वारेन्टाइन बनाउन नदिन अवरोध सिर्जना गरिएका समाचारहरु आइरहेका छन्। अनि राजधानीकै विद्युतीय सवदाहगृहका संचालकहरु तालावन्दी गरेर भागाभाग भएका समाचार आइरहेका छन् । अस्पतालमा बिरामी राख्न डाक्टर समेत तयार नभएको कुरा आइरहेका छन्। 

यस्ता गलत कुराको खासै प्रतिवाद वा विरोध भएको देखिँदैन । सम्वन्धित निकायले पनि यस्ता कुरालाई गम्भीर रुपमा लिएर स्पष्टीकरण सोधेको र सचेत बनाएको पनि सुनिएको छैन ।

समाजमा व्याप्त भ्रमका कारणले मृतकको दाहसंस्कारमा पनि समस्या उत्पन्न भएको छ । घाटमा लगरेर शव जलाउने कुरा समेत रोकिएको छ । ठुलो संख्यामा मृत्यु हुँदाको अवस्थामा नियमित प्रकृयामा जान नसक्नु स्वभाविक हो । तर एउटा दुईवटा मृतकको अन्तिम संस्कारमा परम्पराको पालना हुन नसक्नु गम्भीर कमजोरी हो । यतिसम्मकी भयका कारणले परिवारका सदस्यहरु समेत नजिक नपर्ने स्थिति देखिएको छ। जबकी जिवित मान्छेबाट भन्दा मृत मान्छेवाट भाइरस सर्ने सम्भावना कम हुन्छ । किनकी जिवित मान्छे बोल्दा र हात्च्छेउ गर्दा भाइरस शरीरबाट बाहिर आउँछ। तर मृतकको शरीर स्थिर भएको अवस्थामा त्यो सम्भावना हुँदैन । तर यतिबेला भाइरसको डर जिउँदा मान्छेसंग भन्दा बढी मरेको मान्छेसँग देखिन्छ । यो कुरामा पनि आवश्यक सचेतनता जगाउने काम हुन सकेको छैन।

नेपालमा दुईजना व्यक्तिको हकमा दाहसंस्कार पछि मात्र संक्रमणको रिपोर्ट आएको थियो। ती व्यक्तिहरुको दाह संस्कारमा सामेल भएका व्यक्तिमा संक्रमण देखिएको प्रमाण अझैसम्म पाइएको छैन। जिवित संक्रमितको सम्पर्कको तुलनामा मृतकलाई छुदा मानिसले बढी सरसफाईमा ध्यान दिएका कारणले पनि संक्रमण नफैलिएको मान्न सकिन्छ । यस्ता कुरा पनि हाम्रा सन्दर्भमा विचार गर्नुपर्ने विषय हुन्। 

कोभिड १९ का महामारी नियन्त्रणको नेतृत्व गरिरहेको स्वास्थ मन्त्रालय यस्ता विषयमा गम्भीर र संवेनशील बन्नु पर्दछ । हरेक घटनाको तथ्यपरक विश्लेषण गरी भय र त्रास अन्त्य गर्नु पर्दछ। संक्रमित क्षेत्रबाट आएका नागरिक, संक्रमित व्यक्ति र मृतकका सन्दर्भमा मानवीय व्यवहार प्रदर्शन हुन वातावरण सुनिश्चित गर्नु पर्दछ। मानवीय संस्कार र संस्कृतिको रक्षा संकटका बेलामा झनै जरुरी हुन्छ।


प्रतिक्रिया दिनुहोस्