मनिषा कोइराला : जसले भारतबाट लिने होइन भारतलाई नै दिइरहिन्

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार


एकताका भारतीय फिल्मी संसारमा एकछत्र राज गर्न सफल नायिका मनिषा कोइराला यतिबेला चर्चाको शिखरमा छिन् । उनी यसपालि चर्चाको शिखरमा रहनुको कारण फिल्मी दुनियाँको अभिनय होइन वास्तविक जीवनको छोटो तर आत्मगौरव र आत्मसम्मानले अभिप्रेरित अभिव्यक्ति ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै लेखे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्नेगरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।’ मन्त्री ज्ञवालीको यही ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री मनिषा कोइरालाले लेखिन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइराख्नका लागि धन्यवाद । तीन महान देशहरुबीच हामी शान्तिपूर्ण र सम्मानजनक सम्वादको आशा गरिरहेका छौं ।’

अभिनेत्री मनिषा कोइरालाको छोटो र सटिक यही अभिव्यक्ति वास्तवमा आगोको झिल्का साबित भयो । आगोमा घिउ थप्ने काम चाहिँ हावा भारतीय मिडियाहरुले गरे । भारतलाई गतिलो झापड सावित भयो मनिषाको अभिव्यक्ति । लाखौं फलोअर्स भएकी मनिषाको उक्त अभिव्यक्ति क्षणभरमै देशदुनियाँमा फैलियो । र, विश्वव्यापी कहर फैलाइरहेको कोरोना महामारीको विषयलाई नै ओझेलमा राख्दै भारतीय हावा मिडियाहरु मनिषामाथि आक्रमणमा उत्रिए । अत्यन्त निम्नस्तरको गालीगलौचको शैलीमा भारतीय मिडियाहरुले मनिषालाई लखेटिरहे, लखेटिरहेका छन् र भविष्यमा पनि लखेटिरहने छन् ।

यसै पनि भारतीय मिडियाहरुले नेपाल नै भारतको एउटा प्रान्त/प्रदेश भएजसरी प्रचार गर्दै आएका छन् । रातदिनको यस्तो कुप्रचारले गर्दा आम भारतीय सर्वसाधारणमा समेत त्यसको असर देख्न सकिन्छ । यद्यपि सचेत र न्यायप्रेमी भारतीय जनता भने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएकोमा सहमत नै छन् । यस्तैमा अभिनेत्री मनिषा कोइरालाले आफ्नो मातृभूमिको पक्षमा अत्यन्त शालीन भाषामा दिएको अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यम र सत्तारुढ भारतीय जनता पार्टीका नेताहरु बहुलठ्ठीपूर्ण प्रचार गरिरहेका छन् र मनिषामाथि आक्रमणको निशाना ताकिरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुलाई लाग्यो, भारतमा खाने तर चीनको गीत गाउने ? उनीहरुलाई लाग्यो, झण्डै ५० को हाराहारीमा भारतीय फिल्महरुमा जोडदार अभिनय गरेर नाम र दाम कमाएकी मनिषा कोइराला भारतकै पक्षमा बोल्नुपर्छ । उनीहरुलाई लाग्यो, जुन भूमिमा काम, दाम, नाम र माम मिल्यो, त्यही भूमिका लागि मनिषा बोल्नुपर्छ । भारतीय मिडियाहरुको चाहना छ, मनिषा भारतकै पक्षमा बोल्नुपथ्र्यो र भारतको पक्षमा नबोलेर मनिषाले अपराधै गरिन् । भारतीय मिडियाहरुलाई कुनै आधार चाहिन्न, कुनै तथ्य चाहिन्न, कुनै सत्य चाहिन्न । त्यसैले मनिषाले मातृभूमि नेपालको हितमा बोल्दा सिधै चीनसँग जोड्न भ्याइसकेका छन् । काश्मिरमा अलिकति केही भइहालेमा जसरी उनीहरु पाकिस्तानलाई सजिलै मुछिदिन्छन्, उसैगरी मनिषाको अभिव्यक्तिलाई पनि चीनसँग जोड्न भ्याइसकेका छन् । त्यतिमात्र होइन लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपाल सरकारले जारी गरेको नयाँ नक्सा र अतिक्रमित क्षेत्रमा नेपाली सुरक्षाकर्मी राख्ने कदमलाई समेत भारतीयहरुले चीनको उक्साहटमा गरिएको भन्दै कुप्रचारमा उत्रिएका छन् ।

अभिनेत्री मनिषा कोइराला कुनै चिनाइरहनुपर्ने नाम होइन । मनिषा कोइरालाले भारत वा कसैबाट लिनुपर्ने केही नै थिएन । उनले चाहेको भए नेपालमै आजको भन्दा धेरै र ठूलाठूला अवसर चुम्न सक्थिन् । उनी संघर्ष र भाग्य अजमाउन बलिउड गएकी पनि हैनन् । उनले आफ्नो अभिरुचिको क्षेत्रमा काम गरेकी मात्र हुन् । आफ्नो करिअरको क्लाइमेक्समै अभिनय छोड्नु यसको प्रमाण हो । मनिषा कोइरालालाई नपुग्दो केही पनि थिएन । उनी आफै नेपालका चारवटा प्रधानमन्त्री जन्माउने कोइराला परिवारकी सदस्य हुन् । अवसर त उनले बलिउड बाहिर पनि प्रशस्तै पाउन सक्थिन् । बरु, भारतीय फिल्म क्षेत्रलाई आफ्नो कुशल अभिनयले समृद्ध बनाउने दिशामा मनिषा कोइरालाले आफ्नो योगदान दिइरहिन्, भारतबाट लिने होइन, दिइरहिन् ।

कुनै देश वा क्षेत्रमा काम गर्नु भनेको त्यसको दास वा गुलाम बन्नु होइन । त्यस्तो सोच्नु दरिद्र मानसिकताबाहेक अर्को हुनै सक्दैन । मनिषा कोइरालाको प्रसङ्गमा पनि भारतीय मिडिया र भारतीय नेताहरुले त्यही दरिद्रताको नाङ्गो प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई प्रश्न छ, हलिउडमा काम गर्ने बलिउडका धेरै कलाकारहरु छन् । उनीहरुले हलिउडमै काम, नाम, दाम र माम पाइरहेका छन् । के तिनीहरुले उतैको गीत गाउने ? दुईमा एक रोज्नुपर्यो भने उनीहरुले भारत नै रोज्नेछन् । त्यही काम मनिषाले गरेकी हुन् । सदियौंदेखिको राष्ट्रवादी नेपालीहरुको देशभक्तिपूर्ण आन्दोलनहरुको एकमुष्ठ सम्बोधन गर्ने वर्तमान सरकार र त्यसको पक्षमा बुलन्द आवाज उठाउने मनिषा कोइरालालाई सलाम !
 


प्रतिक्रिया दिनुहोस्