कोरोना महामारीका बेला भारतमा सामुद्रीक आँधीको वितण्डा (फोटो/भिडियो)

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ५ : ५३


बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारतमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ।

पूर्वी भारतीय राज्यहरूमा अम्पन नामक उक्त आँधीको असर धेरै देखिएको छ। ती क्षेत्रहरूमा तीव्र गतिको हुरी चल्दा रुखहरू ढलेका छन् भने घरको छानाहरू उडेका छन्। बिजुली र टेलिफोनका खम्बाहरू पनि ढलेका छन्।

३० लाखलाई सुरक्षित स्थानमा सारियो
कतिपय घरहरूमा लडेका रुखहरू र खम्बाहरू पस्दा मानिसहरू घाइते समेत बनेका छन्। कम्तीमा ३० लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

सुरक्षित स्थानमा सारिएकाहरूमा बाङ्ग्लादेशीहरू धेरै छन्। कोरोनाभाइरसका महामारीका कारण उद्धारमा कठिनाइ उत्पन्न भएको छ।

ठूलो आँधी
कोभिड–१९ का कारण सामाजिक दूरी कायम गर्नुपर्दा आम उद्धारमा समस्या भएको हो। कतिपय मानिसहरू सुरक्षित क्षेत्रमा जान तयार भइरहेका छैनन्।

त्यसमध्ये केही मानिसहरू हालै मात्र कोरोनाभाइरसबाट बच्न क्वारन्टीनमा बसेर फर्केकाहरू पनि छन्। उक्त आँधी बङ्गालको खाडीमा सन् १९१९ यता आएको सबैभन्दा ठूलो समुद्री आँधी हो।

यद्यपि यसको हावाको गति केही कम भएको छ। तर पनि यसलाई एकदमै शक्तिशाली समुद्री आँधीका रूपमा लिइएको छ।


प्रतिक्रिया दिनुहोस्