लकडाउन खुकुलो पार्दै भारत, कक्षा १० र १२ को बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १२ : ३८


काठमाडौं । भारतले पछिल्लो समय लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ।

कोभिड-१९ संक्रमणका घटना बढिरहेपनि सावधानीका उपाय अपनाउँदै लकडाउन खुकुलो पार्ने निर्णयमा भारत पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका ५ हजार ६११ जना संक्रमित भेटिएका छन्। यो सँगै भारतभर कुल संक्रमितको संख्या १ लाख नाघेको छ भने ३ हजार बढि मानिसको ज्यान गएको छ।

कुल संक्रमितमध्ये ४२ हजार २ सय ९८ जना निको भएका छन् भने अन्य ६१ हजार १ सय ४९ को उपचार भइरहेको छ। निको हुनेको संख्या बढ्दै गएकाले पनि भारतले लकडाउन खुकुलो पार्दै गएको अनुमान भइरहेका छन्।

कोरोना जोखिमका बीच भारतले रेलसेवा सुचारु गरेको छ भने आउँदो सोमबारबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको छ।

यस्तै, लकडाउनका बीच रोकिएको कक्षा १० र १२ को परीक्षा पनि सञ्चालन गर्ने भएको छ।

भारतको परीक्षा बोर्डका अनुसार जुलाई  १ देखि जुलाई १५ सम्म परीक्षा सञ्चालन हुने भएको छ।

गृहमन्त्री अमित शाहले बुधबार एक ट्विट मार्फत विद्यार्थीहरुको शैक्षिक चासोलाई ध्यानमा राख्दै परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताएका छन्।

ट्विटमा उनले लेखेका छन्, ''लाखौं विद्यार्थीहरूको शैक्षिक चासोलाई ध्यानमा राख्दै सर्तहरू सहित कक्षा १० र १२ को  बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ। यसका लागि सामाजिक दूरी, मास्क अनिवार्य लगाउनुपर्ने आदि सर्तहरु राखिएको छ।''

गृहमन्त्री शाहले विद्यार्थीहरुका लागि सरकारहरुलेनै बसहरु उपलब्ध गराउने समेत उल्लेख गरेका छन्।

 

यो पनि पढ्नुहोस

लकडाउनकाबीच भारतले आन्तरिक उडान खुलाउने
 


प्रतिक्रिया दिनुहोस्