लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ८ : ५९


काठमाडौं। सरकारले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ।

मंगलबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नयाँ नक्सा सार्वजनिक गरिएको हो।

जेठ ५ गते मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नक्सा मन्त्री पद्मा अर्यालले सार्वजनिक गर्नुभएको हो।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानीसँगै गुञ्जी, नाबी र गुटी लगायतका क्षेत्रपनि समेटिएको मन्त्री अर्यालले बताउनुभयो। राष्ट्रियता र सम्प्रभुताको रक्षाका लागि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री अर्यालले नेपालको सो कदमलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो।

नेपालसँग उपलब्ध प्रमाण र तथ्यले देखाएको बाटोमा सधै अगाडी बढ्ने उहाँले बताउनुभयो। नेपालको सम्पूर्ण भूमि समेटिएको नक्सा सार्वजनिक हुनु सिंगो नेपालीहरुका लागि ऐतिहासिक सुखद क्षण भएको उहाँले बताउनुभयो।

नक्सा सार्वजनिक कार्यक्रममा मन्त्री अर्यालले नयाँ नक्सा सार्वजनिक भएपछि विश्वमा नेपालको मानचित्र, नेपालीको मान र नेपालीको मन बदलिएको समेत बताउनुभयो।

सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सामा ७ सय ५३ वटा स्थानीय तह, सातवटा प्रदेश र अन्तर्राष्ट्रिय सीमानाहरु पनि समेटिएका छन्। सरकारले नेपाल र नेपालीको सिर झुक्न नदिने उल्लेख गर्दै नक्सा प्रयोग हुने सम्पूर्ण सरकारी दस्तावेज र पाठ्यपुस्तकमा नयाँ नक्सा प्रयोग गर्न पनि मन्त्री अर्यालले आग्रह गर्नुएको छ।


प्रतिक्रिया दिनुहोस्