काठमाडौंको गोकर्णेश्वर र मैतिदेवीमा पहिलो पटक भेटिए कोरोना संक्रमित

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ८ : ४२


काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ।

अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताउनुभयो।

मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उहाँलाई सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ। नगर क्षेत्रमा पहिलोपटक कोरोना सङ्क्रमण प्रमाणित भएको हो।

नगर स्वास्थ्य समितिको आजै बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई  पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो।

सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ । नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ। कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन्। नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन्।

यसैबीच, काठमाडौंको मैतिदेवीमा पनि कोरोना संक्रमणको पहिलो घटना देखिएको छ। 
 
बुधबार पीसिआर विधिबाट गरिएको परीक्षणमा एक युवकमा संक्रमण पोजेटिभ देखिएसँगै ती युवालाई पाटन अस्पताल लगिएको छ।

मैतिदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये रामेछापका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रहरीले अहिले उक्त क्षेत्र सिल गरेको छ। विस्तृत विवरण आउँन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्