नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै सीमा विवादबारे चीनले दियो यस्तो प्रतिक्रिया

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  २ : ५९


काठमाडौँ । चीनले कालापानीको सीमा विवादबारे आफ्नो प्रतिक्रिया जनाएको छ। कालापानीको सीमा विवाद नेपाल र भारतको भएको जनाउँदै चीनले उक्त विवाद दुई देशले आपसी संवादबाट हल गर्नु पर्ने प्रतिक्रिया दिएको हो।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएपछि सीमा विवाद चुलिएको हो। नेपालले उक्त सडकको विरोध जनाउँदै आएको छ। यसै क्रममा मन्त्रीपरिषद् बैठकले सोमबार लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पारित पनि गरेको छ। 

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सीमा विवादबारे विश्वको ध्यान केन्द्रित भएको छ। 

भारतले उक्त सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको थियो। यसै क्रममा चीनले यस सीमा विवादबारे आफ्नो प्रतिक्रिया जनाएको हो। 

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले  कालापानीको मुद्दा नेपाल र भारतको बताउँदै दुई देशले मैत्रिपूर्ण परामर्शबाट विवादहरु हल गर्नु पर्ने प्रतिक्रिया जनाएको हो। 


प्रतिक्रिया दिनुहोस्