कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १ : ४१


कोभिड-१९ को त्रास बढिरहेको समयमा इच्छाकामना गाउँपालिकाले कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। 

गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहन भत्तास्वरुप एक महिना बराबरको तलब उपलब्ध गराउने निर्णय गरेको हो। 

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले कोरोना रोकथामका कामलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहनस्वरुप एक महिनाबराबरको तलब भत्ता उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो। अध्यक्ष गुरुङले भन्नुभयो, “विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथामका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको छ, ती कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप एक महिना बराबरको तलब दिने निर्णय गरेका छौँ।”

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य सहायता कक्ष राखेको छ। गण्डकी प्रदेशबाट प्रवेश गर्ने नाका मुग्लिन पुल नजिक, धादिङबाट प्रवेश गर्ने नाका मौवा खोला र गाउँपालिका परिसरमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा रहेका छन्। पैदल यात्रुहरुलाई स्वास्थ्य जाँचपश्चात मात्र गाउँपालिका प्रवेश गर्न दिइएको छ। यसअघि पृथ्वी राजमार्ग हुँदै पैदल यात्रामा आएकाहरुलाई उनीहरुको गन्तव्यसम्म गाडी चढाएर पठाइएको थियो।


प्रतिक्रिया दिनुहोस्