२१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा, २४ घण्टामा २२४० जनाको परीक्षण

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  ११ : ४०


काठमाडौं । संक्रमित थपिए सँगै सरकारले परीक्षणको दायरा समेत बढाउन थालेको छ । गएको २४ घण्टामा २ हजार २ सय ४० जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा विसका देवकोटाले अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमूना परीक्षण गरिएको जानकारी दिनुभएको छ । । २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएको छ ।

प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ४ सय ७३, प्रदेश नम्बर २ मा ९ हजार २ सय १६, बागमती प्रदेशमा १३ हजार १ सय ९७ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ जनाको आरडिटी परीक्षण भएको छ ।  प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ५३, कर्णाली प्रदेशमा ७ हजार ५ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण भएको छ ।

उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३७ र उपत्यका १७ सहित बागमती प्रदेशमा ७८  जना आइसोलेसनमा रहेका छन् । गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ सय ८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा छन् ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ७८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ८१, बागमती प्रदेशमा ३ सय ३२ र गण्डकीमा ३ सय ५९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३६ क्वारेन्टाइनमा छन् ।

अब कोरोनाको लक्षण नदेखिएपनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ । स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थामा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको उहाँले बताउनुभयो । सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रित गरी कम्तिमा १०-१० जना चिकित्सको टोली खटाउने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्