नेपालको नयाँ नक्सा छिट्टै जारी हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ४ : १४


काठमाडौं । परराष्ट्रमन्त्री प्रदिव ज्ञवालीले नेपालको नयाँ नक्सा छिट्टै जारी हुने बताउनु भएको छ। मन्त्रिपरिषद्का निर्णयपछि मन्त्री ज्ञवालीले एक ट्विट गर्दै भूमी व्यवस्था मन्त्रालयले नयाँ नक्सा जारी गर्ने बताउनु भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी  सहितको नेपालको नयाँ नक्सा स्वीकृत गरेको हो।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालयले प्रस्ताव गरेको नेपालको अद्यावधिक नक्सा स्वीकृत गरिएको बताउनुभयो।

नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको र अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । संघीयता अनुरुपका प्रदेश र स्थानीय तहहरु समेटिएका छन्। अन्य अन्तर्राष्ट्रिय सीमाहरु यथावत रहेका छन् ।’’ निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा उद्यावधिक नक्सा नै प्रयोग हुने उहाँले बताउनुभयो।

यसअघि भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्यिाधुरा समेटेको थियो। पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो।

अर्थमन्त्री समेत रहनुभएका प्रवक्ता खतिवडाले निश्चित समयमै आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभयो।

एक महिना अघि गरिएको आर्थिक क्षेत्रको अनुमान फरक पर्दै गएको उल्लेख गर्दै उहाँले एक दुई दिन भित्रै बजेटको आकार तयार हुने र अर्थतन्त्रलाई कसरी उकास्न सकिन्छ भन्ने कुरा पनि टुंगो लाग्ने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्