कोरोना पुष्टि भएपछि बुढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : ३६


काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ।

वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो। 

शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ।

तीनजनाको नतिजा आउन बाँकी छ । पिसिआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको  पिसिआर परीक्षण गर्ने बताइएको छ।

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ। युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो।

बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ स्थित छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताउनुभयो । भारतको विभिन्न ठाउँ हुँदै नेपालको सिमासम्म आइपुगेका ती व्यक्ति नेपालगञ्जमा रहेको क्वारेन्टाइमा बसी पत्रसहित सम्बन्धित जिल्ला पठाउने क्रममा काठमाडौँ आइपुगेको बताइएको छ।

नेपालगञ्जबाट काठमाडौँ आएका उक्त व्यक्तिको आरडिटी परीक्षण पहिले नै गरिएको भएतापनि स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरुलाई क्वारेन्टाइमा राखिएको नगर प्रमुख खरेलले बताउनुभयो । क्वारेन्टाइनमा राखिएकाहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायतका छन्। 

निःशुल्क खानाको सट्टा रोजगारी 
    
काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी दिनेभएको छ । लकडाउनपछि नगरपालिकाले वडा नं ६ ले छहारी भवनमा तथा वडा १० ले निःशुल्क खाना  वितरण गर्दै आएको थियो । 

नगरपालिकाले सञ्चालन गरेको मेसबाट दैनिक चार हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका थिए।

यस्तो कार्यक्रमले कोरोना भाइरसको जोखिम बढाउन सक्ने भन्दै नगरपालिकाले निःशुल्क भोजन वितरण कार्यक्रम बन्द गरिएको छ। कार्यक्रम बन्दभए सँगै उनीहरु समस्यामा परेका छन्। कोरोनाको सम्भावित सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको थियो।

खाना कार्यक्रमका अतिरिक्त चार हजार ७२५ मजदुर तथा विपन्न परिवारलाई राहत बाडेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले विपन्न तथा मजदुरका लागि खाना तथा राहतभन्दा पनि रोजगारी दिने तयारी गरेको नगरप्रमुख खरेलले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्