चीनमा फेरि फर्किदै कोरोना, नयाँ संक्रमित फेला

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  २ : ३९


काठमाडौँ । कोरोना भाइरस मत्थर बनिसकेको चीनमा फेरि नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा चीनमा ७ जनामा कोरोना संक्रमण देखिएको छ। 

अघिल्लो दिन १ जना नयाँ संक्रमित थपिएका थिए भने त्यसअघि दुई दिन क्रमशः १७ र १४ जना नयाँ संक्रमित थपिएका थिए। यो सँगै चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ९ सय २६ पुगेको छ भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ। जसमध्ये ७८ हजार १ सय ८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ११४ जनाको उपचार भइरहेको छ। 

केही हप्ताअघि ७४ दिन लामो लकडाउन खुलेसँगै चीनको जनजीवन समान्य बन्दै गएको छ। तर पुनः नयाँ संक्रमित थपिएपछि चीनमा उच्च सतर्कता अप्नाउनुका साथै संक्रमण देखिएका क्षेत्र शिल गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी यतिबेला विश्वका २१२ देशमा फैलिएको छ । हालसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८०९ पुगेको छ भने ४३ लाख ३९ हजार ८४० जना संक्रमित भएका छन्। जसमध्ये अहिलेसम्म १६ लाख २ हजार १३२ जना उपचारपछि निको भएका छन्। 


प्रतिक्रिया दिनुहोस्