सीमावर्ती क्षेत्र नेपालगञ्जमा ९६ जनाको कोरोना रिर्पोट आयो

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ३५


नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा मङ्गलबार ९६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सोमबार नेपाल–भारत सीमावर्ती क्षेत्र जयसपुरबाट सङ्कलित ८२ र खजुरा प्राथमिक स्वास्थ्य केन्द्रबाट सङ्कलित १४ स्वाबको रिपोर्ट नेगेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

शनिबार टाँगा स्टेशन क्षेत्रबाट सङ्कलित १६२ स्वाबको रिपोर्ट भने अझै आएको छैन । ती १६२ स्वाबको काठमाडौँमा परीक्षण भइरहेको छ । आज पनि थप पाँच जनामा स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेमा हालसम्म २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु सबैको खजुरास्थित कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ ।

लुकिछिपी भित्रिनेबाट थप जोखिम 

बाँकेमा भारतबाट लुकिछिपी नेपाल भित्रिनेबाट कोरोना भाइरस सङ्क्रमणको थप जोखिम बढेको छ ।  जमुनाहस्थित नेपाल-भारत मुख्य नाकामा आवतजावत ठप्प रहे पनि ग्रामीण नाकाबाट लुकिछिपी नेपाल छिर्ने क्रम दैनिक रुपमा चलिरहेको छ । आज मात्रै राप्तीपारिको कालाफाँटा र खडैचा नाकामा ५१  नेपाली आइपुगेका छन् । नेपाल प्रवेश गर्नेक्रममा कालाफाँटामा २९ र खडैचामा २२ जनालाई रोकिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो। 

उहाँका अनुसार सङ्क्रमण रोकथामका लागि नेपाल र भारतमा बन्दाबन्दी जारी रहे पनि दैनिकजसो नेपाली सीमा नाकासम्म आउने गरेका छन् । कतिपयले सीमामा तैनाथ सुरक्षाकर्मीलाई समेत छलेर नेपाल प्रवेश गर्ने गरेका छन् ।  भारतीय प्रहरीले नेपालीलाई सहजै नाकासम्म आउन दिएका कारण दैनिक रुपमा नेपाली सीमामा आउने गरेका छन् । लकडाउन लम्बिँदै जाँदा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिसकेका नेपालीलाई भारतीय प्रहरीले छाडेको पाइएको छ ।

एक हप्ताअघि मात्र राप्तीपारि नरैनापुर क्षेत्रमा भारतबाट प्रवेश गरेका २१ नेपालीलाई दशगजा क्षेत्रमै अस्थायी एकान्तबास बनाएर राखिएको छ । आज नाकामा आइपुगेका व्यक्तिलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो।

नेपाल–भारत सीमामा लुकिछिपी भइरहेको आवागमन रोक्नका लागि बाँकेमा सीमाक्षेत्रको अनुगमन तथा निगरानी शुरु भएको छ । सङ्क्रमण रोकथामका लागि मुख्य नाका जमुनाह ठप्प भए पनि ग्रामीण नाकाबाट अनधिकृत तरिकाले हुन सक्ने आवतजावत रोक्न सीमा क्षेत्रको अनुगमन तथा निगरानीमा कडाइ गरिएको प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिनुभयो । बाँकेका २४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।उनीहरुको  कोरोना  आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्