स्थानीय तहका  कामः कतै रोजगारी कतै घरभाडा व्यहोरिने

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ०३


विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको बन्दाबन्दी लम्बिँदै गएपछि यतिबेला मजदूर तथा विपन्न परिवार समस्यामा छन्। खासगरि दिनभरि काम गरेर बिहानबेलुका छाक टार्नेलाई बन्दाबन्दीले समस्यामा पारेपछि गुल्मीका स्थानीय तहले विभिन्न चरणमा राहत वितरण गरेका छन्। 

सबै स्थानीय तहले पहिलो चरणको राहत वितरण सकेर दोस्रो चरणको  शुरु गरेका हुन् । यहाँका केही स्थानीय तहले  बन्दाबन्दीका समयमा पनि अनुकरणीय तथा लोकप्रिय काम गरेका छन्। राहतस्वरुप स्थानीय तहले दाल, चामल, तेललगायत खाद्य सामग्री वितरण गरेका छन् तर  धुर्कोट गाउँपालिकाले विपन्न परिवारका लागि रोजगारी दिने निर्णय गरेको छ। गाउँकार्यपालिकाको बैठकले विपन्न तथा मजदूर परिवारका लागि सीधै राहत वितरण नगरी  काम दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो। 

सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाइलगायत क्षेत्रमा रोजगार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । काम गरेबापत राष्ट्रिय मापदण्डानुसार पारिश्रमिक प्रदान गरिनेछ । पहिलो चरणमा ७७९ जनालाई राहत वितरण गरिएको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो । 

कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गरी बढीमा पाँच जनासम्मको समूह बनाई नजीकका स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताउनुभयो । गाउँपालिकाले यसअघि बाँझो जग्गा खन्नेलाई अनुदान दिनेसमेत निर्णय गरेको थियो । दुई वर्ष वा सोभन्दा बढी  बाँझो रहेको जग्गा खन्नेलाई त्यसमा लगाइने र बालीअनुसारको अनुदान दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो।

घरघरमै औषधि
सत्यवती गााउँपालिकाले दीर्घरोगीका लागि घरघरमै औषधि पु-याएको छ। मुटु , मानसिक, मधुमेहलगायत रोगबाट ग्रसित नागरिकका लागि निःशुल्क औषधि पु-याइएको हो। 

गाउँपालिकाका कुल ६९१ जनालाई एक महिनासम्म पुग्ने गरी महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरघरै औषधि प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले जानकारी दिनुभयो । गाउँपालिकाले कुल पाँच लाख १६ हजार बराबरको औषधि खरीद गरेको थियो । 

मुसिकोटमा बचत घर
मुसिकोट नगरपालिकाले किसानको उत्पादन खरीद गर्ने निर्णय गरेको छ । बचत घरको स्थापना गरी उत्पादित धान, चामल, कोदोलगायत खाद्य सामग्री नगरपालिकाले खरीद गरेर संकलन गर्ने छ । त्यसरी राखिएको खाद्यान्न विपद्को समय वा खाद्य संकट भएका बेला नगरवासीलाई वितरण गरिने नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो। 

उक्त कार्यका लागि नगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिमा रहेका व्यक्ति रहने गरी कार्यदल गठन गरिएको छ । कार्यदलले एक महिनाभित्र प्रतिवेदन बुझाएपछि काम शुरु हुने प्रमुख सापकोटाले बताउनुभयो।

आइसोलेशन वार्ड स्थापना 
 चन्द्रकोट गाउँपालिकाले आठ शय्याको आइसोलेशन वार्ड स्थापना गरेको गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले जानकारी दिनुभयो । कोरोनाको आशंका भएका तथा संक्रमण भएका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गरिने अध्यक्ष खत्रीले बताउनुभयोे ।

कृषि एम्बुलेन्स संचालनमा
जिल्लामा चार कृषि एम्बुलेन्स सञ्चालनमा आएका छन् । रेसुङ्गा नगरपालिकामार्फत एक  र कृषि ज्ञान केन्द्रमार्फत तीन कृषि एम्बुलेन्स सञ्चालन गरी उत्पादित कृषि उपज बजारमा पु¥याउने काम भइरहेको छ । यसबाट किसानको कृषिजन्य उत्पादन खेर जान नपाएको  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो ।  प्रदेश नं ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विगतमा अनुदानमा दिएका गाडी र कृषि ज्ञान केन्द्रमा रहेका सवारी साधनलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोग गरिएको छ।  

इस्मा गाउँपालिकाले बन्दाबन्दीका कारण अलपत्रलाई खानेबस्ने व्यवस्था गर्ने भएको छ । बन्दाबन्दीमा थप कडाइ गर्ने योजनाका साथ अलपत्रलाई सहयोग गर्नेे योजना बनाइएको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताउनुभयो । बन्दाबन्दीको समय थप भएकाले अलपत्र परेर खान र कोठाभाडा तिर्न नसकेका नागरिकलाई खाद्य पदार्थ र भाडा उपलब्ध गराइने विष्टले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्