सीमा विवादको अर्थपूर्ण समयमा नवनियुक्त राजदूत किन जाँदै छन् चीन ?

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ११ : २८


काठमाडाैं । नेपालले दाबी गरेको भूमिमा भारतले सडक निर्माण गरेसँगै चर्किएको सीमा विवाद र त्यसको समाधानमा चीनको भूमिकाबारे चर्चा चलिरहेको बेला चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे बेइजिङ जाने अन्तिम तयारीमा रहेको अधिकारीहरूले बताएका छन्।

गत वर्षको चैतदेखि रिक्त रहेको पदमा पाण्डेको नियुक्ति भइसकेको भए पनि कोरोनाभाइरसको विश्वव्यापी महामारीकाबीच अन्तर्राष्ट्रिय आवागमन रोकिएपछि उनले कार्यभार सम्हाल्न नपाएको बताइएको छ।

राजदूत पाण्डेले बीबीसी न्यूज नेपालीलाई भने, "सबै तयारी छ। अब विमान जहिले जान्छ त्यही बेला हिँडिहाल्ने [हो]।" "त्यहाँ कुनै काउन्टीमा गएपछि त्यहीँ नै क्वारन्टीनमा बस्नुपर्ने नियम छ पनि भनिरहेका छन्। आफैँ क्वारन्टीनमा बस्न मिल्ने भयो भने गइहाल्ने तयारी छ।"

कार्गो उडानमा जाने तयारी
मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार सबै प्रक्रिया पूरा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूत नियुक्त गरिसकेकी छन्। पौडेलले भने, "एग्रिमो (कूटनीतिक सहमति) आइसकेपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरिएको हो।"

चीन पुगेपछि पाण्डेले चिनियाँ राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ।

अन्तर्राष्ट्रिय उडानहरू नभएको अवस्थामा नवनियुक्त राजदूत जान ढिलाइ भएको बताउँदै बेइजिङ वा ग्वान्जाओमा कोरोनाभाइरससम्बन्धी सामान लिन जाने कार्गो उडानमा जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयमा उत्तरपूर्वी क्षेत्रसम्बन्धी मामिला हेर्ने अधिकारी रोशन खनालले बताइन्।

बेइजिङस्थित नेपाली राजदूतावासका एक अधिकारीले पनि निकट भविष्यमा हुने उडानमार्फत पाण्डे चीन आउने तयारीमा रहेको जानकारी पाएको बताए।

अर्थपूर्ण
बेइजिङ्स्थित ती अधिकारीले भने, "कोभिड-१९ को महामारीका कारण चीनमा अन्य गतिविधि त्यति धेरै भएको छैन। नेपालबाट पनि यस विषयमा कुनै निर्देशन आएको छैन।" "पहल गर्नुपर्ने अवस्थामा हामी तयार नै छौँ।"

परराष्ट्र मामिला विज्ञहरूले भारतले लिपुलेकमा चीनको मानसरोवर पुग्ने बाटो निर्माण गरेको अवस्थामा दुवै देशमा कूटनीतिक सक्रियता बढाउनुपर्ने अवस्थामा पाण्डेको बेइजिङ यात्रा अर्थपूर्ण रूपमा हेरिनुपर्ने बताएका छन्।

भूतपूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा पछिल्लो प्रकरणमा नेपालले दुवै छिमेकीसँग कूटनीतिक सक्रियता बढाउन जरुरी रहेको बताउँछन्। थापाले भने, "यो विवादको लामो इतिहास छ। भारत र चीनबीच सम्बन्ध बिग्रिएर युद्धको सम्भावना भएका बेला नेपाली भूमिमा भारतीय सुरक्षा निकायले प्रवेश गरेका हुन्।"

सीमा विवाद सल्टाउने उचित समय
त्यसबेला लिपुलेक क्षेत्रमा नेपालको कमजोर उपस्थिति रहेका कारण भारतीय अतिक्रमणबारे नेपालले ढिला थाहा पाएको उनको भनाइ छ। दुई देशबीच युद्ध नै हुनसक्ने अवस्थाका बेला उक्त विषय उठाउन ठिक नहुने निष्कर्षमा तत्कालीन राजा महेन्द्र शाह पुगेको आफूले थाहा पाएको उनले बताए।

उनले भने, "नेपालले दुई देशबीच अप्ठेरो परिस्थिति सिर्जना हुँदा कुरा गर्न चाहेन र यो विषय पछि पर्‍यो। पछि नेपालमा लामो समयसम्म द्वन्द्व भयो जसले गर्दा विवादबारे थाहा हुँदाहुँदै पनि यो विषय थाती नै रह्यो।" "अहिले भारत र चीन सम्बन्ध तुलनात्मक सहज देखिएका बेला दुवैतिर कूटनीतिक पहल बढाएर यो विषय सल्टाउन उचित समय छ।"

जिम्मेवारी
गत फागुनमा मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। बैठकले लीलामणि पौडेलको स्थानमा पूर्वपराराष्ट्रमन्त्री पाण्डेलाई नयाँ राजदूत सिफारिस गरेको थियो।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा पहिलोपटक कार्यभार सम्हालेका बेला पनि पाण्डे सिफारिसमा परेका थिए। तर ओली नेतृत्वको सरकार ढलेपछि बनेको पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले उनको नाम फिर्ता लिएको थियो।

-बीबीसी


प्रतिक्रिया दिनुहोस्