‘सरकारले सीमामा काँडेतार लगाओस्, मेरो तर्फबाट १ करोड सहयोग गर्छु’

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ७ : ३४


काठमाडौँ । पछिल्लो समय नेपाल र भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ।

भारतले धार्मिकस्थल कैलाशमान सरोवर जोड्ने सडकमार्ग नेपाली भूभागसम्मै निर्माण गरेपछि विवाद चुलिएको हो।

सुगौली सन्धि अनुसार नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूमि रहेको बताउँदै आएको छ।

नेपालको दाबीलाई वेवास्ता गर्दै भारतीय पक्षले कोरोना महामारीका बीच सडकमार्गको उद्‌घाटन गरेको हो।

भारतले लामो समयदेखि त्यसक्षेत्रमा गतिविधि गर्दै आएको भएपनि पछिल्लो समय औपचारिक रुपमा सडकको उद्‌घाटन गरेपछि भारत विरुद्ध नेपालमा विरोध प्रदर्शन भइरहेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट मार्फत सीमा विवाद तत्काल समाधान गर्नुपर्ने अडान भारतसमक्ष राखेको छ।

चुलिँदै गएको यो विवाद अब कसरी समाधान हुन्छ? नेपाल र भारतीय पक्षले कस्तो कदम उठाउला भन्नेकुरा चासोका साथ हेरिएको छ।

नेपाल-भारत बीच सीमा बारे भएको यो पहिलो विवाद भने होइन्। खुला सिमानाका कारण यस्तो विवाद बेलाबेला आइरहन्छ।

अन्य क्षेत्रमा समेत भारतीय पक्षले थुप्रै पिल्लर हटाउँदै नेपाली भूभाग अतिक्रमण गरेको नेपाली सिमा विज्ञहरू बताउँछन्।

धेरैले सीमामा काँडेतार/पर्खाल लगाउनुपर्ने र नेपालले आफ्नो भूमिको रक्षा गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।

पछिल्लो समय पनि यो कुरा उठ्न थालेको छ।

सोमबारको संसदीय समितिको  बैठकमा सत्तारुढ दल नेपाका वरिष्ट नेता माधव कुमार नेपालले सीमामा पर्खाल लगाउनुपर्ने बताएका थिए।

नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले काँडेतार नलगाएसम्म भारतबाट सीमा मात्र नभई कोरोनाको समेत जोखिम उत्तिक्कै रहेको उल्लेख गरेका छन्।

यस्तै,सामाजिक सञ्जालमा एक जना पर्यटन व्यवसायी प्रेम के.खत्रीले सरकारले सीमामा काँडेतार लगाउँने हो भने आफू १ करोड सहयोग गर्न तयार रहेको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्