ह्वाइट हाउसकी दोस्रो कर्मचारीमा कोरोना, उपराष्ट्रपतिद्वारा क्वारेन्टाइनमा बस्न अस्वीकार

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ३५


वासिंगटन । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सका प्रेस सल्लाहकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

माइकका प्रेस सल्लाहकार केटि मिलरमा कोरोना संक्रमण पाइएको हो। उपराष्ट्रपति माइक पेन्सले भने सेल्फ क्वारेन्टाइनमा नबस्ने बताउनुभएको छ।

आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि उहाँले सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गर्नु भएको  छ।
 
उपराष्ट्रपतिका प्रवक्ता डेभिन ओमाल्लीले उपराष्ट्रपति पेन्स क्वारेन्टाइनमा बस्ने कुनै योजना नरहेको र नियमित रुपमा आफ्नो काम गरिरहने जानकारी दिनुभएको छ।

उपराष्ट्रपति पेन्सका एक जना सहयोगी तथा सञ्चार सचिव मिलरलाई कोरोना सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका हुन। 

सहयोगीलाई सङ्क्रमण भएकाले उपराष्ट्रपति पेन्सलाई पनि सङ्क्रमण भएको हुन सक्ने, नदेखिएको हुन सक्ने र उहाँबाट अरुलाई पनि सर्न सक्ने भएकाले उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने सुझाव धेरैले दिएका थिए। 

तर,उहाँले भने आफु नियमितरुपमा कार्यालय जाने, काम गर्ने र आफ्नै कार्यालयको स्वास्थ्य ईकाइसँग निरन्तर परामर्शमा रहने जानकारी दिनुभयो।

उपराष्ट्रपति पेन्सका अर्का एक सहयोगीले पहिलाभन्दा केही सतर्कता अपनाउने तर पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा भने नबस्ने निर्णय भएको बताएका छन्।  

सञ्चार सचिव मिलरलाई गत शुक्रबार कोरोनासङ्क्रमण भएको पुष्टि गरिएको थियो। ह्वाइट हाउसमा कार्यरत भएका कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये उहाँ दोस्रो व्यक्ति हुनुहुन्छ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सवैभन्दा धेरै संख्या अमेरिकामै रहेको छ। 

पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाका कारण १३ लाख २८ हजार २०१ जना विरामी भएका छन् भने ७९ हजार ५०८ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्