कपिलवस्तु । नेपालमा आज अहिलेसम्मकै उच्च एकै दिन २४ जना कोरोनाका संक्रमित थपिएका छन्।
जसमध्ये कपिलवस्तु जिल्लाका धेरै छन्। पछिल्लो चार दिनको अवधिमा कपिलवस्तु जिल्लामा २१ संक्रमित भेटिएका हुन।
सोमबार मात्र जिल्लामा १७ जना कोरानाका नयाँ संक्रमित थपिएपछि कपिलवस्तु कोरोनाको पछिल्लो इपिसेन्टर बनेको छ।
सोमबार थपिएका मध्ये यशोधरा गाउँपालिकाका र बुद्धभूमि नगरपालिकाका रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार थपिए संक्रमित मध्ये ४ जना यशोधरा गाउँपालिका वडा नं ८ साविक सिंहखोरका रहेका छन् भने बुद्धभूमि नगरपालिका वडा नं. ७ साविक मानपुर गाविसका दुई जना रहेका छन्।
बिहान भेटिएका १० जना मध्ये ८ जना यशोधराका थिए भने दुई जना बुद्धभूमिका थिए। यसैबीच कपिलवस्तुमा कोरोनाको जोखिम उच्च देखिएको छ।
यस अगाडि जिल्लाकै मायादेवी गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा कोरोना देखिएको थियो। यससंगै जिल्लाका १० पालिका मध्ये ४ पालिकामा कोरोना फैलिसके पछि त्रास सिर्जना भएको छ।
दशगजामा अलपत्र परेका नागरिकहरुको व्यवस्थापन हुन नसक्दा जिल्लामा कोरोनाको जोखिम बढेको हो।
लुकिछिपी चोर बाटो हुँदै भारतबाट आएका नेपालीहरु गाउँ गाउँ छिर्दा यो समस्या उत्पन्न भएको सरोारवाला बताउँछन्।
समयमा सिमाका अलपत्र नागरिकको व्यवस्थापन गर्न नसक्ने हो भने जिल्लाको अवस्थामा भयावह हुन सक्ने भन्दै चिन्ता गर्न थालिएको छ।