लुकीछिपी आउनेमा सङ्क्रमण देखिएपछि सीमावर्ती क्षेत्रमा बढ्यो त्रास

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ०६


काठमाडाैं । कपिलवस्तुमा एकै दिन दश जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएपछि भारतसँग सीमा जोडिएका सीमावर्ती जिल्लाहरूमा थप त्रासको अवस्था देखिएको छ। सङ्क्रमणको पुष्टि भएका दशजना नै करिब दश दिनको बीचमा भारतबाट लुकीछिपी नेपाल आएका थिए।

स्थानीय बासिन्दाको आग्रहमा उनीहरू क्वारन्टीनमा बस्दै आएको भए पनि यसरी नै लुकीछिपी आएका अरू कैयौं सम्पर्कविहीन भएको बताइन्छ। सोमवार पाइएका कोरोनाभाइरस सङ्क्रमितमध्ये ८ जना यशोधरा गाउँपालिका र दुईजना बुद्धभूमि नगरपालिकाका रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।

लुकीछिपी नेपालमा

पौडेलले भने, "उनीहरू सबैजना भारतको महाराष्ट्रमा कामका लागि गएका थिए। हामीले सीमामा रोक लगाएका छौँ तर उनीहरू लुकीछिपी आएको हुनुपर्छ।" प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार कपिलवस्तुको सीमा दशगजामा अझै पनि करिब २ हजार नेपालीहरू रोकिएका छन्।

सोमवार सङ्क्रमित पाइएकासँगै कपिलवस्तुबाट २९० जनाको स्वाब परीक्षणका लागि काठमाण्डू पठाइएको थियो। अरूको रिपोर्ट आउन बाँकी छ। भारतबाट नेपाल आउन रोक लगाइएको बताइए पनि मानिसहरू रातारात आएको र उनीहरूको पहिचान गर्न समेत गाह्रो भएको हुँदा यसले जटिल समस्या निम्त्याउन सक्ने यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले बताए।

कति आए रेकर्ड छैन
पाण्डेयले भने, "सरकारले रोकेको भन्छ तर मानिसहरू रातारात आएका छन्। हामी त निकै अप्ठ्यारोमा परेका छौँ। उनीहरू कति सङ्ख्यामा आए, कहाँ छन्, केही थाहा नै हुन सक्ने अवस्था छैन।" अहिले पनि प्रदेश नं ५ को सीमापारी ६ हजार भन्दा बढी नेपालीहरू नेपाल आउन पाउने आशामा बसिरहेको अनुमान गरिएको छ ।

उनीहरूलाई सीमामै रोक्दा झन् ठूलो समस्या देखिन सक्ने सङ्केतको रुपमा कपिलवस्तुलाई बुझ्न त्यहाँका प्रदेश सभा सांसद विष्णु पन्थी आग्रह गर्छन्। उनी भन्छन्, "त्यहाँ रोक्दैमा मान्छे आउन रोकिन्छन् भन्ने अवस्था छैन। नेपाल छिर्ने सैयौँ बाटाहरू छन्। बरू उनीहरूलाई यहाँ ल्याएर छुट्टै राख्न बढी बुद्धिमानी हुन्छ।"

कोही जोगिने अवस्था छैन
पन्थीका अनुसार पछिल्लोपटक सङ्क्रमित भेटिएकामा भारतबाट आएकाहरू परेकाले अवस्था झन् पछि झन् जटिल हुने त्रास बढेको छ। उनी भन्छन्, "हामीले क्वारन्टीन भनेर जहाँजहाँ मान्छे राखेका छौं ती ठाउँहरू व्यवस्थित छैनन्। एक जना सङ्क्रमित भए भने अरू कोही पनि जोगिने अवस्था छैन।" सोमवारसम्म कपिलवस्तुमा देखिएका १५ जना सङ्क्रमितहरू सबैजना लकडाउनपछि भारतबाट नेपालमा प्रवेश गरेको बताइएको छ।

बीबीसी । 


प्रतिक्रिया दिनुहोस्